क्यानडा-भारत तनाव : दिल्ली भ्रमणमा आएका क्यानाडाली सैन्य कमाण्डरले के भने ?

डिसी नेपाल
९ असोज २०८० १६:०१

काठमाडौं । दिल्लीमा जारी इन्डो-प्यासिफिक आर्मी चिफ्स कन्फरेन्समा सहभागी हुन आएका क्यानाडाली सेनाका डेपुटी कमाण्डर मेजर जनरल पिटर स्कटले भारत र क्यानडाबीच चलिरहेको तनाव राजनीतिक मुद्दा भएको बताएका छन् ।

स्कटले समाचार एजेन्सी पीटीआईलाई भने, “प्रधानमन्त्री ट्रुडोले संसदमा जे भनेका छन्, त्यसबारे मलाई पूर्ण जानकारी छ। यस विषयमा स्वतन्त्र छानबिन भइरहेको छ, भारतलाई त्यस अनुसन्धानमा सहयोग गर्न अपील गरिएको छ। तर त्यसमा सेनाको कुनै सम्बन्ध छैन। यो सेनाको साझेदारी हो। दुवै देशका सेनाले एकअर्काबाट सिक्ने, तालिम र अभ्यास गर्ने अवसर खोज्ने कुरामा केन्द्रित हुनेछन्।”

यस सम्मेलनमा भाग लिन आएका क्यानडाका प्रमुख वारेन्ट अफिसर जेम्स स्मिथले भनेका छन्, “हाम्रा कमाण्डरले भारत-क्यानडा कूटनीतिक सम्बन्धमा कुनै टिप्पणी गरेका छैनन्। म यहाँ सैन्य साझेदारीका लागि मात्र आएको छु र भारतीय सेनाले आयोजना गरेकोमा खुसी छु।”

रक्षामन्त्री राजनाथ सिंहले सेना प्रमुखको सम्मेलनमा भनेका छन्, “इन्डो-प्यासिफिक क्षेत्रले जटिल सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ, जसमा सीमा विवाद, डकैती जस्ता गतिविधिहरू समावेश छन्। यी चुनौतीहरूलाई व्यापक रूपमा सामना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस क्षेत्रका देशहरूले सैन्य साझेदारी सहित सबै तहमा साझेदारी बढेको छ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई आरोप लगाएका छन् र खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न हुन सक्ने बताएका छन्। भारतले क्यानडाका यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र तिनीहरूलाई आधारहीन र राजनीतिबाट प्रेरित आरोपको संज्ञा दिएको छ।

यी आरोप लगत्तै क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो, जसको जवाफमा भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । क्यानडाको भिसा सेन्टरमा काम गर्ने कर्मचारीको सुरक्षाको कारण देखाउँदै भारतीय विदेश मन्त्रालयले हाल क्यानडामा भिसा सेवा बन्द गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *