लाखौंको संख्यामा भारतीयले देश छाडेर क्यानडाको नागरिकता लिए

डिसी नेपाल
९ असोज २०८० १६:२३

काठमाडौं । भारत र क्यानडाबीच जारी तनावको बीचमा विदेश मन्त्रालयको तथ्यांकले सन् २०१८ को जनवरीदेखि २०२३ सम्ममा १.६ लाख भारतीयले क्यानडाको नागरिकता लिएको खुलासा गरेको छ ।

यो संख्या भारतीय नागरिकता त्याग्ने कुल मानिसको २० प्रतिशत हो। तथ्याङ्कले देखाएअनुसार क्यानडा भारतीयहरूको दोस्रो सबैभन्दा मनपर्ने देश बनेको छ।

सूचीमा अमेरिका पहिलो स्थानमा छ जसको नागरिकताका लागि सबैभन्दा धेरै भारतीयले आफ्नो नागरिकता त्यागेका छन् । क्यानडापछि तेस्रो स्थानमा अष्ट्रेलिया र चौथो स्थानमा बेलायत रहेको छ जसका लागि भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन् ।

जनवरी २०१८ र जुन २०२३ बीच, लगभग ८.४ लाख मानिसहरूले आफ्नो भारतीय नागरिकता त्यागे र ११४ विभिन्न देशको नागरिकता अपनाए।

भारतीय नागरिकता त्यागेका ५८ प्रतिशत भारतीयले क्यानडा र अमेरिका जान रोजेका छन् । भारतीय नागरिकता त्याग्ने यो प्रचलन हरेक वर्ष बढ्दै गएको देखिए पनि २०२० मा महामारीका कारण नागरिकता त्याग्ने दर घटेको थियो ।

सन् २०१८ मा भारतीय नागरिकता त्याग्नेहरूको संख्या १.३ लाख थियो र यो संख्या २०२२ मा बढेर २.२ लाख पुगेको छ। जुन २०२३ सम्म लगभग ८७,००० भारतीयहरूले विदेशी नागरिकता रोजेका छन्।

अध्यागमन विज्ञ विक्रम श्राफका अनुसार धेरै भारतीयहरू अङ्ग्रेजी भाषा बोल्ने देशहरूमा जान रुचाउँछन्। उनी भन्छन्, ‘आप्रवासी हुनुका उच्च जीवनस्तर, बालबालिकाको शिक्षा, रोजगारीको अवसर र राम्रो स्वास्थ्य सुविधा जस्ता धेरै कारणहरू छन् । क्यानडा र अष्ट्रेलियाले रेसिडेन्सी र नागरिकता पाउने नियमलाई सरल बनाएर विदेशी प्रतिभालाई आफ्नो देशमा आकर्षित गरिरहेका छन् ।’

विदेशमन्त्री एस जयशंकरले केही समय अघि संसदमा उनको सरकारले आप्रवासीहरूको अधिकतम उपयोग गर्न धेरै कदम चालिरहेको बताएका थिए । उनले भनेका थिए, ‘सफल, समृद्ध र प्रभावशाली आप्रवासीहरू भारतका लागि अत्यन्तै लाभदायक हुन्छन्। हाम्रो दृष्टिकोण भनेको प्रवासी नेटवर्कको पूर्ण फाइदा लिने र यसको प्रतिष्ठालाई देशको हितमा प्रयोग गर्ने हो।’

खलिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर गत सोमबार भारत र क्यानडाबीच विवाद सुरु भएको थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाको संसदमा निज्जरको हत्यामा भारतको हात रहेको बताएका थिए । भारतले उनको आरोपलाई कडाइका साथ अस्वीकार गर्दै क्यानडाको आरोप आधारहीन भएको बताएको थियो।

यो आरोपपछि क्यानडामा भारतीय मूलका हिन्दुहरुको समस्या बढेको छ । त्यस्ता धेरै भिडियोहरू सोशल मिडियामा भाइरल छन् जसमा खालिस्तान समर्थकहरूले भारतीय मूलका हिन्दूहरूलाई क्यानडा छोड्न धम्की दिइरहेका छन्। बढ्दो तनावलाई देखेर भारतले क्यानडासँगको भिसा सेवा पनि स्थगित गरेको छ, जसका कारण यो समस्या झनै बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *