क्यानडाका सेना उपप्रमुखले भने, “भारतसँगको सैन्य सम्बन्धमा कूटनीतिक विवादले असर गर्दैन”

डिसी नेपाल
१० असोज २०८० १३:२३

काठमाडौं । क्यानडाका सेना उपप्रमुख मेजर जनरल पिटर स्कटले भारतसँग जारी कूटनीतिक विवादले दुई देशबीचको रक्षा सहयोगमा कुनै असर नपर्ने बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत हप्ता संसदमा खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न हुन सक्ने आशंका व्यक्त गरेका थिए। भारतले यी आरोपलाई आधारहीन भएको बताएको छ ।

त्यसपछि दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । अहिले दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

भारतले क्यानाडाली नागरिकका लागि अस्थायी रूपमा भिसामा प्रतिबन्ध लगाएको छ र क्यानडालाई पनि भारतमा आफ्ना कूटनीतिज्ञहरूको संख्या घटाउन भनेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार मेजर जनरल स्कट हाल इन्डो-प्यासिफिक चीफ्स कन्फरेन्स (आईपीएसीसी) मा भाग लिन भारत भ्रमणमा छन्। यो सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधिहरु पुगेका छन् ।

मेजर जनरल स्कटले पीटीआईलाई भने – “यो मामिला राजनीतिक स्तरमा समाधान गरिनु पर्छ र यसले भारत-क्यानडा सैन्य सहयोगमा कुनै प्रभाव पार्नु हुँदैन।”

उनले भने, ‘यस (विवाद)ले हामीलाई कुनै असर गर्ने छैन, यसलाई समाधान गर्ने प्रयासको लागि हामीले यो विषय राजनीतिक तहमा छाड्छौँ, हामी यहाँ आउन पाउँदा खुसी छौं र विवादमा परेको जस्तो लाग्दैन ।”

मेजर जनरल स्कटले भने, “मैले हिजो तपाईको सेना प्रमुख जनरल मनोज पाण्डेसँग कुरा गरेको छु। यो राजनीतिक मुद्दा हो र यसले हाम्रो सैन्य सम्बन्धमा हस्तक्षेप गर्दैन भन्ने कुरामा हामी दुवै सहमत छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *