बाइजु कम्पनीका ४ हजार कर्मचारीलाई एकैपटक जागिरबाट निकाल्ने तयारी
काठमाडौं । भारतको सबैभन्दा ठूलो एडटेक फर्म बाइजुले फेरि एकपटक आफ्ना कर्मचारीहरूलाई हटाउने तयारी गरेको छ । कम्पनीका भारतका प्रमुख कार्यकारी अधिकृत अर्जुन मोहनले पुनर्संरचनालाई तीव्रता दिँदै लागत कटौतीको योजना बनाएका छन् ।
रिपोर्टका अनुसार यस अन्तर्गत कम्पनीमा कार्यरत करिब ४ हजार कर्मचारीलाई निकाल्न सकिनेछ । गत हप्ता मात्रै अर्जुन मोहनलाई भारतमा कम्पनीको सीईओमा नियुक्त गरिएको थियो र अहिले उनले आफ्नो योजनाको बारेमा कम्पनी व्यवस्थापनलाई जानकारी गराएका छन् ।
बिजनेस स्ट्याण्डर्डका अनुसार आर्थिक संकटको सामना गरिरहेको बाइजु कम्पनीले सञ्चालन संरचनालाई सरल बनाउन लागत कटौती गर्ने योजना बनाएको छ । व्यवसायको पुनर्संरचनाको यो अभ्यासका कारण आगामी केही साताभित्र कम्पनीको कुल जनशक्तिको ११ प्रतिशत कटौती गर्न सकिनेछ ।
यी करिब चार हजार कर्मचारी छन् । रिपोर्टमा स्रोतहरू उद्धृत गर्दै बताइएअनुसार यो बेंगलुरु-आधारित एडटेक कम्पनीमा कुल कर्मचारीहरूको संख्या लगभग ३५ हजार छ। यसअघि सन् २०२३ को जुनमा कम्पनीले १ हजार जनालाई निकालेको थियो ।
तर, यस सम्बन्धमा बाइजुका प्रवक्तासँग जानकारी लिँदा उनले कम्पनीको पुनर्संरचना योजनाबाट कति कर्मचारी प्रभावित हुने भन्ने कुरा खुलाउन मानेनन् । तर, कम्पनीको व्यवसायिक पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको उनले बताए । प्रतिवेदनका अनुसार नयाँ कटौतीले बाइजु सञ्चालन गर्ने संस्था थिंक एन्ड लर्न प्राइभेट लिमिटेडका भारतीय कर्मचारीहरू र आकाशका कर्मचारीहरूलाई असर गर्न सक्छ।
अमेरिकी लगानीकर्ताहरूले गत वर्ष बाइजुमा आफ्नो होल्डिङ घटाएका थिए। अमेरिकी सम्पत्ति प्रबन्धक ब्ल्याकरकले एडटेक जाइन्ट बाइजुको मूल्य लगभग ५० प्रतिशतले घटाएर ११.५ बिलियन डलर कायम गरेको बताइएको छ । गत वर्ष, जुन २०२२ मा, कम्पनीको मूल्य २२ अर्ब डलर अनुमान गरिएको थियो। यो दृष्टिकोणबाट हेर्दा एक वर्षमा मात्रै आधाले घटेको छ । यद्यपी यस विषयमा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।
Facebook Comment