प्रतिबन्धित औषधीसहित मेडिकल सञ्चालक पक्राउ

डिसी नेपाल
१० असोज २०८० १६:२८

उदयपुर । उदयपुर प्रहरीले प्रतिबन्धित औषधी सहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका ७ बेल्टारका गोपी कृष्ण मेडिकल हलका सञ्चालक विरेन्द्र झालाइ प्रतिबन्धित औषधी ट्रामाडोल सहित प्रकाउ गरेको हो ।

चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ट्रामाडोल डाक्टरको पुर्जा बिना बेचबिखनमा प्रतिबन्धित औषधी हो । ट्रामाडोल बेचबिखनको लागि हरेक औषधी पसलले लगबुक राखेर मात्र बेच्नु पर्ने प्रावधान रहेको समेत स्वास्थ्य शाखाले जनाएको छ ।

गत असोज २ गते नगर स्वास्थ्य शाखाका कर्मचारी सहित प्रहरीको टोलिले झाको मेडिकल हलमा छापा मारेको थियो । झाले सञ्चालन गर्दै आएको गोपी कृष्ण मेडिकल हलमा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार २० ट्याबलेट, स्पासेन २ हजार एक सय ६० ट्याबलेट र ओपिडोल २ हजार एक सय ट्याबलेट सहित प्रहरीले प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

गोपी कृष्ण मेडिकल हलका संचालक विरेन्द्र झा अवैध औषधी सहित पक्राउ परेसँगै स्थानीय स्तरमा अवैध औषधीको व्यापार गरेर समाज बिगारेको र आफ्ना छोराछोरी अहिले सुधार केन्द्रमा राख्नु पर्ने अवस्थामा पुगेको भन्दै झालाई हदैसम्मको कारवाहीको माग स्थानीयहरुले राख्दै आएका छन् । उनीहरुले झालाई कारवाहीको माग सहित प्रशासन समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।

अवैध औषधी बेचबिखनको नियमनकारी निकाय औषधी व्यवस्था विभाग भएकोले प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि बरामदी औषधी सहित औषधी व्यवस्था विभाग विराटनगर पठाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *