कथा : रमलल्ला

खेमराज पोखरेल
१३ असोज २०८० ७:३३

रमलल्ला अर्थात् रमलल्ला ज्यादब। खासमा उसको नाम त रामलाल यादब हो।

हटियामा अचानक भेटिएको रमलल्लाले क्षेमकुशल नै नसोधी एकैपल्ट सोधेको थियोः

‘हमरा कथिल्या नैल्यागेलिए हलेँसी ? मर जेतिए त ओतै फेँक देतिए, गोसाईँलग मरतिए त हमरा यी दुखी मानव चोलासे मुक्ति भजेतिए’

(मलाई किन हलेँसी लानु भएन? मरेको भए उतै फालिदिएको भए हुन्थ्यो, देवताको ठाउँमा मर्न पाएको भए मैले यो दुःखी मानव चोलाबाट मुक्ति पाउने थिएँ)।

रमलल्ला निकै पाको थियो। भर्खरै बिरामीबाट उठेको थियो। मैलो थियो धोती। उसले दह्रो लौरो टेकेको थियो। अलि हाड छाला पनि भएको थियो। थरथर कामेको थियो।

उसका दौँतरीहरु छैनन् गाउँमा। उसको हिसाबमा गाउँ सबै खाली छ। आलाकाँचा ठेट्ना उसलाई जिस्क्याउँथे। एउटा छोरो, बुहारी र एउटा नाति थिए। उसलाई लोभी भन्थे उसका सन्तानले। सन्दुकमा नगद पैसा राखेको छ भन्थी बुहारी।

लगानी लगाएको छ भन्थे गाउँले। छोराबुहारी आफू मनमौजी घुम्छन् तर उसलाई तीर्थ लाँदैनन् भन्ने गुनासो थियो उसको। उसले भैँसी पालेको थियो। दूध बेच्थ्यो। चार गाउँमा उसको दूध खाँटी भनी नाम कमाएको थियो। पैसा भेला पाथ्र्यो र तीर्थ जान्थ्यो। दान चन्दा दिन्थ्यो। मान्छे सामाजिक थियो।

मेरो पेसा नै तीर्थयात्रा लैजाने। खास गरेर भारत र नेपालका हिन्दु तीर्थस्थलहरु घुमाउने थियो। मैले लगेका धेरै यात्राहरुमा ऊ सामेल भएको थियो। ऊ मेरो दह्रो ग्राहक थियो। गोरखा, देवघाट, मुक्तिनाथ र भारतका धेरै तीर्थस्थलहरु ऊ मसँग गएको थियो।

ऊ बाटो हिँड्दा अलि अप्ठ्यारो थियो। ऊ पुरानो वैष्णव हो। नयाँ जोगी होइन। त्यति नाटीकुटी, नाकनिक र मान्छेलाई नयाँ वैष्णवले जस्तो तिरस्कार त गर्दैन थियो। तैपनि जतापायो त्यता खान्नथ्यो। मकै, चना, जौ मिसिएको सातु बोक्थ्यो। ऊ मजाले घुरेर सुत्थ्यो।

वायु विकार फ्याँक्न उसलाई आइतबार लाग्दैनथ्यो। नुहाएर उसको गोपाल कट्टु जता पायो त्यता सुकाउँथ्यो। मौका मिले भात खाउँला भनी चामल दाल बोक्थ्यो। सकेसम्म आफ्नै खेतको अन्न खानुपर्छ भन्ने उसको मान्यता थियो।

स्वाभाविक रुपमा उसको पोको ठुलो हुन्थ्यो। धेरै ठाउँमा ऊ अप्ठ्यारो थियो। अरु तीर्थयात्रीहरु उसलाई यात्रामा नल्याउन मसँग जोड गर्थे। मलाई ऊबिनाको यात्रा खल्लो लाग्थ्यो। उसले यात्राभरि हँसाउँथ्यो।

म मनमनै सोच्थेँः

‘बुढाबुढी, अशक्त तथा कमजोरलाई तीर्थयात्रामा लाँदा उनीहरुले आशिष दिन्छन् जो काम लाग्छ’

जहान छोराछोरी र पार्टनरको पनि भनाइ हुन्थ्यो ‘पैसा त हो नि, बुढाखाडा किन भेला पार्नु पर्‍यो?’

मलाई भने बुढाखाडा लैजाँदा आनन्द हुन्थ्यो। स्वर्गीय आनन्द। म मनमनै रमाउँथे। रम्थेँ। मेरो यो रमाइ मेरा लागि अनुपम थियो। म आल्हादित हुन्थेँ।

रमलल्लालगायत अन्य बुढाबुढी मलाई भन्थेः ‘निखिल बाबु, तिमी उस जन्मका हाम्रा छोरा रहेछौ, आफ्ना सन्तान अपराधी निस्के बाबु, सम्पत्ति प्यारो भो, हामी हेला’

यो सुनि रहँदा मेरो खुसीको सीमा हुन्नथ्यो। मलाई यस्तो खुसी हुन्थ्यो मानौँ म राजनीतिक मान्छे हुँ र मैले चुनाव जितेको छु। मलाई यस्तो आनन्द लाग्थ्यो मानौँ मैले परमार्थ प्राप्त गरेको छु। मानौँ म भगवान् भेटेको जोगी हुँ।

हलेँसीको तीर्थयात्रा जाने बेलामा मैले रमलल्लालाई नसम्झेको होइन। म सोध्न उसकै घर गइरहेको थिएँ। बाटामै उसका छोरा बुहारी भेट भए। मैले प्रयोजन बताएपछि उनीहरुले भनेका थिएः

‘हजुर सर, न लैजानू, बुढा बिरामी हुनुहुन्छ, केही भयो भने?, यी बुढाले थाहा पाए भने कसैले रोक्न सक्तैन, पैसा छँदै छ, उतै मर्न तयार भइहाल्नु हुन्छ’

म मनमा कुरा खेलाउँदै थिएँः ‘ऊ किन तीर्थ, व्रत र देवस्थल भनेपछि हुरूक्क हुँछ? किन ऊ हरघडी तयार हुन्छ ? के भगवान्मा गुरूत्वाकर्षण छ?’

उसैले कुरा अगाडि बढायो ‘आहाँ कि बुझैछिए, हमरा मालुम नै हेते?, लेकिन वह्यासब आहाँके घुर्‍यादेल्के, पापी छे ऊ सब’

( तपाईँ के ठान्नुहुन्छ? मलाई थाहा हुन्न? तर उनीहरुले नै तपाईँलाई फर्काइ दिए, उनीहरु पापी छन्) उसले यसोभन्दा छोरा बुहारीलाई इङ्गित गरेको थियो।

‘छोड् दियो बौवा, ओकरे मर्जी नैछेले’ (छोडिदिनुस् बाबु, उसैको मर्जी थिएन) उसले भगवान्को इच्छा नभएको सम्झेर चित्त बुझायो। उसले मलाई माफ गर्‍यो। तर मलाई भने कस्तो कस्तो भइरह्योः ‘आखिर पहिलेका तीर्थयात्राहरुमा पनि रमलल्ला बिरामी हुँदै घुमेको थियो’

मधेसमा हटियाको दिन विशेष हुन्छ। फिरफिरे, बेलुन, बरफ, जिलेबी, पान र अन्त्यमा मासु रक्सी। हुलका हुलमा आउने थरूनी तथा अन्यहरु फुक्का फाल देखिन्छन्। उन्मुक्त हुन्छन्। याने फ्री। डायस अर्को आकर्षण हुन्थ्यो।

हटियाबाट तरकारी किनेर घर फर्कँदा बाटामा रमलल्लाको घर थियो। त्यो बाटो हिँड्दा उसकोमा पसेर चिनी पानीको सर्बत खानै पर्ने हुन्थ्यो। ऊ चिनीको धेरै सोखिन। ऊ भन्थ्योः ‘निमक नै छिए यी, चिनी कनि बेसी नै खेबे त केना हेते’ (यो नुन होइन, चिनी अलि बढी खाएन भने कसरी हुन्छ ?)। ऊ चिनी खुब खान्थ्यो।

म हटियाबाट आउँदै थिएँ। म उसकै घर हिँडेको थिएँ। मघेसमा त्यसै पनि ठूलो स्वरले बोलिन्थ्यो त्यसमाथि आज रमलल्लाको घरमा खोइ किन ठूलो हल्लाखल्ला थियो।

बाहिरी मान्छेहरु पनि भेला भएका थिए। उसको एउटै छोरो थियो तैपनि अंश माग्थ्यो बाबुसँग। ऊ दिँदैनथ्यो। उसकी श्रीमती बितेको दुई वर्ष मात्रै भएको थियो। ऊ विक्षिप्तजस्तै थियो। ऊ भन्थ्योः

‘पहले हमरा मार तब सब सम्पत्ति तोरा भजेते’ (पहिले मलाई मार अनि मात्रै सबै सम्पत्ति तेरो हुन्छ)
आमा, बहिनी लगाएर तथानाम गालीगलौज थियो।

छोरा बुहारी कुनै हालतमा रमलल्लासँग सँगै बस्ने पक्षमा थिएनन्। अन्त्यमा सबै मिलेर छोरालाई सम्झाए। बुढापछि यो सबै सम्पत्ति तेरै त हो नि, बाउलाई राम्रोसँग पाल्, यो बुढेसकालमा दुःख नदे। हेर् छोरो होस्, बाबुआमा पाल्ने कर्तव्य पनि हो, आमा गइहालिन्’

छोरोले त मुस्किलले मान्यो तर बुहारी कुनै हालतमा नमान्ने। यसैमा ठूलो गलबद्दी भइरहेको थियो। मैले रमलल्लालाई हेरेँ। ऊ अलिअलि रूँदै थियो, अलिअलि क्रोधित र अराजक भएको थियो। हातमा बाँसको ठूलो लौरो लिएको थियो।

पञ्चायत सकियो। बाध्य भएर पञ्चले रमलल्लाकै पक्षमा फैसला गरिदिएः ‘अंश दिनु नपर्ने। बाबुलाई राम्रोसँग पाल्नु पर्ने’

म निकैबेर बसेँ। ऊ दुःखी थियो। ऊ भित्रैबाट चित्त दुखाएर रून्थ्यो। मैले उसलाई भनेँः ‘जाऔँ राम मन्दिर’।

ऊ तयार भयो । मन्दिरको पेटीमा बसेपछि उसले भन्न थाल्यो। बिचबिचमा ऊ हुँक्क हुँक्क पनि गर्दै थियोः ‘कि कर्बे अपने जन्मल छिए, लेकिन कुपुत्र भगेले, अखैन ओकरा अंश ददेबे त ऊ बेचबाचके ससुराल चैल जेते।

मौग्याहा छे, आ हमर दादा परदादाके यी चमडीके हमरा जितैजी कुछौ नहिँ हुव देबे, हम मैरजेवे त ओकरा मनमौजी, कि कर्बे एकटा पोता छे, दया लगैछे, ओकरो त चाहि न?’

(के गर्ने, आफैँले जन्माएको हो, तर कुपुत्र भयो, अहिले उसलाई अंश दियो भने बेचेर ऊ ससुराल जान्छ, जोइटिङ्ग्रे छ, अनि म मेरा हजुर्बा, बुढो हजुर्बाको यो छालामा म बाँचुन्जेल केही हुन दिन्नँ, म मरेपछि मनमौजी गरोस्, के गर्ने एउटा नाति छ, दया लाग्छ, उसलाई पनि चाहिन्छ नि?)।

उसले आफ्नी श्रीमतीलाई सम्झ्यो। उनीसँग बिताएका दिनहरु सम्झ्यो। ऊ जोडले भन्न थाल्योः

‘जोगिनियाँवाली मैरगेले, आ हमरा यी दिन देखैला छेले, नै मरलिए’ (जोगिनियाँवाली मरी, र मैले यो दिन देख्नु रहेछ, मरिनँ’)

उसले जोगिनियाँबाट श्रीमती ल्याएको थियो। ऊ श्रीमतीलाई मायाले जोगिनियाँवाली भन्थ्यो। जोगिनियाँवाली पनि चार गाउँमा असल भनेर सबैले भन्थे। रमलल्ला र जोगिनियाँवालीको प्रेम देखेर पुरै गाउँ अचम्म मान्थ्यो। किनकि तिनताक यो कुरा दुर्लभ थियो। महिलालाई कँज्याएर राख्ने प्रचलन थियो। त्यसमाथि झन् मधेसी समाजमा। उसको यो क्रियाकलाप साँच्चै आधुनिक थियो। साँच्चै अग्रगामी थियो।

म फेरि पनि साँझमा रमलल्लाको घर गएँ। र रमलल्लाका छोरा र बुहारीलाई सम्झाउने प्रयास गर्न थालेँ। छोरो भने बोलेन। बुहारी तातो तेलमा पानी परे झैँ उफ्रिरहेकी थिई। ऊ भन्थीः ‘सब्टा पैसा तीर्थयात्रा, दान आ चन्दामे बुड्या देल्के यी बुढ्वा। हमरासबके नहीँ चाहि कुछो?’

(सबै पैसा तीर्थयात्रा, दान र चन्दामा बुड्याइ दियो यो बुढाले। हामीलाई केही चाहिँदैन र ?’) ऊ पनि रोइरहेकी थिई। मैले उसलाई भनेः ‘रमलल्लाले जग्गा पनि बेच्यो र?’

‘जग्गा त नै बेच्ने छे, लेकिन टक्का आ सोनाचाँदि ?’ (जग्गा त बेचेको छैन तर पैसा र सुनचाँदी?)

यसपल्टको मेरो यात्रा दक्षिण भारत थियो। त्यो सक्नेबित्तिकै अर्को टिप सबै स्थानीय मन्दिर घुम्दै खप्तड, डोटी सिलगढीको शैलेश्वरी, बाजुराको बडीमालिका र बैतडीको त्रिपुरासुन्दरीसम्म जानु पर्ने भयो। झन्डै बिस दिनको त्यो यात्रापछि घर फर्केर आउँदा थकाइ लागेको थियो। म गाउँ डुलिनँ । तर हल्लाखल्ला सुनेँः ‘रमलल्ला हरायो’

दुई दिनपछि पल्लो गाउँको कृष्ण मन्दिरमा रमलल्लाको लास भेटियो। सनाखत भयो।

म रमलल्लाको घरमा पुगेँ। धेरै मान्छे भेला भएका थिए। पुलिस पनि थिए। सबै पञ्च र प्रहरीको रोहबरमा उसको सन्दुक फोडियो। सन्दुकभित्र पुराना कागजहरु, मालपोत तिरेका रसिदहरु, श्रीमतीको बिहेको सारी र श्रीमतीका चाँदीका गहनाहरु थिए।

अलि गतिलो चाँदीको हँसुली थियो। पुराना कागजमाथि एउटा नेपाली कागजमा लेखिएको बकसपत्र थियो। नातिको नाममा सबै जग्गा रजिस्ट्रेसन गरिएको थियो। नातिलाई बोलाएर सोधियो। नातिले जवाफ थियोः ‘हजुरबुबाले मलाई फकाई फकाई अड्डामा लानुभयो। फोटो खिचाउनु भयो र सहीछाप गर्न लगाउनु भयो। अरु कुरा मलाई थाहा छैन’

पञ्चले सुनाएः ‘अब यो जग्गा नाति अठार वर्ष भएपछि उसले मात्र बेच्न पाउँछ’

म हलेँसी गएको रहेछु। हलेँसीको ओडार झन् गहिरो भएछ । रमलल्ला ठमठम गर्दै म नजिक आयो। ऊ त अलि बलियो भएछ । ऊसँग उसकी श्रीमती पनि रातो सारीको घुम्टोमा सजिएकी थिई। उसको सफा धोती र बाँसको दह्रो लट्ठी। रातोपिरो । हाँसी खुसी। ऊ उस्तै थोते दाँत देखाएर उन्मुक्त हाँसो हाँसिरहेको थियो। उसले मलाई भन्योः

‘आहाँ हमरा हलेंसी नैआन्लिए त कि भेले ? हम अपने चैल एलिए। ऊसब दुष्ट छेले। हम अपन पोताके मालिक बन्यादेलिए, देख् लिए?’

(तपाईँले मलाई हलेँसी नल्याएर के भयो त? म आफैं आइहालेँ। उनीहरु दुष्ट थिए। मैले आफ्नो नातिलाई मालिक बनाइ दिएँ, देख्नुभो?)

म झल्याँस्स बिउँझिएँ। पसिनै पसिना भएको रहेछु। प्यास लागेको रहेछ। रातको एक बजेको रहेछ। पानी खाएँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *