रविको रोल्पा प्रवेशले तरंगित माओवादी, गढ भत्किने भय
काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेको प्रवेशले रोल्पामा माओवादी वृत्तमा निकै चर्चाको विषय बनेको छ। गत असोज २ देखि ५ गतेसम्म रोल्पाका विभिन्न पालिकाको भ्रमण गरि लामिछाने फर्किएका थिए।
उनको रोल्पा प्रवशेलाई लिएर माओवादी रोल्पाका नेता कार्यकर्ताहरु आफ्नो पूर्ववत् विरासत भत्कने भयले सशंकित बनेका छन्।
माओवादीले दश वर्षसम्म सञ्चालन गरेको जनयुद्धको आधारभूमिको रुपमा चित्रित गरिएको रोल्पाको थवाङमा रास्वपाका सभापति लामिछानको प्रवशले अहिले सबैले निकै चासोका साथ चर्चा गर्ने क्रम चुलिएको छ।
उनको रोल्पा प्रवेश माओवादी प्रभावको परीक्षण गर्ने प्रयासको रुपमा अथ्र्याउँदै कतिपयले आगामी दिनमा माओवादी नेता कार्यकर्ताहरुको आकर्षण रास्वपामा बढ्ने समेत आकलन गरिएको छ।
लामो समयदेखि युद्ध झेलेर शान्तिको अनुभूत गर्न पाएको रोल्पामा आज पनि अभाव र युद्धका बाछिटाहरु विद्यमान छन्। माओवादीको आशातीत सपना निराशामा परिणत हुँदा अधिकांश रोल्पाली असन्तुष्ट भएका छन्। त्यसैको उपज उनीहरु रविको आगमनले स्वतस्फुर्त रुपमा भेला भएका हु्न्।
नेपाली राजनीतिमा रविको उदय जर्बजस्त हुनुको एक कारक अपेक्षाकृत माओवादीका अधिकांश नेताहरु संसदीय राजनीतिमा प्रवेश गरेर बदनाम बन्दै जानु पनि हो।
पुराना दलहरुले जनमतको कद गर्दै मुलुकमा विकास र सुशासनको पक्षमा काम गरेको भए जनताहरु नयाँ विकल्प खोज्ने कुनै आवश्यकता थिएन। उनीहरुले यीनै पुराना दलहरुलाई आजीवन सत्तारोहण गराउने थिए।
तथापि उपेक्षाले आक्रान्त भएका जनताहरुले पुराना दलहरुका सत्ता यात्राका लागि निरन्तर चुनावी उपयोग गर्ने प्रपञ्चबाट वाक्क भएर नयाँलाई अवसर दिन बाध्य भएका हु्न्।
माओवादीलगायत अन्य पुराना संसदीय शक्तिहरुको पुरानै दलगत प्रवृत्तिले नयाँ दल रास्वपकाको उदय हुन पुगेको हो। उनीहरुको विगतदेखि हालसम्मको राजनीतिक कदमले आजित बनेका जनताहरुले रविको दललाई विकल्प देख्न बाध्य भएको आजको यथार्थता हो।
माओवादीले प्रमुख आधार इलाका मानेको रोल्पाको थवाङ अहिले पनि विद्रोहको बिम्बको रुपमा अडिग छ। विगतदेखि हालसम्मै अविचलित थवाङले आफ्नो विद्रोही चरित्र यथावत राखेको छ।
२०३६ सालको जनमत संग्रहमा रित्तै मतपेटिका सदरमुकाम लिवाङ फर्काएको थवाङमा २०७० को निर्वाचनमा शून्य मतदान भएको थियो।
सदैव विद्रोही चरित्र कायम राखेको थवाङ अहिले जनयुद्धकालीन माओवादीको एक घटक विप्लव नेकपाको बलियो आधार क्षेत्रको रुपमा परिचित छ।
२०६४ को निर्वाचनमा शतप्रतिशत माओवादीलाई मतदान गरको थवाङले २०७० मा तत्कालीन विभाजित माओवादीको मोहन वैद्य खेमामा लागेको थियो। अहिले विप्लव नेतृत्वको नेकपाको प्रभाव उक्त गाउँमा कायम रहेको छ।
दश वर्षे जनयुद्धका क्रममा माओवादीका थुप्रै नेता कार्यकर्ताले यस गाउँबाट ज्यान गुमाएका छन्। सोही गाउँको भ्रमण गरेका रास्वपाका सभापतिले त्यहाँका सहिद परिवारको मनोभावना बुझ्ने प्रयत्न गरेका थिए।
उनको थवाङ प्रवशेले अत्तलिँदै विप्लव नेकपाका नेता कार्यकर्ताहरुले रोक्ने प्रयास समेत गरेको अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक भइसकेको छ।
विगतको साख जनताप्रति उत्तरदायी नबनेर गुमाउँदै गएको माओवादीले रविको उपस्थितिले थप क्षयीकरण हुने भयले आतंकित बनेको बताइन्छ।
माओवादी आफ्नो वर्ग धरातल छाडेर स्खलित हुँदै गएकाले उनीहरु रविको आगमनले आफ्नो विरासत भत्किने भयले सशंकित रहेको रोल्पाका एक माओवादी नेता बताउँछन्।
ती माओवादी नेता भन्छन्, ‘रोल्पालाई जहिल्यै पनि प्रयोग मात्रै गरियो। सत्तामा पुग्ने साधनको रुपमा उपयोग गरेको रोल्पाली जनताले बुझेपछि माओवादीको संगठन कमजोर बन्दै गएको छ। त्यसैमा रविको प्रवेशले थप क्षति हुने भयले आतंकित भएको हुन सक्छ।’
ती नेताका अनुसार पछिल्लो माओवादी नेताहरुको संलग्नता रहेको अनेकौं प्रकरणको उजागर भएपछि पनि रोल्पामा माओवादी प्रति जनताको आकर्षण विस्तारै कम हुँदै गएको छ।
विगतको सा धुमिल बन्दै गएकाले रोल्पामा माओवादीका लागि परिस्थिति विषम बन्दे गएको स्थानीयले चर्चा गर्ने गर्दछन्। देशव्यापी अहिलेको निर्वाचनमा रास्वपाको पक्षमा आएका उभारले आगामी दिनमा त्यसको प्रभाव रोल्पामा पर्न सक्ने भय रोल्पाका माओवादी नेताहरुमा रहेको छ।
माओवादीले २०५२ मा सशस्त्र संघर्ष गर्नु अगावैको दल तत्कालीन संयुक्त जनमोर्चाले समेत दुईवटै निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। २०४८ को आम चुनावमा रोल्पा २ बाट कृष्णबहादुर महरा र १ बाट बर्मन बुढा विजयी भएका थिए।
त्यसपछि शान्ति प्रक्रिया सुरु भए लगत्तै २०६४ मा जनयुद्धका सर्वोच्च कमाण्डर रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनले रोल्पा २ र काठमाडौं १० दुवैबाट निर्वाचनमा विजयी भएसँगै रोल्पा छाडेर काठमाडौंबाट पहिलो संविधानसभामा प्रतिनिधित्व गरेका थिए।
Facebook Comment