पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ बजार सहरमा भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
मस्तुङका एएसपी शोएब मसूदले यस विस्फोटमा ५० जनाको मृत्यु भएको र ५० जना घाइते भएको बीबीसीलाई पुष्टि गरेका छन् । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।
जुलुसलाई लक्षित गरी विष्फोट आत्मघाती आक्रमण हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ । तर अहिलेसम्म यस विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार शहरको मदिना मस्जिद नजिकै इद अल-मिलाद अल-नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो।
मानिसहरू मदिना मस्जिदबाट भेला भएर जुलुसमा सामेल हुनुपर्ने थियो। अत्ता अल-मुनैमले सुरुमा यस विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए।
बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मीर अली मर्दान खान डोम्कीले मस्तुङमा जुलुसमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।
उनले जारी गरेको विज्ञप्तिमा ‘विघ्नकारी तत्वहरू कुनै पनि छुटको हकदार नहुने र शान्तिपूर्ण जुलुसलाई निशाना बनाउनेलाई कडाइका साथ कारबाही गरिने’ उल्लेख छ ।
अर्कोतर्फ कार्यवाहक सूचना मन्त्री जोन अचकजाईले पूरै प्रान्तमा तीन दिने शोकको घोषणा गरेका छन् ।
बलुचिस्तान सरकारका कार्यवाहक सूचना मन्त्री जोन अचकजाईले मस्तुङ विष्फोटपछि क्वेटाका अस्पतालहरूमा आपतकाल लगाइएको बताएका छन्।
उनले बलुचिस्तान सरकारको निर्देशनमा मस्तुङमा उद्धार टोली पठाइएको र गम्भीर घाइतेहरूलाई क्वेटा पठाइएको बताए।
Facebook Comment