सेन्सर बोर्डमा भएको भ्रष्टाचारको उजुरीमा केन्द्र सरकारले छानबिन गर्न आदेश दियो
काठमाडौं । भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले शुक्रबार तमिल अभिनेता विशालको आरोपमा छानबिन गर्न आदेश दिएको छ ।
विशालले आफ्नो फिल्म ‘मार्क एन्टोनी’ को हिन्दी संस्करणलाई सेन्सर सर्टिफिकेट दिनको लागि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनको मुम्बई कार्यालयले ६.५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएका थिए ।
विशालले सोशल मिडिया प्लेटफर्म एक्समा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्याग गर्दै एक भिडियो पोस्ट मार्फत आफ्नो गुनासो राखेका थिए।
यसबारे मन्त्रालयले शुक्रबार सरकारको भ्रष्टाचारमा शून्य सहनशीलताको नीति रहेको बताएको छ ।
मन्त्रालयले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अभिनेता विशालले उठाएको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनमा भएको भ्रष्टाचारको मुद्दा अत्यन्तै दुर्भाग्यपूर्ण छ। भ्रष्टाचारप्रति सरकारको नीति शून्य सहनशीलताको छ र यसमा संलग्न जो कोहीलाई कारबाही गरिनेछ। उनी विरुद्ध कडा भन्दा कडा कारबाही हुनेछ।”
यस सम्बन्धमा सूचना तथा प्रसारण मन्त्रालयले मुम्बईका एक वरिष्ठ अधिकारीलाई अनुसन्धानको जिम्मेवारी दिएको छ ।
Facebook Comment