पाकिस्तानमा शरण लिन पुगेका २ भारतीय भन्छन् -‘बरू गोली हान तर भारत फर्कन्नौं”

डिसी नेपाल
१४ असोज २०८० १२:१५

काठमाडौं । भारतका राजनीतिक र सामाजिक कार्यकर्ता मोहम्मद हसनैन आफ्ना छोरा इशाक अमिरसँग शरण लिन यही हप्ता पाकिस्तान पुगेका छन् । उनी अवैध रुपमा अफगानिस्तान हुँदै कराँची पुगेका थिए ।

उनले भारतमा आफूले ‘धार्मिक घृणा र उत्पीडन’ सामना गरिरहेको आरोप लगाउँदै र आफू फर्किनुको सट्टा पाकिस्तानमा ‘मर्न वा जेलमा बस्न’ तयार रहेको बताए ।

यी दुवै भारतीय नागरिक कराँचीको अन्चौली इलाकामा रहेको ईधी होममा बस्दै आएका छन् । उनीहरूलाई ईधी होमबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ र उनीहरूको निगरानीका लागि दुईजना प्रहरी खटाइएको छ ।

६६ वर्षीय मोहम्मद हसनैन र ३१ वर्षीय इशाक अमिरले बीबीसीसँग कुरा गर्दै आफूहरू यस वर्ष सेप्टेम्बर ५ मा दिल्लीबाट अबुधाबी गएको बताए जहाँबाट उनीहरूले अफगानिस्तानको भिसा पाएका थिए। उनीहरू काबुल पुगे र त्यहाँबाट कान्दाहारको स्पिन बोल्दाकका केही व्यक्तिले पैसा लिएर गैरकानुनी रूपमा पाकिस्तानको सीमा क्षेत्र चमनमा प्रवेश गर्न सहयोग गरे ।

मोहम्मद हसनैनले भने, ‘हामीले चमनबाट क्वेटासम्म १० हजार रुपैयाँमा ट्याक्सी लियौं र त्यही ट्याक्सीलाई ५० हजार रुपैयाँ तिरेर क्वेटाबाट कराँची पुग्यौं ।’

उनका अनुसार होटेलमा बस्ने ठाउँ नपाएपछि आफैंले प्रहरी अधिकारीहरूलाई भेटेर आफ्नो कथा सुनाएको बताए । उनले आफूलाई अवैध रूपमा सीमा पार गरेको आरोप लागेको र आफूले शरण मागेको बताए ।

उनका अनुसार प्रहरीले नै उनलाई इधी सेन्टर लगेको थियो ।

मोहम्मद हसनैनले भारतमा आफू पत्रकारिता पेशासँग आबद्ध रहेको र दिल्लीबाट आठ पृष्ठको साप्ताहिक पत्रिका ‘चार्जसिट’ प्रकाशित गर्ने गरेको बताए, जसको नाम पछि ‘द मिडिया प्रोफाइल’ राखिएको थियो ।

मोहम्मद हसनैनको जन्म झारखण्डको जमशेदपुर सहरमा सन् १९५७ मा भएको थियो तर उनी विगत धेरै वर्षदेखि दिल्लीमा बस्दै आएको बताउँछन् ।

उनले सन् १९८९ मा विवाह गरे जुन साढे चार वर्षसम्म चल्यो । त्यो विवाहका दुई छोरामध्ये एकको मृत्यु भयो भने अर्को छोरा इशाक अमिर उनको एक्लो सन्तान हुन् ।

मोहम्मद हसनैनका दुई दिदीबहिनी जैबुन्निसा र कौसर छन्। दिदी जैबुन्निसा उनीभन्दा २१ वर्ष जेठी छिन् र झारखण्डमा बस्छिन् भने कान्छी बहिनी कौसर लखनउकी बासिन्दा हुन्।

३१ वर्षीय इशाक अमिरले आफू मदरसा जाने गरेको जहाँ कुरान पढ्न र कण्ठ गर्न सिकेको बताए। उनका बुबा उनलाई आलिम-ए-दिन (धार्मिक विद्वान) वा वकिल बनाउन चाहन्थे तर १० र १२ पढेपछि उनी जागिरमा व्यस्त भए। उनी आफ्नो जीवनमा कहिल्यै विद्यालय गएनन् तर उनले दिल्लीको नेशनल इन्स्टिच्युट अफ ओपन स्कुलिङ (एनआईओएस) बाट आफ्नो १० र १२ को शिक्षा प्राप्त गरे।

इशाकका अनुसार उनले सन् २०१४ देखि २०१९ सम्म डीन ब्रोडब्यान्ड नामको कम्पनीमा काम गरेका थिए । उनले इन्डस्ट्रियल सेफ्टी म्यानेजमेन्टमा डिप्लोमा समेत गरेका थिए भने अप्रिल २०२१ देखि १५ अक्टोबर २०२१ सम्म अर्थात् करिब छ महिनासम्म दुबईको एउटा कम्पनीमा सेफ्टी इन्स्पेक्टरको रूपमा पनि काम गरेका थिए। २०२१ मा भारत फर्किएपछि उनले नाइगोस अन्तर्राष्ट्रिय जनरल सर्टिफिकेट कोर्स पनि गरे।

इशाक अमिरले अबुधाबीको एउटा कम्पनीमा आफ्नो चार हजार दिर्हामको तलब रहेको र सेप्टेम्बर १०, २०२३ मा जागिर सुरु गर्ने योजना बनाएको बताए, तर उनका अनुसार ‘उनीहरूले हिजरात (भारत छोड्ने) को पूरा योजना बनाएका थिए।’

मोहम्मद हसनैन एम. हसनैन नाममा लेखहरू लेख्छन्। उनका अनुसार उनले दिल्लीबाट साप्ताहिक पत्रिका ‘द मिडिया प्रोफाइल’ प्रकाशित गर्नुका साथै कोचिङ सेन्टर पनि चलाउँदै आएका छन् । त्यसमा उनले युवाहरूलाई अंग्रेजी भाषा पढाएर कानुन शिक्षाको लागि तयार गराए ।

यही कारण उनले आफ्ना छोरा इशाक अमिरलाई पनि वकिल बनाउन चाहेका थिए तर उनले मानेनन् ।

आफूलाई सामाजिक तथा राजनीतिक कार्यकर्ता भन्ने मोहम्मद हसनैनले संसद, सभा र स्थानीय निकायको चुनाव लडे पनि कतै पनि सफलता पाउन सकेनन् । सो अवधिमा उनीमाथि भड्काउने पोस्टर टाँसेको आरोपसहित केही मुद्दासमेत परेको जानकारी छ ।

मोहम्मद हसनैन र इशाक अमिरका अनुसार उनीहरू विगत १५–२० वर्षदेखि दिल्लीको जाफ्राबाद क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए र उनको अन्तिम ठेगाना गौतमपुरीमा थियो ।

उनीहरूले पाकिस्तान नै किन रोजे ? भन्ने प्रशनमा मोहम्मद हसनैनले बीबीसीलाई भने, “हेर्नुहोस्, यो अचानक वा सोचविहीन निर्णय होइन ।”

उनले बाबरी मस्जिदसँग सम्बन्धित अदालतको निर्णयलाई उद्धृत गर्दै अर्को वर्ष हुन लागेको निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी भाजपाको जितमा पनि आशंका व्यक्त गरे।

स्मरण रहोस् दिल्लीमा जुन संसदीय क्षेत्रबाट मोहम्मद हसनैनले चुनाव लडेका थिए, त्यहाँ २०२० मा साम्प्रदायिक दंगा भएको थियो जसमा ५० भन्दा बढी मानिस मारिएका थिए, जसमध्ये अधिकांश मुस्लिम थिए।

मोहम्मद हसनैनले भने, ‘चाडपर्वको दिन हो र हाम्रा हिन्दू दाजुभाइ तिलक लगाएर आउँछन् भने उनीहरू हिन्दू हुन् वा मुसलमान हुन् भन्ने सजिलै चिन्न सकिन्छ। एकपटक सानोतिनो विवाद बढेपछि मानिसहरूले त्यसलाई मुद्दा बनाए । अनि झडप सुरु भयो।”

‘हाम्रो छोरोसँग पनि दुई–तीन पटक यस्तो भएको थियो, त्यसैले त्यो परिस्थितिले दुःखी भएर देश छोड्नुपर्छ भन्ने लाग्यो ।

उनले भने, ‘सडकमा जाँदा, अफिस जाँदा, रेलमा जाँदा, कुनै काममा निस्किए पनि केही होला कि भन्ने एउटै डर हुन्छ । समस्या लुटपाटको होइन नारा लगाएर धर्मलाई निशाना बनाएर मार्ने समस्या हो ।

तर यी दुई बाबु छोराले अरु कुनै देशमा नगई पाकिस्तान किन रोजे ? बीबीसीको प्रश्नमा मोहम्मद हसनैनले भने, ‘हेर्नुस्, हामी धनी छैनौं । कुनै पनि देशमा गएर १०–५ करोड रुपैयाँ खर्चेर नागरिकता किन्न सक्दैनौं ।’

“हामीसँग पाकिस्तानको विकल्प मात्र थियो, जहाँ हामीजस्ता मानिसहरू बस्छन् र यसलाई बनाउनमा हाम्रा पुर्खाहरूको पनि भूमिका थियो।” पाकिस्तानमा आफन्त नभएकाले भिसा नपाएको उनले बताए ।

“पर्यटक भिसा लिएर जाने र त्यहाँ आश्रय लिने विचार थियो। त्यहाँ (पाकिस्तानी दूतावास) बाट अस्वीकार गर्दा के विकल्प हुन सक्छ भनेर हामीले खोज्न थाल्यौं। दुई-तीन वर्ष यसरी नै बित्यो। त्यसपछि अचानक हामीले यो बाटो पायौं। दुबई गएर त्यहाँबाट अफगानिस्तानको भिसा पाउन सकिन्छ भन्ने थाहा भयो।”

मोहम्मद हसनैन र इशाकले आफूहरू भारत फर्कन नचाहेको स्पष्ट रूपमा भनेका छन्, तर पाकिस्तानले उनीहरूलाई शरण र नागरिकता नदिए के गर्ने?

इशाक अमिरले भने, “हामी आश्रय मात्र खोजिरहेका छौं। हाम्रो उद्देश्य यहाँ घर वा जागिर माग्ने होइन। म अझै युवा छु, गाडी चलाउन सक्छु, रोटी पकाउन सक्छु। बाहिर धेरै मजदुरको काम छ मैले गर्न सक्छु।”

“वालिद साहबले सिकाउन सक्नुहुन्छ, म पनि सिकाउन सक्छु। म कुरान सिकाउन सक्छु। मैले कुरान कण्ठ गरेको छु। म केवल शरण चाहन्छु, फर्कन चाहन्न।”

“गोली हानिदिनुहोस् जेलमा हालेर सड्न दिनुहोस् कुनै समस्या छैन । यदि तपाइँ हामीलाई राख्न चाहनुहुन्न भने मलाई फिर्ता नपठाउनुहोस् बरू मलाई तपाइँको नजिकैको जेलको कुनामा राख्नुहोस् । मलाई पिंजरामा बन्द गर्नुहोस् त्यो पनि स्वीकार्य छ।”

मोहम्मद हसनैनले भने, “म यो देशमा बाँच्न आएको होइन। म यो देशमा शान्तिसँग मर्न आएको हुँ। मलाई अहिले बाँच्ने रहर छैन।”

सीमा हैदर प्रकरणको उदाहरण दिँदै उनले भने, ‘यदि त्यहाँको सरकारले सीमालाई स्वीकार गर्न सक्छ भने मलाई पाकिस्तान सरकारले स्वीकार गर्न विश्वको कुन शक्तिले रोक्छ ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *