राजधानी अंकारामा आत्मघाती बम विष्फोटपछि कुर्द विद्रोहीको अड्डामा टर्कीको आक्रमण सुरु

डिसी नेपाल
१५ असोज २०८० १३:०५

काठमाडौं । राजधानी अंकारामा आन्तरिक मामिला मन्त्रालयबाहिर आत्मघाती बम विष्फोटपछि टर्की सेनाले कुर्दिश विद्रोहीको अड्डामा आक्रमण गरेको छ ।

टर्की सरकारले यस कारबाहीमा कुर्द विद्रोहीका २० वटा अड्डा ध्वस्त भएको जनाएको छ । सरकारले प्रतिबन्धित विद्रोही समूह पीकेकेका धेरै चरमपन्थी मारिएको दाबी गरेको छ । पिकेकेले अंकारामा आइतबार बिहान भएको विस्फोट आफूसँग आबद्ध समूहले गराएको दाबी गरेको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मन्त्रीले आइतवार भने, “दुई चरमपन्थीले मन्त्रालयको भवन बाहिर हमला गरे। जवाफी कारबाहीमा एकजना मारिएका छन्, अर्काले आफैंलाई विस्फोटन गरेका छन्।”

आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार संसद भवन नजिकै विस्फोट भएको हो ।

टर्कीको आन्तरिक मन्त्रालयले भनेको छ, “आइतबार बिहान ९.३० बजे दुई चरमपन्थी कारमा आएर मन्त्रालयको गेट नजिकै बम विस्फोट गराए।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *