सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु भएपछि हंगामा

काठमाडौं । महाराष्ट्रको नान्देडको सरकारी अस्पतालमा पछिल्लो २४ घण्टामा २४ जना बिरामीको मृत्यु भएको छ । अक्टोबर १ देखि मृत्यु हुनेमा १२ नवजात शिशुहरू छन्।
अस्पतालका डीन एसआर वाकोडेले नवजात शिशुबाहेक अन्यको मृत्यु सर्पको टोकाइ र विषका कारण भएको बताए ।
समयमा औषधि नपुगेका कारण बिरामीको मृत्यु भएको बताइए पनि वाकोडेले यो आरोप अस्वीकार गरेका छन् ।
वाकोडेले औषधिको अभाव भए पनि आकस्मिक अवस्थामा भर्ना भएका बिरामीका लागि पर्याप्त औषधि उपलब्ध रहेको बताए ।
हाफकिन इन्स्टिच्युटले औषधि खरिद गर्न बन्द गरेपछि राज्यभरका सरकारी अस्पतालमा औषधिको अभाव भएको बताइएको छ ।
शंकरराव चव्हाण सरकारी अस्पताल नजिकैको ७०–८० किलोमिटर क्षेत्रका बिरामी आउने गरेका छन् । वरपरको क्षेत्रमा अन्य ठूला अस्पताल नभएकाले आकस्मिक अवस्थामा बिरामी यहाँ आउने गर्छन् ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका सबै बिरामी यहाँ आकस्मिक भर्नाका लागि आएको अस्पतालको दाबी छ ।
डीन वाकोडेले भने, ‘यसबाहेक अस्पतालका मेडिकल अधिकृतको सरुवाका कारण पनि केही समस्या देखिएको छ ।’
यसबाहेक बिरामीको चाप पनि बढेको र हाफकिन इन्स्टिच्युटले औषधि खरिद नगर्दा केही हदसम्म अभाव भएको अस्पतालले जनाएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले यी मृत्युको छानबिन गरिने बताएका छन् ।
राज्यका स्वास्थ्यमन्त्री हसन मुश्रीफले भने, “तेलंगानाको सीमावर्ती परभनी, हिंगोलीका मानिसहरू यस अस्पतालमा उपचारका लागि आउँछन्। मानिसहरू पहिले निजी अस्पतालमा उपचार गर्छन् तर जब उनीहरूको स्वास्थ्यमा सुधार आउँदैन र उनीहरूको बिल बढ्न थाल्छ। संक्रमित भएमा भर्ना गरिन्छ। तर, २४ घण्टामा २४ जनाको मृत्यु हुनु गम्भीर विषय हो, छानबिन हुन्छ ।”
Facebook Comment