माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिका कारण भारत तनावमा

काठमाडौं । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइजुले सत्ता पाएपछि देखाएको कार्यशैलीले भारत तनावमा परेको छ । चीन समर्थक मोहम्मद मुइजुले माल्दिभ्सबाट भारतीय सेना हटाउने आह्वान दोहोर्याएका छन्। उनले आफ्नो कार्यकालको पहिलो दिनदेखि नै माल्दिभ्सको भूमिबाट विदेशी सेना (भारतीय) हटाउन प्रयास थाल्ने बताए ।
माल्दिभ्समा हालै सम्पन्न राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइजुले ५३ प्रतिशत भन्दा बढी मत प्राप्त गरेर भारी जीत हासिल गरे। चीनको समर्थक मानिने मुइजुले यस चुनावमा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार र भारत समर्थक वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका थिए। मुइजु यसअघि राजधानी माले सहरको मेयर थिए। उनले चीनसँग बलियो सम्बन्धको वकालत गर्दै आएका छन् ।
माल्दिभ्सका पूर्व राष्ट्रपति सोलिह २०१८ मा राष्ट्रपति निर्वाचित भएका थिए। मुइजुले उनले भारतलाई आफ्नो इच्छाअनुसार काम गर्न स्वतन्त्रता दिएको आरोप लगाएका थिए । मुइले राष्ट्रपति चुनाव जितेमा माल्दिभ्सबाट भारतीय सेना हटाउने र देशको व्यापार सम्बन्धलाई सन्तुलनमा राख्ने वाचा गरेका थिए।
तर, सोलिहले माल्दिभ्समा भारतीय सेनाको उपस्थिति दुई सरकारबीच भएको सम्झौताअनुसार डकयार्ड निर्माण गर्न मात्रै भएको र यसले आफ्नो देशको सार्वभौमसत्ता उल्लंघन नगर्ने बताएका थिए। माल्दिभ्स भारत र चीन दुवैका लागि रणनीतिक महत्वको छ। माल्दिभ्समा भारतको उपस्थितिले यसलाई हिन्द महासागरको त्यो भागमा नजर राख्ने शक्ति दिन्छ जहाँ चीनले आफ्नो प्रभुत्व तीव्र रूपमा बढाइरहेको छ।
चीनले बीआरआई, विकास परियोजनाहरूमा ऋण र तेल आपूर्ति मार्फत माल्दिभ्समा आफ्नो प्रभुत्व बढाएको छ। त्यस्तै, भारतमा पनि अर्बौं डलरका परियोजनाहरू चलिरहेका छन् । तर, मोहम्मद मुइजुले यसअघि पनि भारतविरुद्ध खुलेर बयान दिँदै आएका छन् । अब उनले माल्दिभ्सबाट भारतीय सेनालाई निष्कासन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। यस्तो अवस्थामा उनको अडानले चीनलाई खुसी पार्ने र भारतको तनाव बढाउने देखिएको छ ।
मुइजु पेशाले इन्जिनियर हुन् । उनले ७ वर्षसम्म माल्दिभ्सको आवास मन्त्रीको रुपमा काम गरेका थिए । राजधानी मालेको मेयर हुँदा उनी राष्ट्रपतिको उम्मेदवार बनेका थिए । ४५ वर्षीय निर्वाचित राष्ट्रपतिले युनाइटेड किंगडमबाट सिभिल इन्जिनियरिङमा डक्टरेट गरेका छन् र राजनीतिमा आउनुअघि निजी क्षेत्रमा इन्जिनियरको रूपमा काम गरेका थिए।
Facebook Comment