लन्डनदेखि लाहोरको टिकट बुक, नवाज सरिफ २१ अक्टोबरमा स्वदेश फर्किने
काठमाडौं । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सर्वोच्च नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफले अक्टोबर २१ मा पाकिस्तान फर्कन बेलायतबाट उडान टिकट बुक गरेका छन्।
पाकिस्तानी मिडियाका अनुसार हाल बेलायतमा रहेका नवाज शरीफ अक्टोबर २१ मा अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । सोही दिन उनी अबुधाबीबाट लाहोरको उडानमा चढ्नेछन् ।
स्रोतका अनुसार नवाज शरीफले इतिहाद एयरवेजको फ्लाइट इवाइ २४३ मा बिजनेस क्लासको टिकट बुक गरेका छन् । उडान साँझ ६.२५ बजे लाहोरको अल्लामा इकबाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नवाजको साथमा उनका स्टाफ सदस्य, व्यक्तिगत सल्लाहकार, डा. अदनान र सिनेटर इरफान सिद्दीकी हुनेछन्।
स्रोतका अनुसार धेरै पीएमएल-एन नेता र पूर्व सांसदहरूले पनि अबु धाबीबाट लाहोरको एउटै उडानमा सिट बुक गरेका छन्। नवाजलाई स्वागत गर्न विभिन्न क्षेत्रका धेरै पीएमएल-एन सदस्यहरू अबु धाबी एयरपोर्ट पुग्ने अपेक्षा गरिएको छ।
पाकिस्तानका कार्यवाहक सूचना मन्त्रीले भने, ‘नवाज शरीफ स्वदेश फर्किएपछि कानुनबमोजिम व्यवहार गरिनेछ।’
पूर्व अर्थमन्त्री इशाक डारले शरीफविरुद्धका मुद्दा झुटा भएकाले पाकिस्तान फर्किएपछि पूर्वप्रधानमन्त्रीले जेल जान नपर्ने दाबी गरेका थिए । लन्डनमा साम टिभीसँग कुरा गर्दै पीएमएल-एन सिनेटर डारले भने ‘नवाज विरुद्ध मुद्दाहरू सामना गर्न कानूनी रणनीति तयार गरिएको छ।’
लाहोरमा भव्य कार्यक्रमको तयारी भइरहेको छ । नवाजको पार्टीका एक नेताले स्वागत समारोहमा १२५ जना बाइक सवार हुने बताए । जसले आफ्नो नेतालाई अनौठो तरिकाले स्वागत गर्नेछन्। यसै क्रममा पार्टी कार्यकर्ताले अक्टोबर २१ मा नवाज शरीफको स्वागतका लागि धेरै मानिस ल्याउनेलाई बाइक दिने घोषणा गरेका छन् ।
नवाज शरीफ पाकिस्तान पुग्नुअघि उनको पार्टीले नवाजको जमानतका लागि लाहोर उच्च अदालत जानेछ। ७३ वर्षीय नवाजले भर्खरै आफ्नो चार वर्षको “आत्मनिर्वासन” समाप्त गरेर अक्टोबर २१ मा पाकिस्तान फर्कन र जनवरी २०२४ मा हुने चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्न पाउँदा आफू उत्साहित भएको बताए।
पाकिस्तानी मिडियाका अनुसार नवाज शरीफलाई लाहोर एयरपोर्टमा गिरफ्तार हुनबाट बचाउनका लागि जमानतका लागि लाहोर उच्च अदालत जाने निर्णय गरिएको छ, किनभने अदालतले उनलाई एउटा मुद्दामा अपराधी घोषित गरेको थियो।
Facebook Comment