समाचार संस्था न्युजक्लिकका संस्थापक प्रवीर पुरकायस्थ र एचआर प्रमुख सात दिनको प्रहरी हिरासतमा

डिसी नेपाल
१७ असोज २०८० १२:१९

काठमाडौं । चीनबाट आर्थिक सहयोग लिएको आरोपमा न्युजक्लिकका संस्थापक प्रवीर पुरकायस्थ र मानव संसाधन प्रमुख अमित चक्रवर्तीलाई सात दिनको प्रहरी हिरासतमा पठाइएको छ ।

उनीहरु विरुद्ध गैरकानूनी गतिविधि रोकथाम ऐन (युएपीए) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले सोमबार ३० भन्दा बढी स्थानमा छापा मारेर धेरै पत्रकारसँग यस सम्बन्धमा सोधपुछ गरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार एक वरिष्ठ अधिकारीले उनीहरु दुवैलाई अदालतमा पेश गरी प्रहरी हिरासतमा पठाएको बताएका छन् ।

मंगलबार प्रहरीले न्युजक्लिकको कार्यालय पनि सिल गरेको छ । अधिकारीहरूले यसअघि ४६ ‘शङ्कास्पद’लाई सोधपुछ गरी ल्यापटप र मोबाइल फोनहरू अनुसन्धानका लागि लिएको बताएका थिए।

यस मामिलामा उर्मिलेश, अभिसार शर्मा, परञ्जय गुहा ठाकुरता, सोहेल हाश्मी, सञ्जय राजौरा, अनिन्द्यो चक्रवर्तीलगायत धेरै पत्रकारहरूमाथि सोधपुछ गरिएको थियो। करिब ६ घण्टासम्म चलेको सोधपुछपछि प्रहरीले सबैलाई छोडिदिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *