जस्टिन ट्रुडोले फेरि भने– भारतसँग तनाव बढाउने मनसाय छैन
काठमाडौं । भारतसँगको पछिल्लो तनावलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पछिल्लो बयान आएको छ ।
उनले क्यानडाले भारतसँग थप तनाव बढाउन नचाहेको पनि दोहोर्याएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार ओटावामा पत्रकारहरूसँग कुरा गर्दै जस्टिन ट्रुडोले भने, “भारतमा कूटनीतिज्ञ हुनु धेरै महत्त्वपूर्ण छ।”
उनको बयान फाइनान्सियल टाइम्स अखबारको समाचार पछि आएको हो जसमा भारतले ४१ क्यानाडाली कूटनीतिज्ञलाई देश छाड्न भनेको दाबी गरिएको छ।
उनले भारतविरुद्ध कुनै पनि प्रकारको प्रतिशोधात्मक कारबाही गर्ने आफ्नो मन नरहेको र दिल्लीसँग मिलेर काम गर्ने प्रयास गर्ने बताए ।
सीबीसी न्यूजका अनुसार ट्रुडोले भने “यो कठिन समयमा, हामी भारतसँग रचनात्मक सम्बन्ध कायम गर्ने दिशामा काम गरिरहनेछौं।”
गत महिना क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको संसदमा वक्तव्य दिँदै हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको प्रमाण फेला परेको बताएपछि भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिएको थियो ।
तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ । तर त्यसपछि दुवै देशले एक अर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
Facebook Comment