मुकेश अम्बानीको कम्पनीमा आर्थिक अभाव, कर्मचारीको तलब रोकियो, अधिकारीहरूको धमाधम राजीनामा
काठमाडौं । क्विक कमर्स एणड लजिस्टिक कम्पनी डन्जोमा एकपछि अर्को गर्दै शीर्ष तहका कर्मचारीले कम्पनी छाड्दै गएका छन् । अर्कातिर बजेट अभावका कारण कर्मचारीले तलब पाउन लामो समय कुर्नुपरेको छ ।
पछिल्ला दुई महिनामा कम्पनीका सहसंस्थापकसहित चारजना शीर्ष अधिकारीले जागिर छाडेका छन् भने अर्का एक अधिकारीले जागिर छाडेको खबर हेडलाइनमा छ । यस कम्पनीमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको रिलायन्सको ठूलो लगानी छ । योसँगै गुगलले पनि यसमा लगानी गरेको छ ।
अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको समर्थनमा रहेको डन्जोको अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ। रिलायन्स रिटेल यस कम्पनीको सबैभन्दा ठूलो सेयर होल्डर हो र डन्जोमा २५.८ प्रतिशत सेयर छ।
रिपोर्टका अनुसार कोषको अभावमा संघर्ष गरिरहेको यो स्टार्टअपले लगानीकर्तासँग रकम जुटाउन वार्ता गरिरहेको छ र यसमा रिलायन्सले पनि सहयोग गरिरहेको छ । तर, पहिले नै ठूलो हिस्सेदारी रहेको मुकेश अम्बानीको कम्पनीले आफ्नो लगानी बढाउन चासो देखाएको छैन।
गत अगस्टको सुरुदेखि नै डन्जोमा हाई प्रोफाइल राजीनामा सुरु भएको थियो। अगस्ट ३, २०२३ मा दुई कार्यकारीहरू अश्विन खस्गीवाला र राजेन्द्र कामथले डन्जो बोर्ड छोडे । दुबै रिलायन्स रिटेलको वित्तीय शाखामा वरिष्ठ पदमा थिए र डन्जो बोर्डमा समावेश भएका थिए।
यसपछि अगस्ट २१ मा डन्जोको ८ प्रतिशतभन्दा बढी शेयर रहेको लाइटरक इन्डियाकी पार्टनर वैदेही रवीन्द्रनले कम्पनीको बोर्डबाट बाहिरिने घोषणा गरिन् । महिनाको अन्त्यमा अगस्ट २९ मा डन्जोका सह-संस्थापक दलवीर सुरीले बोर्डबाट राजीनामा दिएका थिए।
सेप्टेम्बर १, २०२३ मा कम्पनीका दोस्रो सह-संस्थापक मुकुन्द झाले पनि कम्पनी छाडेको खबर आइरहेको छ । तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । नगद संकटको सामना गरिरहेको कम्पनीमा दुई महिनामा यो पाँचौं ठूलो राजीनामा हो।
बिजनेश स्ट्याण्डर्डको रिपोर्ट अनुसार मुकुन्द झाको राजीनामाबारे टिप्पणी गर्दै डन्जोका प्रवक्ताले आफू नेतृत्व टोलीमा रहने बताएका छन् । प्रवक्ताका अनुसार उनीहरू संस्थालाई नयाँ पदाधिकारीसहित अगाडि बढाउने काममा छन् र त्यसको भविष्य निर्माण गर्न झाले मार्गदर्शन दिनेछन् ।
कोषको अभाव र नगदको अभावका कारण बेंगलुरुको स्टार्टअप कम्पनी डन्जोका कर्मचारीहरूले सामना गरेको तलब संकट गहिरो भएको छ। कम्पनीले पूर्व कर्मचारीलाई बक्यौता तलब पाउन लामो समय कुर्नु पर्ने निर्देशन दिएको रिपोर्टमा उल्लेख छ ।
डन्जोबाट अलग भएका कर्मचारीहरूलाई पूर्ण र अन्तिम भुक्तानी अब जनवरी वा फेब्रुअरी २०२४ सम्म गर्न सकिन्छ। लगातार राजीनामा दिए पनि कम्पनीले लगानीकर्ताबाट २ सयदेखि ३ सय करोड रुपैयाँ लगानीको प्रस्ताव पाइरहेको छ ।
Facebook Comment