कथा : डेंगीको उच्च उडान
डेंगीको कारण देवेन्द्रको शहर र टोल-छिमेकमा निकै मानिस बिरामी परेको अवस्था। विश्वभर मौसम परिवर्तनले गरेको आक्रान्तक हमलाले उसको हिमाली मुलुक पनि अब अलग रहेर बस्न सक्ने अवस्था रहेन।
बढ्दो गर्मीले गर्दा संक्रामक रोग, झिँगा, लामखुट्टे, उपियाँ, उडुस, शर्प, बिच्छी, बाघ, चितुवा आदि यावत जीव उकालो चढ्न थालेका छन्। देवेन्द्रलगायत उसको घरका अन्य केही मानिस पनि हाल डेंगीको शिकार भएका छन्।
उसको टोल छिमेकका साथी तथा चिनाजानीका मानिस बिरामी परेर घरैमा सुतिरहेका छन्। तर पनि थला नपरेकालाई यसको गम्भिरता बारे ज्ञान नभएकोले कुनै सावधानी नै नअपनाएर घुमिरहेका छन्।
देवेन्द्र यस्तो मामिलामा निकै सावधानी अपनाउने व्यक्ति हो। त्यसैले ऊ आजसम्म कोभिड वा डेंगीको चपेटाबाट बचिरहेको थियो। तर यसपालि उसको सावधानीलाई पनि लामखुट्टेले माथ गरिदिएर ऊ पनि ज्यान जाने स्थितिबाट नै गुज्रिन बाध्य भयो र अब बल्ल तग्रिन थालेको छ।
देवेन्द्रकी छोरी र छोराले स्थापना गरेको किण्डरगार्टेन विद्यालयका चालक तीलबहादुर र पाले मुसे तथा उसको धर्मपुत्र सफल पनि यसपालि थला पर्न गए।
तीलबहादुर केही नाजुक हुनुका साथै सावधानी पनि नअपनाउने व्यक्ति भएकोले उसलाई विगतमा पनि दुई पटक कोभिडले गालिसकेको थियो। बेला बेलामा रुघाखोकीले थलिइरहने ऊ निकै छिटो तंग्रिइ पनि हाल्थ्यो अनि केही नभए जस्तो गरेर दैनिक काममा फर्किपनि हाल्थ्यो।
गाउँको झाँक्री पनि भएकोले ऊ आफू बिरामी पर्दा पनि आफूले आफैंलाई फुकफाक गरेर, ढ्याङ्ग्रो ठोकेर निको पार्न खोज्थ्यो। उसको जीवनचर्या अचम्मको छ।
अर्को मुसे भने पूर्वी भारतको नागाल्याण्डबाट आएको र राम्ररी नेपाली पनि बोल्न नजान्ने। अंग्रेजी भने बोल्ने। विद्यालयमा पालेको काम गर्ने। बच्चाहरूमा लोकप्रिय र अभिभावकहरूको नजरमा एक जिम्मेवार व्यक्ति, जुन ऊ छ पनि। फुर्सदमा विद्यालय परिसर सफा पनि गर्ने।
आज ऊ पनि डेंगीको शिकार भएको छ। तर ऊ यस्ता कुराको त्यति मतलव गर्दैन। पूर्वी भारतको पहाडको गरिवीमा हुर्केको उसलाई यस्ता संक्रमणले केही लछार पाटो लगाउँछन् भन्ने कुराको कुनै विश्वास छैन। त्यसैले ऊ निकै अराजक तवरले हिँडिरहेको छ।
ज्वरोको भुंग्रो समेत सहेर ऊ कसैले भनेको नटेरेर आफू खुशी ड्युटी बस्न आउँछ र घुम्न निस्कन्छ। विद्यालयका शिक्षकहरूले ‘मुसे दाइ तिमी आराम गर्न जाऊ र बेला बेलामा खानपिन गरेर बस’ भन्दा पनि यो सब कुरा हल्कासँग लिएर ‘मलाई केही भएको छैन’ भन्छ।
फलफूल, नरिवलको पानी, पातलो जाउलो, रसिलो तरकारी आदि खुवाउन खोज्दा ‘मैले चाउमिन र चटपटे खाएर आइसकेँ’ भन्ने जवाफ आउँछ उसको। चाउमिन उसको सबैभन्दा मीठो परिकार रहेछ। नागा भएपनि ऊ मासु उति धेरै नखाने।
मुसे र तीलबहादुरको ठ्याकै नमिल्ने। मुसेको अचम्मको नेपाली बोलाई, मूर्खतापूर्ण कार्यहरू र सोझोपनाको फाइदा उठाएर तीलबहादुर उसलाई जिस्काई रहने र मुसे निकै रिसाउने।
५४-५५ वर्षको उमेरसम्म पनि मुसेले बिहे गर्न नसकेको वा बधु पाउन नसकेको भनेर जिस्काउने तीलबहादुरले। आज यी दुबै दुईवटा कोठाको बीचको पर्खालको वारपार बिरामी भएर लडिरहेका छन्। यहाँ अहिले जिस्काउने र रिसाउने दुबै काम रोकिएको छ केही समयको निम्ति।
उनीहरूको उपचार त्यहीँ नजिकको औषधि पसलको स्वास्थ्यकर्मीबाट भइरहेको छ। घरैमा एक एक दिन बिराएर उनीहरूको रक्त परिक्षण र रगतमार्पmत शरीरमा पौष्टिक तत्व पठाउने काम हुँदैछ।
तीलबहादुरको परिवार पनि भएकोले ऊ आफ्नो उपचारमा निकै गम्भिरताका साथ लागेको छ भने मुसेले केही दिनमा नै रगत झिक्न पनि दिएन र रगत झिक्न र खाना पठाउन राखिएको क्यानोला पनि आफैं थुतेर फ्याँकिदिएछ।
त्यतिबेला उसको शरीरबाट रगत निकै निस्किएको थियो रे र बल्ल बल्ल रोकिएको थियो रे। जे होस् यी दुबैको बिमारी क्रमिक रूपले कम हुँदै गएकोले अब यिनीहरू खुशी भएका छन्।
यो पटक भाद्र महिनासम्म राजधानीमा त्यति धेरै लामखुट्टे नदेखिएको भएता पनि असोज महिनामा आएर काठमाडौँबासीलाई यसले आक्रान्त पार्न थालेको छ।
मानवजातिले आजसम्म यातायातको क्षेत्रमा जति प्रगति गरेको भएता पनि एक पटकमा ५००को हाराहारीमा मात्र मान्छे ओसारपसार गर्ने विशाल भनिएका विमान निर्माण गर्न सकेको छ।
तर प्रकृतिले लामखुट्टेको टोकाईमार्फत शरीरभित्र एकैचोटी करोडौँको संख्यामा रोग फैलाउन सक्ने किटाणुहरू हाम्रो शरीरमा पुर्याउन सक्ने क्षमताको विकास गरिदिएको छ र त्यसमाथि यो संक्रमणलाई रोक्ने वा निवारण गर्ने कुनै भ्याक्सिनसमेत आजसम्म बनिसकेको छैन।
एकैचोटी लाखौँ मानव शरीरमा प्रवेश गरेर यी किटाणुले अर्बौंको संख्यामा प्लेटलेटहरू सखाप पारेर मानिसलाई इन्तु न चिन्तु पारिदिन्छन्। यस्ता सम्पूर्ण संक्रमणहरूबाट मानिस निरिह बनेर बस्न बाध्य छ।
तीलबहादुर र मुसेजस्तै लाखौँ नेपालीको स्वास्थ्यको राम्रो पहुँच भनेको स्थानीय औषधि पसल र त्यहाँ हुने गरेका स्वास्थ्यकर्मी नै हुन्। सरकारी अस्पताल त चरम अव्यवस्था र भ्रष्टाचारले चुर्लुम्मै डुबेका छन् र त्यहाँबाट स्वास्थ्य सेवा पाउने भनेको त एक आठौँ आश्चर्य नै हुन जान्छ।
उता निजी अस्पतालहरूले भने स्तरीय सेवा दिन सक्ने भएता पनि आम र विपन्न जनताको निम्ति निकै महँगा छन् तर पनि यिनको ठूलो विकास भएकोले मुलुकका मध्यमदेखि उच्च वर्गले भने यसको सेवा लिएर स्वस्थ रहन सकेका छन्।
देवेन्द्रले पनि यिनै मध्येको एक सर्वोत्कृष्ट अस्पतालको सेवा प्राप्त गरेर अहिले निकै तंग्रन सफल भएको छ। निजी अस्पतालहरू ठग्न बसेका जिकिर गर्नेहरूका कुरा देवेन्द्रले पनि बारम्वार सुनिरहेको भएता पनि आफ्नो ६० वर्ष हाराहारीको उमेरमा उसले पहिलो पटक यसपालि अस्पताल भर्ना भएर त्यहाँको आकस्मिक कक्ष, सघन उपचार कक्ष (आईसीयू) र क्याविनको सेवा समेत लिने अवसर पायो। आज ऊ निकै हौसिएको छ।
केही पूर्वाधारसमेत नभएका नीजि अस्पताल पनि होलान् जसमा विशिष्ट सेवा प्राप्त गर्न सकिँदैन होला तर तिनमा पनि आफ्नो घाँटी हेरेर हाड निल्ने स्तरका ठीकै सस्ता सेवा लिन आम जनताले पाएका छन्।
अति कम विकसित राष्ट्र र केही हदसम्म विकासशील राष्ट्रको विशेषता र परिचय नै चरम भ्रष्टाचार, सरकारीे सेवा र प्रतिष्ठानको बिजोग, संक्रमण र प्रकोप व्यवस्थापन गर्न नसक्ने फोहर राष्ट्रहरूको रूपमा हुने गरेको छ भने भ्रष्ट आचरणले जति नै सुकिलामुकिला देखिने भएता पनि यी मुलुकका नेताहरूलाई विकसित राष्ट्रका सरकारले खराब मानिसहरूको रूपमा लिएर अनेक प्रलोभन दिँदै आफ्नो स्वार्थ सिद्ध गर्ने माध्यम बनाएका छन्।
यसपालि आफ्नो स्वास्थ्य यस्तरी बिग्रेर सघन उपचार कक्षमा जोखिमपूर्ण विरामीको रूपमा रहँदा देवेन्द्रले आफू मृत्यु कै मुखमा पुगेको महसुस गरेको थियो। तर बिस्तारै प्लेटलेट बढ्दै गएकोले उसको हौसला बढ्न थालेको छ र उसको परिवारजनमा पनि खुशी छाउन थालेको छ।
देवेन्द्रले मनैमन हाम्रो जस्तो गरिव मुलुकका जनताले यस्ता संक्रमणहरूबाट मुक्ति पाउने कहिले होला, सबै प्रकारका सरकारले कुरा भन्दा पनि काम गरेर गाउँशहर सफा राख्नुका साथै महामारी शुरु हुनु भन्दा पहिले नै सतर्कता र रोकथामका उपाय अवलम्वन गर्न थाल्ने कहिलेदेखि होला र आम जनतामा पनि यस्ता कुराको जानकारी र सतर्कता अपनाउनु पर्छ भन्ने हेक्का हुने कहिले होला भन्ने सोच्न थाल्यो।
गरिवी कै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेका जनताका शरीर गरिवीले नै सख्त बनाउँदै लगेको र धनीहरूका शरीर झन् झन् नाजुक बन्दै गएकोमा पनि देवेन्द्रलाई ताज्जुप लागेको छ।
प्रकृतिले सबै जीवको आआफ्नो रोग प्रतिरोधात्मक शक्ति तोकिदिएको हुन्छ र सोही मुताविक मानिसहरू पनि कोही जब्बर, कोही नाजुक र कोही मध्यम खालका बनेका हुन्छन्।
आज तील बहादुर, मुसे, सफल र देवेन्द्र सबैको भनाई के छ भने डेंगी एक यस्तो खतरनाक संक्रामक रोग रहेछ कि यसले ज्यानसमेत लिन सक्ने र सोसम्म नभए पनि अति धेरै ज्वरो आएर टाउको दुखाउने, आँखाको गेडी दुखाउने, बान्ता हुने र दिसा लाग्ने, लट्ठीले कुटेजस्तो गरेर शरीरका विभिन्न भाग दुख्ने, छालामा राता डाबरहरू आउने र अति नै चिलाउने तथा रोग निको भएपछि पनि यसका नमिठा अवशेष पछिसम्म रहन सक्ने भएकोले यो रोगलाई सहज रूपमा मात्र लिन हुँदैन भनेर।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment