कविता : बोझिला पलहरु
त्यो निलो फराकिलो नभको खुल्ला छानो मुनि
रंगीचंगी फूलको बगैंचा, फराकिलो आँगन बीचमा
आधुनिक सुविधायुक्त आलिशान महल
सहयोगी साथहरु माझमा भएर पनि
खुम्चिएका वीरसीला मनहरु
उत्तरार्द्धको अशक्त शरीरहरु
मुस्कान हराएर दुखेका मुहारहरु
गुण छोडेर चर्न पखेटा फिजाई
निस्किएका प्रिय सन्तानका यादहरु
मुटुमा गाँठाे पार्दै समेटिन खोज्दा
मुटुनै फुटेर निस्कने पानीका ती बुँदहरु।
डलरको बिच्छाैना बिझाएका
ती अनिँदा रातहरु
एक तमासले सिलिङमा घुमेको पंखाको
हावा जस्तै उडेका रहरहरुलाई
साक्षी बनी नियाली रहेछन्
रित्ता रित्ता मनका भित्ताहरु
आँखाका पर्दाहरु खोलेर
मन मनै बोलेर भाव कहाँ पोखिन्छ र!
यदि सुन्ने कोही नभए पछि।|
आँखाभरी सम्झनाका तस्बीरहरु
हृदयमा मायाका छालहरु बोकेर
आफ्नो अस्तित्वको युद्धमा
थकित भएर विश्राम खोजी रहेको शरीर
माया र भरोसाको सिरानी
आफ्ना सन्तानको सामीप्यता नपाउँदा
एकान्किपनमा छटपटाई रहेका
बोझिला पलहरु
भौतिक सुखले दिएका छलहरु
केही बाध्यता केही रहर।
Facebook Comment