यूएईको मरुभूमिमा १५० बिरालो अलपत्र अवस्थामा फेला
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ । तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् । पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य’ को सामना गर्न आह्वान गरेको छ ।
समूहका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले एएफपीसँग भने, “बिरालोलाई मरुभूमिमा फ्याँकेर तिर्खा, भोकमरी र चर्को गर्मीका कारण मार्नका लागि छोड्ने व्यक्तिबारे सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यूएई अधिकारीहरूले बिहीबार अबुधाबीको मरुभूमिमा परित्यक्त बिरालोहरूको घटनाको अनुसन्धान सुरु गरेको घोषणा गरेका छन् । यद्यपि, उनीहरूले यी बिरालोहरू कति सङ्ख्यामा कहिले छोडिएका थिए भनेर निर्दिष्ट गरेनन् ।
यस ‘अमानवीय’ कार्यका दोषीहरूविरुद्ध सबै ‘प्रशासनिक र कानुनी उपायहरू’ प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । बालुवामा पुरिएका वा मुस्किलले उभिन सक्ने बिरालोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । एएफपीले तत्काल यसको प्रामाणिकता पुष्टि गर्न सकेको छैन ।
सन् २००७ मा नयाँ कानुन लागू भए पनि यूएई पशु संरक्षणमा ‘अन्य देशभन्दा पछि परेको’ आरोप लगाउँदै बेकरले भने, “क्रूरताको यो कार्य अरू धेरैले जस्तै छिपाउनु हुँदैन ।”
Facebook Comment