नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसीमा घटाइयो
बाँके। स्थिति सामान्य बन्दै गएपछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ। दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसिमा घटाएको हो।
जसअनुसार बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राति ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए। यसअघि बिहान ८ बजेदेखि नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आइएको थियो।
प्रजिअ अधिकारीले जारी गरेको सूचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन्।
हिन्दु र मुस्लिम समुदायका बिचमा हुलदंगा भएपछि स्थिति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले सुरक्षाा ब्यवस्थामा कडाइ गरेकाे हाे।
Facebook Comment