नोबेल शान्ति पुरस्कारबाट सम्मानित इरानी महिला नरगिस मोहम्मदी को हुन् ?

डिसी नेपाल
२० असोज २०८० १२:३०

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार कारागारमा बन्दी जीवन बिताइरहेकी इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिएको छ ।

५१ वर्षीया नर्गिस मानवअधिकारको क्षेत्रमा काम गरेको भन्दै २०११ देखि कैयौँ पटक जेल परेकी थिइन् ।

नर्गिसलाई इरानमा महिला अधिकार र मानवअधिकारको संरक्षणमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

नर्गिस नोबेल पुरस्कार विजेता शिरिन इबादीले स्थापना गरेको ‘डिफेन्डर अफ ह्युमन राइट्स सेन्टर’की उपप्रमुख हुन् ।

बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नरगिसलाई पनि समावेश गरिएको छ ।

नोबेल पुरस्कार विजेता छनोट गर्ने समितिका अनुसार नर्गिस मोहम्मदीले इरानमा महिला उत्पीडन विरुद्ध धेरै लडाइँ लडेकी छन् र देशमा सबैको मानवअधिकार र स्वतन्त्रताका लागि लड्दै आएकी छन् ।

ओस्लोमा रहेको नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रेइस एन्डरसनले भने, “इरान सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको छ, पाँच पटक दोषी ठहर गरेको छ र ३१ वर्षको जेल सजाय सुनाएको छ। उनी अझै जेलमै छन् ।”

नरगिस मोहम्मदीलाई शान्ति पुरस्कार दिने नोबेल समितिको यो निर्णय देशमा महिला स्वतन्त्रता आन्दोलन सुरु भएको एक वर्षपछि आएको हो ।

गत वर्ष सेप्टेम्बर २०२२ मा नैतिक प्रहरी हिरासतमा २२ वर्षीया महशा अमिनीको मृत्यु भएपछि यी आन्दोलनहरू सुरु भएका थिए।

चाँडै देशभर व्यापक विरोधहरू फैलियो र महिला स्वतन्त्रतादेखि लिएर सत्ता उल्ट्याउनसम्मका मागहरू थिए।

महिलाहरूले सार्वजनिक रूपमा कपाल काटेर हेडस्कार्फ जलाए। प्रदर्शनकारीले ‘महिला, जीवन, स्वतन्त्रता’ नारा लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *