निजगढमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

डिसी नेपाल
२० असोज २०८० १३:११

बारा। बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन् ।

निजगढ–८ स्थित श्री बाबा एनकेडी ग्यारेजबाट मर्मत गरेर जाँचका लागि निस्किएको ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई नारायणगढबाट धरानतर्फ जाँदै गरेको  प्र.१-०२-००१ ख ९७९३ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कोल्हबी नगरपालिका -३ जुगवाका चौधरीको घटनास्थल मै मृत्यु भएको हो ।

बसले ठक्कर दिए पछि चौधरीले चलाएको मोटरसाइकल ना ३ स ९२३७ नम्बरको इ-रिक्सामा ठोक्किन पुगेको थियो । मोटरसाइकलले ठक्कर दिए पछि अनियन्त्रित भएको उक्त इ-रिक्सा प्र २-०३-००१ ह १०६६ नम्बरको अटोसँग ठोक्किएको थियो।

रिक्साको ठक्करबाट अटो चालक निजगढ-१२ लालका २४ वर्षीय सुकराम बोम्जन, अटोमा सवार सोही ठाँउका २२ वर्षीय सानतेन लामा र जीतपुरसिमरा-१६ का २१ वर्षीय कुलबहादुर थिङ घाइते भएका छन् । घाइतेमध्ये लामालाई निजगढबाट थप उपचारका लागि वीरगन्ज लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक सिरहा-१२ का अजय ठाकुरलाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *