सिक्किममा बाढीले ५६ जनाको मृत्यु, ३ हजार पर्यटक ४ दिनदेखि अलपत्र

डिसी नेपाल
२० असोज २०८० १३:१२

काठमाडौं । सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण मृतयु हुनेको संख्या ५६ पुगेको छ । चार दिन बितिसक्दा पनि माटो र भग्नावशेषमा शव फेला परिरहेका छन् । सिक्किम बाढीमा हालसम्म ५६ शव निकालिएका छन् । जसमध्ये पश्चिम बङ्गालको टिस्टा नदी बेसिनबाट ३० भन्दा बढी शव फेला परेका छन् ।

सेनाका २२ जना सैनिक बेपत्ता भएका थिए, जसमध्ये ७ जनाको शव भेटिएको छ । राज्यमा तीन हजार पर्यटक चार दिनदेखि अलपत्र परेका छन् । तर खराब मौसमले हवाई उद्धार कार्यमा बाधा पुर्याएको छ । शुक्रबार वायुसेनाले एमआई-१७ हेलिकप्टरबाट अपरेशन सञ्चालन गर्ने धेरै प्रयास गरेको थियो।

पश्चिम बंगाल सरकारका अनुसार तीन जिल्लाहरू, सिलगढी, जलपाईगुडी र कुचबिहारमा टिस्टा नदी बेसिनबाट शवहरू फेला परेका छन्। सिक्किम सरकारका अनुसार मंगनबाट चार शव, गान्तोकबाट छ र पाक्योङ जिल्लाबाट सात भारतीय सेनाका जवानहरू सहित १६ शव निकालिएको छ। सिक्किम सरकारको पछिल्लो तथ्यांक अनुसार हालसम्म १४२ जना बेपत्ता भएका छन् भने २५ हजारभन्दा बढी मानिस यस प्रकोपबाट प्रभावित भएका छन् ।

बुधवार बिहानै आएको बादलका कारण सिक्किमको टिष्टा नदीमा अचानक बाढी आएको थियो, जसका कारण २५ हजारभन्दा बढी मानिस प्रकोपमा परेका छन् । बाढीले १२ सयभन्दा बढी घरमा क्षति पुगेको छ । जम्मा १३ पुलहरु बगेका छन् । हालसम्म विभिन्न क्षेत्रबाट २ हजार ४१३ जनाको उद्धार गरिएको छ । यसबाहेक राज्यभरका २२ राहत शिविरमा ६ हजार ८ सय ७५ जनाले आश्रय लिएका छन् । यी अधिकांश क्षेत्रहरू देशको बाँकी भागबाट काटिएका छन्।

वरिष्ठ अधिकारीहरूका अनुसार उत्तर सिक्किममा फसेका करिब ३ हजार पर्यटकहरूलाई अझै बाहिर निकालिएको छैन। वायुसेनाले एमआई–१७ हेलिकप्टर पठाउने पटक पटक प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेनन् । तल्लो क्षेत्रमा बादल र लाचेन र लाचुङको उपत्यकामा कम भिजिबिलिटीका कारण समस्या भइरहेको छ । त्यसैले बागडोगरा र चतेनबाट हेलिकप्टर उड्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *