मुलुकको आर्थिक क्षेत्रका सङ्कट समाधान गर्न अध्यक्ष नेपालको आग्रह
कावासोती । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले अर्थतन्त्रमा देखापरेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले क्रान्तिकारी मुद्दा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र सम्मृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको बताए । उनले औद्योगिक विकास र मिटर ब्याजपीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशील रहेको जानकारी दिए ।
यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्त, अर्नाह, भगवान्ण्पुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगन्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा सम्पन्न भएको छ । पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएका छन् ।
पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता, कार्यकर्ता सो पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दाबी गरे ।
कावासोतीपछि बर्दघाट र परासीमा पनि आज आमसभा गरिनेछ । पार्टीका शीर्ष नेताहरूबाट सम्बोधन गरिएका अभियानका क्रममा आमसभा, कोणसभा, अन्तक्र्रिया, कार्यकर्ता भेला तथा पत्रकार सम्मेलन गरिएका छन् ।
Facebook Comment