उत्तरतिर बाटो खोल, ह्लासादेखि लुम्बिनी जोड
पृथ्वीनारायण शाहले उत्तर छिमेकीसँग बाटोले जोडिन पहिलो प्राथमिकता दिएका थिए। उनले बलियो नेपालको आधार उत्तर दक्षिणको बाटोलाई देखेका थिए। किन पृथ्वीनारायण शाहले उत्तरतिर बाटो जोड्ने विषयलाई पहिलो प्राथमिकतामा राखे होलान् घोत्लनु र विश्लेषण गर्नुपर्ने भएको छ। पक्कै पनि उनले व्यापार र सुरक्षालाई नै ध्यानमा राखेर उत्तर छिमेकीसँग जति सक्दो धेरै बाटाहरुबाट जोडिन चाहेको देखिन्छ।
दक्षिण छिमेकसँग उनी विश्वस्त हुन सकेका थिएनन्। त्यसबेला दक्षिणमा अंग्रेजले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको थियो। भारतका अनेक राज्यहरुलाई कब्जा जमाउँदै थियो। तसर्थ उसले नेपाललाई पनि कब्जा जमाउन सक्छ भन्ने शंका पृथ्वीनारायणमा थियो।
उनले दक्षिणको समुन्द्र पारिको अंग्रेज भन्दा रैथाने चिनियाँलाई भरपर्दो मित्र ठानेको देखियो। यसको पुष्टि भने उनको उत्तरको छिमेकीसँग बलियो घाहा यानि सन्धी सम्बन्ध राख्नु भन्ने भनाइले गर्दछ।
यही पृष्ठभूमिमा पृथ्वीनारायण शाहले नेपालको समृद्धि, व्यापार र सुरक्षालाई दीर्घकालीन रुपमा सुदृढ, सुरक्षित र सुनिश्चित बनाइराख्न उत्तर छिमेकसँगको सम्बन्धलाई विशेष जोड दिएको देखिन्छ। साथै यसको निरन्तरतालाई कायम राख्ने विषयलाई पनि त्यतिकै ध्यान दिएको देखिन्छ। यो पृथ्वीनारायणले तय गरेको नेपालको उत्तर छिमेक नीति हो।
यसको आवश्यकता र महत्वलाई मूल्यांकन गर्दा खेरि पृथ्वीनारायण शाहलाई व्यवहारिक तथा दूरदर्शी नेताको रुपमा समेत देख्न सकिन्छ। यसबाट यो पनि भन्न सकिन्छ कि पृथ्वीनारायण शाहले नेपालको अस्तित्व र भविश्य धेरै परसम्म देखेका छन्। अर्थात् अमर नेपाल देखेका छन्।
नेपालाई अमर राख्न उनले उत्तरतिर धेरै ढोकाहरु खोलेर नेपाललाई सुरक्षित राखिरहन बल पुग्ने उनको विश्लेषण या ठम्याई यथार्थमा आधारित देखिन्छ। त्यसैले उनले उद्घोष गरे “पुरुब पछिम्का रस्ता बन्ध गरी नेपालको रस्ता चलाई दिउँला”।
पृथ्वीनारायण शाहको उत्तरतिर रास्ता खोल्ने सोच नेपाल चीन र चीनको स्वशासित क्षेत्र तिब्बत सम्बन्ध, सम्पर्क,व्यापार तथा सुरक्षा लगायत सबै हिसाबले कति लाभदायक छ भन्ने उदाहरण कोदारी राजमार्गले जाहेर गरिरहेको छ।
यो राजमार्गको स्थापनाले एकितिर नेपाल चीनको व्यापारमा व्यापक वृद्धि भएको छ भने अर्कोतिर एकपक्षीय रहेको नेपालको दक्षिण छिमेकसँगको व्यपारलाई केहीहदसम्म दुइपक्षीय पनि बनाएको छ। साथै उत्तरतिर बनेको यो राजमार्गको कारणले नेपालले बढी सुरक्षित भएको महशुस समेत गरेको छ।
नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले अघि सारेको उत्तरतिर रास्ता खोल्ने सोचलाई उनका दशौ पुस्ताका उत्तराधिकारी राजा महेन्द्रले चीनको सहयोगमा कोदारी राजमार्ग निर्माण गराएर साकार गराएका थिए।
कोदारीको औपचारिक नाम अरनिको राजमार्ग राखेको यो राजमार्ग बन्न नदिन राजा महेन्द्रलाई नेपालको दक्षिण छिमेकी तथा पश्चिमा शक्ति समेतले निकै ठूलो दबाब दिएका थिए। तर राजा महेन्द्रले त्यस्ता दबाबहरुलाई कति पनि महत्व नदिइ नेपालको राष्ट्रिय हितलाई मात्र महत्व दिएर पृथ्वीविचारको उत्तरतिर रास्ता खोल्ने सोचलाई व्यवहारमा उतारेरै छोडे।
तर त्यसपछि नेपालको राष्ट्रिय आवश्यकता हुँदा हुँदै पनि अरु धेरै उत्तरतिरका नाकाहरुमा रास्ता बढाउने सवालमा नेपालका नेताहरुको ध्यान दृष्टि पुगेको पाइएन।
यतिबेलासम्म उत्तरतिरका धेरै नाकाहरुमा नेपाल चीन जोड्ने धेरै फराकिला राजमार्गहरु बनिसक्नु पर्ने थियो। यस्ता उत्तरका फराकिला राजमार्गहरु नेपालको यातायतको मेरुदण्ड मानिएको पूर्वपश्चिम याने महेन्द्र राजमार्गसंग जोडिएको हुनुपर्ने थियो। राज्यको यतातिर ध्यानै गएन।
पृथ्वीविचारबाट उठेको उत्तर दक्षिणको रास्ताको सोच नेपालको राष्ट्रिय आवश्यकता हो भन्ने यथार्थता बुझ्दै यसलाई तीब्र गतिमा बढाउनु र फैलाउनु पर्दछ। नेपाल तिब्बत जोड्ने रास्ताहरु नेपालका लागि व्यापारिक हिसाबले मात्र होइन कि नेपालको सुरक्षाको हिसाबले पनि त्यतिकै महत्वपूर्ण छ। यस्ता रास्ताहरु हरेक नाकाहरुमा बनाउनु पर्दछ र दुबै देशका धेरै परसम्म बढाउनु पर्दछ।
राजा महेन्द्रपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कोदारी बाहेक अन्य थप ५ वटा नाका खोल्ने सम्झौता गरेर पृथ्वीविचारको उत्तरतिर रास्ता खोल्ने दिशामा नेपाललाई थप अघि बढाएका थिए।
नेपाल चीन सम्बन्धलाई बलियो बनाउने गिरिजाप्रसाको यो कामलाई सकारात्मक रुपले मूल्यांकन गर्नु पर्दछ। यसले नेपालको सुरक्षा र व्यापारलाई बलियो बनाउन सकारात्मक योगदान दिन्छ। तर सम्झौताहरु कार्यन्वयनमा आउनु पर्दछ।
गिरिजाप्रसाद पछि पृथ्वीविचारले अघि सारेको उत्तर छिमेक नीतिमा नेपाललाई अघि बढाउने काममा प्रधानमन्त्री केपी ओलीले अर्को महत्वपूर्ण तथा ऐतिहासिक काम गरेका छन्।
त्यो भनेको केपी ओली सरकारले चीनसँग गरेको पारवहन सम्झौता हो। जुन सम्झौताले पृथ्वीविचारको बाटोमा अघि बढेर राजा महेन्द्रले चीनको सहयोगमा स्थापना गराएको कोदारी राजमार्गलाई तन्काएर चीनतिरका समुन्द्रमा जोडाएको छ।
यसले भूपरिवेष्ठित अझ भारत परिवेष्ठित नेपाललाई त्यो बन्धनबाट मुक्त गराएको छ। आफ्ना रणनीतिक स्वार्थ पूरा गराउन नेपाललाई बाध्य पार्ने उद्देश्यले भारतले बारम्बार लगाउने नाकाबन्दीको हतियारलाई यो पारवहन सम्झौताले कमजोर वा भुत्ते गराइदिएको छ।
यसले चीनतिर नयाँ संभावनाको ढोका खोलिदिएको छ। कोदारी राजमार्ग मात्र नभएर उत्तरतिरका सबै नाकाहरुले समुन्द्रसम्म जोडिन र ठोकिन पाएका छन्।
राजा महेन्द्रको पालामा बनेको कोदारी राजमार्ग होस् या गिरिजाप्रसादको पालामा खोलिने सम्झौता भएका उत्तरतिरका नाकाहरु नै किन नहुन् ति सबैलाई केपी ओलीले गरेको पारवहन सन्धीले समुन्द्रसम्म जोडाइदिएको छ।
चीनसँगको पारवहन सम्झौता नेपालको लागि ऐतिहासिक सम्झौता हो। तर यसलाई कार्यन्वयनमा ल्याउन नेपालले थप पहलकदमी लिनु पर्दछ। नेपालले अपेक्षित सकृयता देखाएको छैन। चीनसँगको ऐतिहासिक पारवहन सन्धीलाई कागजबाट व्यावहारमा लगेपछि मात्र यसको ऐतिहासिक दर्जाले सार्थकरुप लिएको मानिने छ। नत्र हात्ती आयो हात्ती आयो फुस्सा हुन बेर लाग्दैन।
पारवहन सन्धीको अलावा केपी वली सरकारले चीनसंग नेपालले रेलबाट पनि जोडिने सम्झौता गरेको छ। यो पनि नेपालको पृथ्वीविचारको उत्तरतिर रास्ता खोल्ने दिशाको महत्वपूर्ण कदम हो।
चीनको ह्लासादेखि लुम्बिनीसँग रेलले जोडिनु आध्यात्मिक तथा पर्यटकीय वा आर्थिक हिसाबले पनि धेरै महत्व राख्दछ। यसले चीनका अझ खाशगरी तिब्बतका वौद्धमार्गीहरुलाई भगवान गौतम बुद्ध जन्मेको लुम्बिनीमा आउन धाउन रमाउन पूजाआजा गर्न घुम्न सबै किसिमले सुगम बनाएर लैजान्छ। तसर्थ एक स्वरले भन्नुपर्छ उत्तरतिर बालो खोल ह्लासादेखि लुम्बिनी जोड।
भगवान गौतम बुद्ध जन्मेको नेपालको लुम्बिनी तिब्बत ह्लासाको मात्र नभएर भारत गयाको पनि केन्द्र बन्न सक्छ। लुम्बिनीले लासा र गयालाई जोड्न सक्छ। चीन रेल लिएर लुम्बिनी आउ भारत रेल लिएर लुम्बिनी आउ बुद्धको माटोमा उभिएर त्रिदेशीय मित्रताको झण्डा फहराऔं।
यसको सबै किसिमले महत्व धेरै छ। यद्यपी चीनसँग रेलको बाटो तय भइसकेको छैन। भविश्यमा यसरी जोडिन पनि सक्ला। जुन क्षेत्रमा जोडिए पनि जे साधनले जोडिए पनि यसले नेपालाई हानी छैन फाइदा मात्रै छ।
चीनको ओविओआर यानि वान बेल्ट वान रोड अर्थात बीआरआइसँग नेपालले जोडिनलाई सहमति जनाइसकेको छ। यो पनि सकारात्मक पक्ष हो। यसबाट पनि नेपालले लाभ लिन सक्नुपर्दछ। यसबाट नेपाल पछि हट्नु हुँदैन।
यो बाटो पृथ्वीविचार कै पाटो हो। यो पृथ्वीनारायण शाहले उत्तर छिमेकसँग घनिष्ठ सम्बन्ध बनाउनुको रचनात्मक पाटो पनि हो। नेपालले चीनसँग गरेका यस्ता सम्झौताहरुलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजानु पर्दछ।
चीनसँग नेपालले सधै तीनवटा “ब” बाट जोडिइरहनु पर्दछ। तीनवटा ब भनेका विश्वास, बाटो र ब्यापार। यी तीनवटै बलाई नेपालले कहिल्यै बिगार्नु हुँदैन। बाटो भनेको अकासको बाटो पनि हो,धर्तीको बाटो पनि हो र त्यो भन्दा ठूलो विश्वास, सहयोग र मित्रताको बाटो हो।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उत्तरको वादशाहसँग बलियो घा राख्नु भनेर त्यसै नसोची बोलेका थिएनन्। यसमा उनको कुटनीति पनि छ, रणनीति पनि छ र सुरक्षा नीति पनि छ। यो नेपालको निरन्तर सर्वकालिन रणनीति भइरहनु पर्दछ।
Facebook Comment