फाइबर सेवाका व्यक्तिगत प्याकेजमा टेलिकमकाे प्रोमोसनल अफर
काठमाडौं। नेपाल टेलिकमले आगामी बिहीबारदेखि लागू हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ।
यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमले जनाएको छ। सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको टेलिकमले जनाएको हो।
यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहे का सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन्।
यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन्। हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर यूजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको छ।
३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ।
Facebook Comment