विदेशी भूमिमा मृत्युले घेरिएका नेपालीले आफ्नो सरकारको संरक्षण किन पाउँदैनन् ?
काठमाडौं। नेपालीहरुले विदेशीहरुका लागि जीवनको आहुती दिने क्रम आजदेखिको होइन। यो त प्रथम विश्वयुद्ध देखिकै नियति हो ।
प्रथम विश्वयुद्धमा नेपालीहरु अन्य मुलुकको सेनामा भर्ना भएर सैन्य कुशलता प्रदर्शन गर्दै मृत्युवरण गरको अझै पनि इतिहासका पानामा ताजै छ ।
त्यसयता द्वितीय विश्वयुद्धमा पनि मित्रराष्ट्रका पक्षमा सैन्य गतिविधिमा सामेल भएर युद्धकला प्रदर्शन गरे बापत भिक्टोरिया क्रस प्राप्त गर्ने नेपालीहरुका वीरताका गाथा नपढिएको होइन।
विदेशी भूमिमा जीवन उत्सर्ग गर्नुपर्ने दुरावस्था आजसम्म यथावत नै छ। चाहे वीरता प्रदर्शनको नाममा होस् या दैनिक जीविकोपार्जनका लागि मेहनत मजदुरीका लागि होस्, यो क्रम अहिलेसम्म चलिरहेको छ।
नेपालीले वीरताको नाममा विदेशी भूमिका अनेकौं युद्धमासमाहित हुनुपर्नेे बाध्यात्मक अवस्था आफ्नै गरीबीले पैदा गराएको हो। आफ्नै आर्थिक उपार्जनका लागि बाध्यतावश अपनाइएको जोखिम हो।
त्यसलाई वीरताको लेपन लगाइदिएर शक्ति राष्ट्रहरुले नेपालीलाई धेरै वर्षदेखि मर्न प्रोत्साहित गरिरहेका छन् । यो क्रम आज पर्यन्त जारी छ । त्यसैमा मन्त्रमुग्ध भएर कैयौं विदेशी भूमिमा ज्यानको परवाह नगरी फगत पैसाको लागि जोखिमपूर्ण युद्धमा नेपाली हेलियौं ।
यद्यपि आज पनि यो क्रम रोकिएको छैन, झनै बढोत्तरी भएको छ । हिजो पुर्खाहरुले वीरताको नाममा बर्मा र मलायाका युद्ध अरुका लागि लडे। आज सन्ततीहरु अवसरका लागि सुविधा सम्पन्न मुलुकमा धाउने बिडम्बना कायमै छ ।
अवसरको खोजीमा परिवार धान्न विदेश भौतारिने विवशताले आज विदेशी मुलुकमा कारुणिक मृत्युवरण गरेको दर्दनाक दृश्यले स्वदेशमा बस्ने परिवारजनलाई प्रताडित बनाएको छ।
अरबका खाडीमा कष्टप्रद कर्मदेखि विकसित देशमा सम्मानित जीवनयापन गर्दै सुखसयलपूर्ण जिन्दगीसम्म नेपालीहरुले बिताएका छन्। तर तिनै देशमा नेपालीहरुको इहलिला समाप्त भएको खबरले समग्र देशवासीलाई पीडा दिन्छ ।
भर्खरै इजरायल पुगेका नेपाली विद्यार्थीहरुको दुखद् निधनले नेपाल शोकमा डुबेको छ । शनिबार इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी हमासले गरेको आक्रमणमा निहत्था दश नेपाली युवा विद्यार्थीले ज्यान गुमाउनु परेको छ ।
यस्तै दर्दनाक मृत्युवरण २०६१ भदौ १६ मा १२ जना नेपालीहरुको इराकमा भएको थियो। रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतामा रहेका नेपाली युवाहरुलाई वैदेशिक रोजगार व्यवसायीले इराकमा पुर्याउँदा आतंकवादीको कब्जामा परी बिभत्स हत्या गरिएको थियो।
त्यस्तै देशै रुवाउने मर्माहत अवस्था अहिले इजरायलमा अध्ययन र कामका लागि गएका नेपालीहरुको परिवारजनमा भएको छ। इजराजयलमा शनिबार इस्लामिक समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरु दक्ष प्राविधिक समेत हुन् । उनीहरु नेपालबाट कृषि अध्ययनरत क्याम्पसबाट पढ्दै कमाउँदै कार्यक्रमका लागि त्यहाँ पुगेका हुन्।
देशको दक्ष जनशक्तिको दुखद् अवसानले मुलकलाई क्षति भएको छ । अझै भविष्यको आडभरोसाको रुपमा रहेको आशातीत सदस्यको निधन हुँदा उनीहरुको परिवारजनमा बज्रपात परेको छ।
एक प्राविधिक रुपमा निपुण जनशक्तिले अध्ययन गर्नेदेखि गराउने काममा आर्थिकसहित कठोर लगनशिलताको जरुरत पर्दछ । परिवारजनको लगानी, उनीहरुको अपेक्षा र आफ्नो दायित्वबोधले विदेशी भूमिमा जान बाध्य भएर ज्यान गुमाएको हृदयविदारक घटनाले सबैलाई भावविभोर बनाएको छ ।
राज्यविहीनताको अवस्थाले मुलुक आक्रान्त छ । आफ्ना नागरिक जोखिमपूर्ण अवस्थामा रहँदा पनि सरकार मुकदर्शक बनेको छ । परराष्ट्र मन्त्रालय र त्यहाँस्थित नेपाली दूतावास विज्ञप्ति निकाल्ने ध्याउन्नमा व्यस्त छन् । उद्धारका लागि कुनै पहल गरिएको छैन । सुरक्षित रहन विज्ञप्ति मार्फत अपिल गर्ने दूतावासलाई लाखौं बजेट खर्चिएर सरकारले त्यहाँ राख्नुको कारण के हो ?
उसले जिम्मेवारी वहन गर्नुपर्छ कि पर्दैन? नेपालका प्रधानमन्त्रीले यसको पूर्वतयारी स्वरुप इजरायलका समकक्षीसँग छलफल थाल्नुपर्नेमा किन उदासिन देखिएका छन् । आम नेपालीजनले यी प्रश्न राज्य सञ्चालकहरुसँग गरिरहेका छन् ।
शनिबार भएको आक्रमणमा परी मृत्यु भएका नेपालीको तथ्याँक समेत समयमै उपलब्ध गराउन नसक्ने दूतावास केका लागि खडा गरिएको हो? भन्ने प्रश्न समेत जनमानसमा उठ्न थालेको छ ।
नागरिकले राज्यको अनुभूतिको अपेक्षा असहज अवस्थामा गर्ने गर्दछन्। नेपालको परराष्ट्र मन्त्रालय वक्तव्यबाजीमा सीमित भएको छ। उद्धारका लागि यथोचित भूमिका अहिलेसम्म निर्वाह गर्न सकेको छैन ।
युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुले जीवनरक्षाका लागि सामाजिक सञ्जालमार्फत गरिरहेको चित्कारले सरकारलाई छोएको छैन । नेपाली युवाहरुले गरिरहेको हारगुहारप्रति सरकारले कुनै पहल गरिरहेको छैन ।
त्यहाँबाट नेपाली युवाहरुले सामाजिक संजालबाट हारगुहार गर्दा नेपाल सरकारकले कुनै पहल गरेको छैन । अन्य देशले आफ्ना नागरिकलाई उद्धार गरिसक्दा नेपाल सरकारले हालसम्मै तदारुकता नदेखाएरै अन्योलता प्रकट गरिरहेको छ ।
नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकको जीवन रक्षाको विषयमा बेवास्ता गरेको यो पहिलो पटक होइन । २ वर्षअघि अमेरिकी सेनाले अफगानिस्तान छाडेर जाँदा पनि सरकारले त्यहाँ रहेका नेपालीको उद्धारका लागि उल्लेख्य काम केही गरेन ।
सरकारले कार्यदल बनाएको थियो तर त्यसले ठोस के काम गर्यो भन्ने स्पष्ट केही देखिएन । त्यहाँ भएका नेपालीलाई सबैभन्दा पहिले भारतले उद्धार गरिदिएको थियो । भारतले आफ्ना नागरिकसँगै पहिलो पटक ११ जना नेपालीलाई भारतसम्म ल्याइदिएको थियो ।
त्यसपछि अमेरिकी सेनाले अफगानिस्तानबाट नेपालीलाई उद्धार गरेर कुवेत लगेपछि त्यहाँबाट नेपाली घर फर्किन पाएका थिए । त्यतिबेला नेपाल सरकारले अफगानिस्तानमा १४०० नेपाली भएको आफूलाई जानकारी भएको तर यकिन तथ्यांक नभएको बताएको थियो ।
आफ्ना नागरिकका लागि कुनै देशले कतिसम्म गर्न सक्छन् भन्ने कुरा हालै अमेरिका र इरानबीच भएको सम्झौताले देखाउँछ । एक महिनाअघि अमेरिकाले इरानको जेलमा रहेका आफ्ना ५ जना नागरिकको रिहाइको बदलामा इरानलाई ६ अर्ब अमेरिकी डलर दियो । तर, हाम्रो सरकारसँग विदेशी जेलमा कति नेपाली छन् भन्ने तथ्यांकसमेत छैन ।
पछिल्लो समय भिजिट भिसामा रुस जाने नेपालीको संख्या पनि बढ्दो छ । उनीहरु यहाँबाट भिजिट भिसामा गएर रुसी सेनामा भर्ना हुने गरेका छन् । उनीहरु रुसी सेनामा भर्ना भएर युक्रेन युद्ध लड्न गएका हुन् । उनीहरुलाई रोक्नेतर्फ सरकारले कुनै पहल गरेको छैन । केवल एउटा वक्तव्य जारी गरेर औपचारिकता पूरा गरेको छ ।
नेपालीको जीवन विदेशी भूमिमा सदैव अरुका लागि मृत्युवरण गर्ने मात्रै हो ? विदेशी भूमिमा उर्जाशील समय र जीवन दुसाध्य अवस्थाबाट कहिले पार पाउने ? स्वदेशमा रोजगारी दिन नसकेपनि विदेशमा कम्तीमा जीवनरक्षाका लागि गुहार गर्दा पनि मौन रहने सरकारसँग नागरिकले के अपेक्षा गर्ने ?
Facebook Comment