राजमार्गमा बाँदर अत्याधिक भएपछि दुर्घटनाको जोखिम बढ्याे

डिसी नेपाल
२५ असोज २०८० ६:५३

महाेत्तरी। तराईको पूर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाकाे खतरा बढेको छ। सामुदायिक वन, साझेदारी वन र सागरनाथ वन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाकाे खतरा बढेको हो।

खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन्। तीब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बादरहरुको लाश सडकमा अलपत्र देखिन थालेकाे छ। विशेषगरी महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दी जाने सडकको बीचका विभिन्न ठाउँमा बादरहरुले सडक नै जाम गर्ने गरेका छन्।

योबीचमा सागरनाथ वन परियोजना देखी सामुदायिक वन र साझेदारी वन रहेका छन्। त्यहाँ रहने बाँदरले खानाकाे खाेजीमा राजमार्गमा निस्केपछि हैरानी बढेकाे छ।

माइस्थान सामुदायिक वन, टुटेस्वर साझेदारी वन, बाँके मरहा साझेदारी वन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जाेडिएका कारण हैरानी बढेकाे स्थानीय रामप्रसाद सापकाेटाले जानकारी दिए।

डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरुको कारणले पनि बादरहरु सडकमा आउने गरेको बताउँछन्। `यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन् र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,´ उनले भने।

पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बाँदरहरु बस्ती पस्न लागेको वनका कर्मचारीहरुको भनाइ छ।

यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ। जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सूचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन्।

राजमार्गमा निस्केर सडक जाम गर्ने बादरहरुको बिषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *