अर्थतन्त्र सुधार्न बोल्ड डिसिजनको आवश्यता : प्रधानमन्त्री दाहाल
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा अयाोजना गरेको राष्ट्रिय आर्थिक बहस, सुधारका लािग सहकार्य बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सकिने भन्दै यसका लागि सवै पक्ष सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका हुन्।
अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थ मन्त्रालय, राष्ट्र बैंक लगाएत सहभागी हुनेगरी संयन्त्रको खाँचो रहेको उनको भनाइ छ। उनले अर्थतन्त्रमा भएको समस्याको विन्दूबाट समाधानको प्रक्रिया खोज्नुपर्ने बताए।
प्रधानमन्त्री दाहालले अहिलको अवस्थामा समान्य तरिकाले अर्थतन्त्रको सुधार हुन नसक्ने भन्दै बोल्ड डिसिजनको आवश्यता रहेको बताए। वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न केही न केही सुधार भएको भन्दै उनले मुल सुधार बाँकी रहेको उनको भनाइ छ।
उनले भने, ‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ। अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ । यसका आन्तरिक आयाम छन्। यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पनि छन्। तर, निर्णायक चाहिँ हामी आफैँ हो । नेपाललाई कता र कसरी लैजाने भन्ने कुरामा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आजको दुनियाँमा बाह्य कारण पक्कै हुन्छ। निर्णायक हामी आफैँ हो ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रका मूलभूत समस्या अझै समाधान नभएकाले सहि समयमा सहि नीति लिन नसके सुधारको सम्भावना नरहेको बताए।
उनले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी रहेको बताए।
अध्यक्ष ढकालले सबै पक्ष मिलेर काम गरे सबै समस्याको समाधान सम्भव रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्नेमा जोड दिए।
Facebook Comment