इरानका राष्ट्रपति र साउदी युवराजबीच इजरायल–गाजाबारे फोनवार्ता

डिसी नेपाल
२५ असोज २०८० १६:१७

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानबीच बुधबार इजरायल–गाजा द्वन्द्वका विषयमा फोनमा कुराकानी भएको छ ।

इरान र साउदी अरेबियाको सरकारी मिडियाले यो जानकारी दिएको हो ।

विगत सात वर्षदेखि दुई देशबीच कूटनीतिक सम्बन्ध नभए पनि चीनको मध्यस्थतामा यही वर्षको मार्चमा दुई देशबीचको सम्बन्ध पुनः सुचारु भएको थियो । त्यसपछि इरान र साउदी अरबका नेताहरूबीच भएको यो पहिलो फोन वार्ता हो ।

इरानी मिडियाले रिपोर्ट गरेअनुसार रायसी र युवराजले “प्यालेस्टाइन विरुद्ध युद्ध अपराध अन्त्य गर्ने आवश्यकता” बारे छलफल गरे।

साउदी अरेबियाको राज्य समाचार एजेन्सी एसपीएका अनुसार, “साउदी अरेबियाका युवराजले राज्यले वर्तमान तनाव रोक्न सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय पक्षहरूसँग वार्ता गर्न हरसम्भव प्रयास गरिरहेको बताए।”

“उनीहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए र गाजामा गम्भीर मानवीय संकट र नागरिकहरूमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरे।”

उक्त कुराकानीमा युवराजले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न व्यापक र निष्पक्ष प्रयासलाई साउदी अरबले समर्थन गर्ने बताए ।

इरान र साउदी अरेबियाबीचको यो वार्ता महत्त्वपूर्ण छ किनभने यस वर्षको सुरुसम्म मध्यपूर्वका यी दुई देश तीतो प्रतिद्वन्द्वी थिए, उनीहरूबीच कूटनीतिक सम्बन्ध पनि थिएन, तर मार्चमा दुवै देशले मित्रताको हात अगाडि बढाएका थिए ।

चीनको मध्यस्थतामा साउदी अरेबिया र इरानले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने अनपेक्षित घोषणा गरेका छन्।

सन् २०१६ मा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि इरान र साउदी अरबबीचको सम्बन्ध चिसिएको थियो । त्यसयता सुन्नी बहुल साउदी अरब र शिया बहुल इरानबीच ठूलो तनाव छ। तर, यो वर्ष दुई देशबीचको सम्बन्धमा सुधार आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *