हमासले ‘टाउको काटेका बालबालिका’ को तस्बिर देखेको बाइडेनको दाबी झुटो, ह्वाइट हाउसले खोल्यो रहस्य
काठमाडौं । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमा ‘हमासका आतंककारीहरूले बालबालिकाको टाउको काटेको’ तस्विरहरू देखेको बताएका थिए।
बुधवार दिउँसो यहूदी समुदायका नेताहरूसँग कुरा गर्दै बाइडेनले भने, “आतंकवादीहरूले बालबालिकाको टाउको काटेको तस्बिरहरू देख्छु भनेर मैले वास्तवमा कहिल्यै सोचेको थिइनँ।”
सामाजिक सञ्जालमा यस्ता तस्बिर भाइरल भइरहेका छन्, केही सञ्चारमाध्यमले पनि यसबारे जानकारी दिएका छन् तर इजरायलको सेनाले भने यसको पुष्टि गरेको छैन । बाइडेनको यो भनाइलाई पूर्ण रूपमा बुझ्न बीबीसीले ह्वाइट हाउसलाई सम्पर्क गर्यो।
ह्वाइट हाउसका एक अधिकारीले राष्ट्रपति बाइडेनको टिप्पणीबाट आफूलाई टाढा राख्दै बीबीसीलाई बाइडेनले त्यस्ता तस्विरहरू नदेखेको बताए।
अधिकारीले भने, “उनी (राष्ट्रपति बाइडेन) इजरायलबाट आएका रिपोर्टहरूको बारेमा कुरा गरिरहेका थिए।”
शनिबार चरमपन्थी संगठन हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले गाजामा जवाफी हमला जारी राख्यो। यस रक्तपातपूर्ण द्वन्द्वमा इजरायल र गाजामा दुबै पक्षका १२००-१२०० व्यक्तिको मृत्यु भएको छ।
गाजामा बिजुली छैन। गएराति त्यहाँको अन्तिम पावर प्लान्टको इन्धन पनि सकियो । इजरायलले गाजामा बिजुलीसहित खाद्यान्न, औषधि र पानीजस्ता अत्यावश्यक वस्तुको आपूर्ति बन्द गरेको छ ।
Facebook Comment