नेपालले इजरायलविरुद्ध युएनमा भोट दिएकोमा सांसद शुक्लको आक्रोश (भिडियोसहित)
काठमाडौं। इजराइलका विरुद्ध नेपालले आतंकारीहरुलाई समर्थन गर्दै आएको र अन्तत तिनै आतंकारीहरुका हातबाट हाम्रा नेपाली दाजुभाइ इजरायलमा मारिनु परेकोले नेपालले आफ्नो परराष्ट्र नीतिमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा सांसद सर्बेन्द्रनाथ शुक्लले राखेका छन्।
शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले म नेपाली हुँ, शान्ति चाहन्छु भनेर चिच्याउँदा चिच्याउँदै पनि नेपाली विद्यार्थीहरुमाथि प्यालिष्टाइनका हमास लडाकूहरुले गोली हानेर मारेकोमा रोष् प्रकट गर्दै नेपालले संयुक्त राष्ट्र संघमा प्यालिष्टाइनी हमासका पक्षमा पटक पटक मतदान गरेकोमा आक्रोश व्यक्त गरे।
उनले संसदमा आतंकारी हमासका पक्षमा नेपालले संयुक्त राष्ट्र संघ र मानवअधिकार उच्चआयोगमा कतिपटक मतदान गरी इजराइलको विपक्षमा लागेको फेहरिस्त कागजात पनि देखाएका थिए।
‘२५ चोटी भोटिङ भएको छ युएनमा र पच्चीसै चोटी नेपालले इजरायलको विरुद्ध मतदान गरेको छ’, उनले भने। ‘एकातिर हामी पीस किपिङ फोर्स पठाउँछौं अर्कोतिर हामी युएनको संगठनमा गएर एउटा आतंकवादबाट प्रभावितको पक्षमा मत दिन्छौं,’ उनले भने, ‘हामी अन्तर्राष्टिय क्षितिजमा कहीँ हामीले आतंकवादलाई समर्थन गर्न गइरहेका छैनौं, हामी विरोधावासमा छौं, यस्तो हुनु हुँदैन। चन्दनमा जतिबर्षसम्म पनि सर्पलाई लपेटे पनि उसले विष छोड्दैन यसैगरी हमासको पक्षमा हामीले सहयोग गरे पनि मौकामा उसका लडाकूले हाम्रा मानिसलाई मारेका छन्।’
जोखिम छ भन्ने जान्दा जान्दै पनि त्यो ठाउँमा नेपाली पठाएकोमा पनि उनले सरकारको आलोचना गरे। ‘जोखिम भएको ठाउँमा कहिलेसम्म आफ्ना मान्छे पठाइराख्ने? विदेश पठाएका सग्ला मानिसको लासलाई स्वागत गर्नु पर्ने एजेण्ट भएर हामी कहिलेसम्म बस्ने ?’ उनले भने, ‘सरकार प्रतिपक्ष एक भएर गम्भीर भएर सोच्नुपर्छ।’
इजरायलसँग छ दशक अगाडि नै दौत्यसम्बन्ध राख्ने दक्षिण एशियाको पहिलो मुलुक नेपाल भएको तर त्यति पुरानो सम्बन्धलाई मजवुत बनाएर राख्न नसक्नुको परिणाम परराष्ट मन्त्री स्वयं नै आफ्ना नागरिक लिन प्लेन लिएर जानुपर्ने बाध्यात्मक अवस्था आइलागेको तर्क गर्दै उनले यदि उचित नीतिसहितको सम्बन्ध राख्न सकेको भए विश्वास दिलाउन संकटको यो बेला परराष्ट्र मन्त्री गइराख्नुपर्ने थिएन, इजरायल स्वयंले नै नेपालीहरु सजिलै फर्काइदिन सक्ने थियो भन्ने धारणा राखेका थिए।
Facebook Comment