एशियाली खेलकुदको गरिमा

कपिल लोहनी
२७ असोज २०८० ७:५१

हालै चीनको हाङ्जावमा सन् २०२२ मा हुनुपर्ने १९औं एशियाली खेलकुद सम्पन्न भएको छ भने यसको अर्को संस्करण सन् २०२६ मा जापानको नागोयामा हुने भएको छ। नेपालमा राणा शासनको अन्त्य भएको सालदेखि नै एशियाली मुलुकहरूबीच एशियाली खेलकुदको शुरुवात भएको हो।

खेलकुदको माध्यमबाट नेपालले एशिया तथा विश्वका अन्य मुलुकहरूमा आफ्नो पहिचान बनाउन थालेको पनि त्यही बेलादेखि नै हो। सन् १९५१ मा पहिलो पटक भारतको राजधानी नयाँ दिल्लीमा प्रथम एशियाली खेलकुद यानी एशियाडको आयोजना भएको थियो।

सन् १९५४ देखि त यो प्रत्येक ४ वर्षमा आयोजित हुन थालिहाल्यो। विश्वको सबैभन्दा ठूलो खेलकुद ओलम्पिक भएझैं एशियाड विश्वको दोश्रो ठूलो खेल मेला हो भने एशियाको सबैभन्दा ठूलो।

सन् १९५१ देखि आजसम्म एशियाका १० राष्ट्रहरूले एशियाडको आयोजना गरिसकेका छन् भने यसमा ४५ एशियाली राष्ट्रको संलग्नता रहन्छ। चीन, जापान, दक्षिण कोरिया र थाइल्याण्डले ३-३ पटक, भारत र कतारले २ पटक, फिलिपिन्स, इन्डोनेशिया, इरान, साउदी अरेवियाले १-१ पटक यो खेलको आयोजना गरिसकेका छन्।

हुनत सन् १९१२ तिर नै जापान, चीन र फिलिपिन्सको सहभागितामा सुदुर पूर्वी खेलकुदको आयोजना हुन थालेको हो। तर जापानले चीन माथि हैकम जमाउन थालेपछि यो खेलकुद सुस्ताउँदै गएको थियो।

दोश्रो विश्वयुद्ध पछि एशियामा थुप्रै स्वतन्त्र तथा सार्वभौम राष्ट्रहरूको जन्म हुन थालेपछि भने खेलकुदमार्फत एकापसको सम्बन्ध सुधार गर्ने नीति बन्न थालेर सन् १९४८ मा बेलायतको राजधानी लण्डनमा भएको ओलम्पिक खेलको दौरान चीन र फिलिपिन्सका खेल पदाधिकारीहरू बीच एशियाली खेलकुदको शुरुवात गर्ने बारे छलफल भएको र भारतका उच्च खेल पदाधिकारी गुरुदत्त सोन्धीले यसबारे विस्तृत योजना बनाएपछि एशियाली एथलेटिक्स महासंघको स्थापना भएर प्रथम एशियाली खेलकुद भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भयो।

एशियाली खेलकुदको शुरुवाती चरणमा आजका निकै धनी एशियाली राष्ट्रहरू जस्तै दक्षिण कोरिया र जापानले पनि पटक पटक आर्थिक कारण देखाएर एशियाली खेलकुदको आयोजना गर्न हिच्किचाएका थिए भने पाकिस्तानले पनि आर्थिक कारण देखाएर नै १९७५ को खेल आयोजना गर्न सकेन।

त्यतिबेला इरानले भने खेलकुदमा निकै अग्रणी भूमिका खेलेको थियो र सन् १९७४ मा एशियाडको आयोजना पनि गरेको थियो। भारतले सन् १९८२ मा पनि एसियाडको आयोजना गरेको थियो भने त्यसैबेला नयाँ दिल्लीमा भव्य रङ्गशालाहरू तथा एसियन गेम्स भिलेजको निर्माण भएको थियो र सोही सालदेखि एसियाडको प्रत्यक्ष प्रसारण रंगीन टेलिभिजनमार्फत पनि हुन शुरु भएको थियो।

त्यतिबेला नेपालले काँस्य पदक समेत जित्न नसकेको र एकजना खेलकुद पदाधिकारीले खेलको पुरा मजा लुटेर फर्केपछि नेपालले हाँस्य पदक पायो भनेर निर्लज्जतापूर्वक अभिव्यक्ति दिएको कुरा अझै पनि कानमा गुञ्जिरहन्छ।

सन् १९९४ मा हिरोसिमामा भएको एशियाडमा सोभियत संघको विखण्डन पश्चात नयाँ मुलुक बन्न पुगेका मध्य एशियाका कजाखस्तान, किर्गिज्स्थान, तुर्कमेनिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानले पनि सदस्यता पाएका थिए।

विगतमा बेला बेलामा विश्व राजनैतिक उतार चढावका कारण एशियाडमा ताइवान, इजरायल, इराक, इरान, उत्तर कोरिया जस्ता मुलुकहरू बहिस्कारमा पर्ने गरेका थिए। चीनको ग्वाङजावमा सन् २०१० मा सबैभन्दा बढी ४२ खेलका ४७६ प्रतियोगिता भएका थिए।

व्याडमिन्टन, बक्सिङ, साइक्लिङ, हकी, फुटबल, कुस्ती, भारोत्तोलन, भलिबल, टेनिस, टेबल टेनिस, सुटिङ आदि शुरुवाती चरणदेखि नै खेलाउन थालिए पनि अन्य खेलकुद भने पछि थपिँदै गएका हुन्।

एशियाडको शुरुवाती दिनहरूदेखि नै यसमा चीन, जापान र दक्षिण कोरियाको वर्चश्व रहँदै आएको छ भने शुरुवाती दिनहरूमा इरान र इन्डोनेशियाको पनि राम्रो प्रदर्शन हुने गरेको थियो। हालै सम्पन्न भएको एशियाडबाट भारतको उदय निकै शानदार तवरले भएको छ।

अब भारत एशियाडको चौथो सबैभन्दा बढी मेडल जित्ने मुलुक हुन पुगेको छ। यसो हुनुमा भारतमा निकै पहिलेदेखि नै खेलकुदको निम्ति ठूलो धनराशी खर्च गरिनुका साथै त्यहाँका खेलकुद सम्बन्धि निकायहरूले खेलाडीहरूलाई नियमित अभ्यास गराइरहनु र विभिन्न समयमा भारतको नाम राख्न सफल खेलाडीहरूलाई खेलकुद कै क्षेत्रको विकासको निम्ति संलग्न गराइ रहनाले पनि हो।

त्यहाँको सुरक्षा निकाय र सबै प्रदेशहरू तथा संघीय सरकारले पनि खेलकुदलाई विशेष प्राथमिकता दिनुका साथै खेलकुद सम्बन्धि संरचनाको विकासमा ठूलो धनराशी खर्च गर्ने गरेको छ।

दक्षिण एशियामा पाकिस्तान पनि खेलकुदमा निकै अगाडि रहेको भएता पनि हिजोआज उसको खेलको स्तरमा ह्रास आउन थालेको छ। भारत र पाकिस्तान पछि दक्षिण एशियामा श्रीलङ्काको खेल केही स्तरीय हुने गरेको छ। बरु अफगानिस्तानमा दशकौंदेखि गृहयुद्ध चलिरहेको भएता पनि कतिपय खेलहरूमा उ निकै अगाडि छ। अरब राष्ट्रहरू खेलकुदमा बिस्तारै अगाडि बढ्दै छन्।

खेलकुदको कुरा गर्दा नेपाल र बंगलादेश उस्तै उस्तै कोटीमा पर्दछन्। यसपालीको एशियाडमा नेपालले १ रजत र १ काँस्य पदक जित्न सफल भयो भने वंगलादेशले २ वटा काँस्य पदक जित्यो। झनै भुटान त पदक विहीन नै हुन गयो।

वास्तवमा दक्षिण एशियामा खेलकुद क्षेत्रमा सबैभन्दा धेरै भाँडभैलोको स्थिति नेपालमा नै छ। नातावाद, कृपावाद र चरम भ्रष्टाचारमा चलेका हाम्रा खेलकुदका निकायहरू झन् झन् निकम्मा हुँदै गएका छन्।

मुलुकमा खेलकुदका लागि उचित पूर्वाधार समेत छैनन् भने खेलाडीहरूको वृत्ति विकासको त कुरै छोडौं। नेपाली खेलाडीहरूले आजसम्म जे जति पनि प्रगति गर्नुका साथै मुलुकको इज्जत धानेका छन्, त्यो सब उनिहरूको आफ्नै मेहनत र प्रयासले भएको हो।

त्यसैले सरकारले खेलकुदको विकासको लागि विशेष र नियमित पहल गरिदिनु अति जरुरी छ भने नीजि क्षेत्रले पनि खेलाडीहरूको हितका लागि रोजगारी र अन्य सुविधाहरू आफ्नो सामाजिक दायित्वको रूपमा प्रदान गर्नु अति महत्वपूर्ण हुन्छ।

भुटानमा नेपालमा भन्दा बढी सुविधा छ खेलाडीहरूलाई। तर भुटान लगायत माल्दिभ्स, यमन र इष्ट टिमोरले पदक जित्न सकेनन्। यी बाहेक अन्य ८ मुलुक नेपालभन्दा पनि तल रहन बाध्य भए।

यसरी खेलकुद क्षेत्रमा नेपाल निकै पिछडिएको राष्ट्र भएता पनि मौका र अवसर मिल्दा नेपाली खेलाडीहरूले निकै न्युन स्रोतमा पनि राम्रो खेल प्रदर्शन गर्दै आएका छन्। फुटबल, क्रिकेट, मार्सल आर्ट, एथलेटिक्स, भारोत्तोलन, ब्याडमिन्टन, भलिबल, कबड्डी आदि जस्ता खेलहरूमा विशेष तालिम र सुविधा पाउने हो भने नेपालले खेलकुदमा निकै ख्याती कमाउन सक्ने छ।

हालै प्रधानमन्त्रीले १९औँ एशियाडमा पदक जित्ने नेपाली खेलाडीहरूको सम्मान गर्नुका साथै खेलकुद विकासमा सरकारले सहयोग गर्ने वाचा गर्नुभएको छ। यस्ता ढाढस र टेवाले मुर्तरूप लिएर आउँदा दिनमा नेपाली खेलकुदले फस्टाउने मौका पाउन सके कमसेकम खेलकुदबाट नै भएपनि नेपालको इज्जत विश्वसामु रहन मद्दत पुग्ने थियो।

खेलकुदको विकासको निम्ति आवश्यक पूर्वाधार र तालिम केन्द्रहरू मुलुकभर निर्माण हुनु जरुरी छ भने सानै उमेरदेखि विद्यार्थीहरूबाट नै खेलाडीको पहिचान गरेर तिनीहरूलाई खेलकुदमा लगाउने तथा नेपालका ख्यातीप्राप्त सबै खेलाडीहरूलाई खेलकुद विकासमा लगाउन सके मात्र पनि खेलकुदले एक नयाँ गन्तव्य समाउन सक्ने थियो।

अल्पविकसित र विकासशील राष्ट्रहरूको पहिलो परिभाषा नै भ्रष्ट मुलुक हुनु हो। तर पनि भ्रष्टाचार मौलाएको बेलामा समेत केही रकम खेलकुद तथा अन्य असल कार्यमा खर्चेर मुलुकको इज्जत बच्ने काम गर्दा त्यसमा भएको भ्रष्टाचारको कुरा पनि सतहमा आउँदैन र मत्थर हुन जान्छ।

उदाहरणको निम्ति नेपाल वायुसेवा भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको भएता पनि आज मध्यपुर्वमा लडाई हुँदा यसले अन्य ठूला मुलुकहरू भन्दा पहिल्यै त्यहाँ अलपत्रमा परेका केही नेपालीलाई उद्धार गरेर मातृभूमिमा ल्याउन सक्यो।

त्यसैले पनि राष्ट्रिय ध्वजावाहक र खेलकुद जस्ता महत्वपूर्ण निकायलाई बलियो बनाएर राख्दा नै मुलुकको हित हुनुका साथै राष्ट्रको छबि पनि उच्च हुन जान्छ। खेलकुदको विकासमा सरकार चनाखो हुने आशाका साथै हालै अलपत्र परेका नेपालीहरूलाई उद्धार स्वदेश ल्याउने महान कार्य गरेकोमा सरकार र प्रधानमन्त्री दुबै धन्यबादका पात्र हुन गएका छन्।

भ्रष्टाचार मौलाएको सबै अल्प विकसित तथा विकासशील मुलुकमा हुन्छ तर यसैसँग साथ साथ हिँडेर मुलुकको हितको लागि काम गर्ने सरकार मात्र वास्तवमा सफल हुनसक्छ। शुभकामना छ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *