ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ काठमाडौं शाखाले आज यहाँ आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
“यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ”, उनले भने । उनले पछिल्लो समय ई–स्पोर्टसप्रति नयाँ पुस्ताको सहभागिता बढेकाले नेविसङ्घ काठमाडौँले यसलाई अगाडि बढाएकोमा धन्यवाद दिए ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेविसङ्घले युवाबीचमा लोकप्रिय पब्जी प्रतियोगिता आयोजना गरेर सराहनीय काम गरेको बताए । उनले पब्जी खेलको महत्व विस्तारै समाजले बुझ्दै गएको उल्लेख गरे ।
कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको नेविसङ्घ काठमाडौंका अध्यक्ष मनिष डङ्गोलले जानकारी दिए ।
Facebook Comment