अमेरिकाको दाबी- उत्तर कोरियाले रुसलाई युद्ध सामग्रीको ठूलो खेप पठायो
काठमाडौं । अमेरिकी अधिकारीहरूले उत्तर कोरियाले रूसलाई ठूलो संख्यामा सैन्य उपकरण पठाएको आरोप लगाएका छन्, जुन युक्रेनमा प्रयोग गरिने छ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उत्तर कोरियाले हालैका साताहरूमा ‘उपकरण र हतियार’ भरिएका एक हजारभन्दा बढी कन्टेनरहरू पठाएको बताएका छन्।
अधिकारीहरूले केही तस्विरहरू पनि जारी गरेका छन्। यी तस्बिरहरू उत्तर कोरियाको नेजिनमा सँगै उभिएका ३०० कन्टेनरका भएको दाबी पनि गरिएको छ ।
गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले रुसको भ्रमण गरेका थिए । यस क्रममा उनले रुससँग सम्भावित सैन्य सहयोगबारे छलफल गरे।
अमेरिकी गुप्तचर एजेन्सीहरूले यी आपूर्तिहरू ट्र्याक गरे। अमेरिकाका अनुसार यी डेलिभरीहरू सेप्टेम्बर ७ र अक्टोबर १ बीचमा भएका थिए।
शुक्रबार पत्रकार सम्मेलनमा किर्बीले भने, “यो उपकरण सामुद्रिक र रेलमार्गबाट दक्षिण-पूर्वी रूसमा पठाइएको छ। यो क्षेत्र युक्रेनको सीमानाबाट करिब २९० किलोमिटर टाढा छ।”
किर्बीले कुन प्रकारको उपकरण र हतियार आपूर्ति गरिएको हो भन्ने खुलासा नगरे पनि अमेरिकाले यसअघि रुसले उत्तर कोरियाबाट रकेट र अन्य हतियार खरिद गरेको आरोप लगाएको थियो।
किर्बीले उत्तर कोरियाबाट सैन्य सामग्रीको यो आपूर्तिले संयुक्त राष्ट्र सुरक्षा परिषद्को नियमको उल्लङ्घन गरेको बताए।
Facebook Comment