इजरायली राजदूतले भने- गाजा कब्जामा इजरायलको कुनै चासो छैन
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूतले इजरायलको “गाजा कब्जामा कुनै चासो नरहेको” बताएका छन्।
सीएनएनसँग कुरा गर्दै गिलाड आर्डर्नले भने, “हामी आफ्नो अस्तित्वको लागि लडिरहेका छौं र हाम्रो उद्देश्य हमासलाई पूर्ण रूपमा नष्ट गर्ने हो, हामी यसका लागि आवश्यक पर्ने सबै गर्नेछौं।”
जब उनलाई सोधियो कि यदि हमास समाप्त भयो भने, गाजामा कसले शासन गर्नेछ ? यसको जवाफमा उनले भने, ‘युद्धपछि के हुन्छ भनेर हामीले सोचेका छैनौँ ।’
आर्डर्नको यो बयान अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि आएको हो । सीबीएस ६० मिनेटको एक अन्तर्वार्तामा, बाइडेनलाई सोधिएको थियो कि उनले “यस समयमा इजरायलको गाजा कब्जालाई समर्थन गर्छन् ?”
जवाफमा, अमेरिकी राष्ट्रपतिले भने कि यो “ठूलो गल्ती” हुनेछ।
बाइडेनले भने, “हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैनन्, र मलाई लाग्छ कि इजरायलले गाजालाई पुन: कब्जा गर्नु गल्ती हुनेछ।”
आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले भने, “यद्यपि, गाजा भित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम हो।”
उनले यो पनि भने कि उनी “इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ भन्नेमा विश्वस्त छन् ।”
बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य हो भनेर बारम्बार भनेका छन्।
एक साता अघि उनले हमासको आक्रमणलाई “सरासर दुष्ट कार्य” भनेर वर्णन गरेका थिए।
Facebook Comment