पर्यटनमन्त्रीद्वारा टिआइएको आन्तरिक टर्मिनल अनुगमन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन् । चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री विमानस्थल पुगेको उनको निजी सचिवालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन् ।
त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन् ।
मन्त्रालयमा भएको छलफलमा हवाई भाडा घटाउन व्यवसायी सहमत भएको मन्त्रालयले जनाएको छ । महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र काठमाडौं बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै जाने सहमति भएको जनाइएको छ ।
विमानस्थलका पसलका व्यापारीले महँगोमा सामान बेचेको यात्रुको गुनासो गरेका थिए । मन्त्री किरातीले सामानमा एमआरपी मूल्य कायम गर्न आग्रह गरेका थिए । उनले आफू अर्को पटक आउँदा यस्तै गुनासो आए कारबाही गर्ने चेतावनी दिए ।रासस
Facebook Comment