इजरायलका गुप्तचर प्रमुखले हमासको हमला आफ्नो असफलता भएको स्वीकार गरे

काठमाडौं । इजरायली सेनाको गुप्तचर विभागका प्रमुख अहारोन हलिभाले हमासको आक्रमण रोक्न असफल भएको स्वीकार गरेका छन् । उनले इजरायली सैनिकलाई लेखेको पत्रमा यो कुरा बताएका हुन् ।
यस पत्रमा उनले खुफिया विभागको असफलताका कारण हमासले यो हमला गर्न सफल भएको लेखेका छन् ।
मेजर जनरल अहारोन हलिभाले लेखे, “मेरो कमाण्डमा रहेको सैन्य खुफिया निर्देशनालयले अक्टोबर ७ मा हमासको आक्रमणको प्रारम्भिक चेतावनी दिन असफल भयो।”
उनले लेखेका छन्, “हामी हाम्रो सबैभन्दा महत्त्वपूर्ण मिशनमा असफल भयौं र सैन्य खुफिया निर्देशनालयको प्रमुखको रूपमा म यो असफलताको पूर्ण जिम्मेवारी लिन्छु।”
हलिभाले अगाडि लेखेका छन् ‘यस आक्रमणको विस्तृत अनुसन्धान हुनेछ तर अहिलेको लागि आइडीएफको एकमात्र लक्ष्य ‘प्रतिक्रिया र जीत’ हो।’
यो पत्रका केही अंश इजरायली सञ्चारमाध्यममा प्रकाशित भएका छन् र समाचार एजेन्सी रोयटर्सले यसको पुष्टि गरेको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा अक्टोबर ७ यता करिब ३ हजार मानिसको ज्यान गएको जनाएको छ ।
योसँगै घाइतेको संख्या १२ हजार ५ सय पुगेको छ ।
योसँगै इजरायल नियन्त्रित वेस्ट बैंकमा ६१ प्यालेस्टाइनीको मृत्यु भएको छ भने १२५० घाइते भएका छन् ।
इजरायलले हालै गाजा शहरमा बसोबास गर्ने मानिसहरूलाई दक्षिणी गाजामा जान आग्रह गरेको थियो।
इजरायलबाट ड्रोनमार्फत पर्चा पनि फालिएको थियो ।
यसपछि गाजा सहरबाट हजारौं मानिस आफ्नो सामान लिएर दक्षिणी गाजातर्फ सरेको देखियो ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म ६ लाख प्यालेस्टाइनी उत्तरी गाजाबाट दक्षिणतर्फ सरेका छन् ।
यस्तो अवस्थामा धेरै मानिसहरु सडकमा बस्न बाध्य छन् । यसबारे संयुक्त राष्ट्रसंघलगायत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
इजरायलले उत्तरी गाजामा पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गरेको छ। इजरायली कारबाहीका कारण गाजामा मानवीय संकटको चर्चा पनि भइरहेको छ ।
तर, इजरायली सेनाले यी दाबीलाई अस्वीकार गर्दै आएको छ ।
Facebook Comment