गाजा अस्पताल आक्रमण : इजरायली प्रधानमन्त्रीको दाबीबारे प्यालेस्टिनी अधिकारी के भन्छन् ?

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको आक्रमणको लागि ‘क्रूर आतंककारीहरू’ लाई दोष दिएका छन्। यद्यपी संयुक्त राष्ट्र संघका लागि प्यालेस्टिनी अधिकारी रियाद मन्सुरले उनले झुट बोलेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चरमपन्थी संगठन हमासले ‘अल अहली अस्पताल’मा भएको हमलाको लागि इजरायललाई दोष दिइरहेको छ भने नेतान्याहुले यो दाबीलाई अस्वीकार गरिरहेका छन् ।
संयुक्त राष्ट्र संघका प्यालेस्टिनी अधिकारी रियाद मन्सुरले पत्रकारको प्रश्नको जवाफ दिँदै नेतान्याहुलाई झुटो भनेका छन् ।
प्रश्नमा मन्सुरलाई सोधिएको थियो कि नेतान्याहुले यो हमलाको लागि ‘इस्लामिक जिहाद’ जिम्मेवार रहेको गुप्तचर सूचनाले खुलासा गरेको दाबी गरिरहेका छन्।
यसबारे मन्सुरले भने, “उनीहरू झूट बोलिरहेका छन्। उनीहरूको डिजिटल प्रवक्ताले ट्वीट गरेका थिए कि इजरायलले अस्पताल नजिकै हमासको आधार रहेको सोचेर यो हमला गरेको हो । त्यसपछि ट्विट हटाइयो। हामीसँग त्यो ट्वीटको प्रतिलिपि छ। अब तिनीहरूले प्यालेस्टिनीहरूलाई दोष दिन कथा परिवर्तन गरे। इजरायली सेनाका प्रवक्ताले अस्पताल खाली गर्न आग्रह गर्दै एक विज्ञप्ति दिए । तिनीहरूको मनसाय अस्पताल खाली गरिनुपर्छ वा तिनीहरूले आक्रमण गर्नेछन् भन्ने थियो । यो अपराधको लागि उनीहरु जिम्मेवार छन्।”
गाजाको स्वास्थ्य विभागले अस्पतालमा इजरायलले गरेको आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।
इजरायलले यस हमलामा आफ्नो कुनै पनि भूमिका अस्वीकार गर्दै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’को रकेटको परिणाम भएको बताएको छ । यस चरमपन्थी संगठनले पनि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ।
Facebook Comment