दशैं दर्शन हो कि दशा ? 

हरिप्रसाद सोडारी
३ कार्तिक २०८० १९:३०

धार्मिक अनुष्ठानलाई आवश्यक पर्ने कुश भित्र्याएर, घरको सुरक्षार्थ नागपूजा, जीवनको रथार्थ जनै र रक्षाबन्धन लगाई १६ श्राद्धमा पितृहरुलाई प्रसन्न बनाएपछि दशैं मनाइन्छ।

हरेक पर्वले हामीलाई ऊर्जाशील, शक्तिशाली, प्रकृति प्रेमी मात्र बनाउँदैन इतिहासलाई रक्षा गर्ने, पुर्खालाई स्मरण गर्ने, गौरव र गर्वलाई पुनरावृत्ति गर्ने सौभाग्य प्रदान गर्दछ। प्राचीनकालदेखि विभिन्न कोटहरुमा देवीको पूजा गरी प्रसाद ग्रहण गर्ने, आशीर्वाद लिने र दिने पर्वको रुपमा दशैं मनाइन्थ्यो।

दुर्गासप्तशती ग्रन्थलाई नियमित रुपमा पाठ गरेर दशैंमा देवी, प्रकृति र अन्तारिक शक्तिलाई जनाउने साधना गरिन्छ। चण्डी पुस्तक अथाह तन्त्रको भण्डार भएकाले कवच पाठद्वारा जिउ, परिवार, समाज र राष्ट्रको सुरक्षा गरिन्छ। अर्गलास्तोत्रद्वारा बाह्य आक्रमण एवं अवरोधलाई हटाइन्छ।

कीलक पाठ गरी मनलाई स्थिर, साधनालाई फलीभूत, उपासनालाई सार्थक बनाइन्छ। दुर्गासप्तशती पुस्तकलाई चण्डीका नामले पनि चिनिन्छ। यो तन्त्रको मात्र होइन दार्शनकि ग्रन्थ पनि हो भन्ने तथ्यलाई अब पनि उजागर गरिने भने पुर्खामाथि अन्याय सन्ततिप्रति धोक हुनेछ।

१३ अध्यायमा विभाजित, सात सय श्लोक भएको दुर्गासप्तशती ग्रन्थलाई मार्कण्डेपुराणबाट साभार गरिएको हो। नेपाल र भारतमा प्रचलित देवीमन्दिरमा यो ग्रन्थलाई विशेष रुपले आश्विनशुक्ल प्रतिपदादेखि आश्विनशुक्ल नवमीसम्म विधिपूर्वक पाठ गरिन्छ।

नेपाल देवभूमि, ऋषिभूमि, आर्यभूमि भएकाले यहाँका शासक जोगी वा जोगी स्वभावको हुनुपर्छ। जोगीले जोगाउँछ, जोगिन्छ र जगाउँछ। केही दशक यता शासकहरु शुम्भ, निशुम्भ बन्दै गएर आफ्नो कर्तव्य भुल्दा हामी सुनको कचौरा लिएर भिक्षाटनमा निस्कनुपर्ने अवस्थामा पुगेका छौं।

नेपालकै कालिञ्चोकमा दुर्गादेवीले महिषासुरलाई बध गरेका कारण यस पुस्तकले हाम्रै भूगोलका घटनालाई बोलिरहेको पाइन्छ। देवीले नै शुम्भ, निशुम्भ, रक्तबीजलगायतका कालजयी असुरहरुलाई शस्त्र, शास्त्र र दैवीशक्तिको बलले पराजित गरेको चण्डीपुस्तकले बताउँछ।

नारीमा कति शक्ति हुन्छ? महिलाले के गर्न सक्छन्? स्त्रीहरुको सामथ्र्य कस्तो हुन्छ? भन्ने जानकारी यस ग्रन्थले दिन्छ? आरक्षण र संरक्षणमा फुरुङ हुनेहरुले अध्ययन गर्नै पर्ने पुस्तकको नाम हो दुर्गासप्तशती।

आर्यावर्तको प्रशासनमा, हिमवत्खण्डको राष्ट्रिय जीवनमा, नेपालको राजनीतिमा आदिमकालदेखि महिलाले के जिम्मेवारीलाई? कसरी पुरा गरेका थिए भन्ने सूचना यही पुस्तकले बताउँछ। पश्चिमाको सिको गर्ने, विदेशीको अनुसरण गर्ने, बहकावमा रुमलिनेहरुले नेपाली ऋषिले लेखेको यो पुस्तकलाई अध्ययन गर्न आवश्यक छ।

सुरथ नाम गरेका शक्तिशाली राजाले अचानक कमजोर राजाबाट पराजयको चोट पाउँछन् र उनी जंगलमा डुल्न थाल्छन्। यही समयमा उनको भेट समाधि नाम गरेको वैश्य (व्यापारी) जो परिवारबाट अपमानित भई हिँडेको थियो उसैसँग हुन्छ।

उनीहरु दुबैले मेधा नामका ऋषिसँग आफूहरुले भोग्नुपरेको पीडालाई व्यक्त गर्छन्। यी तीन पात्रबीचको संवादले दुर्गासप्तशतीलाई दार्शनिक ग्रन्थ बनाइदिएको छ। यो ग्रन्थ तन्त्रले भरिएको छ। हरेक श्लोकहरुमा विभिन्न प्रयोजनका लागि महनीय मन्त्र रहेका छन्।

हाम्रा शासकहरुले राज्यमा दुभिक्ष हुँदा, बाह्य आक्रमणलाई रोक्न, महामारीबाट जोगिन यसको पाठ गर्दथे। कतिपय अवस्थामा सम्पुट पाठ गरी अनेकौँ लाभहरु लिने गर्दथे।

धार्मिक ग्रन्थहरु पूज्नका लागि मात्र होइन बुझ्न पनि उत्तिकै महत्वपूर्ण छ। उपनिषद्ले भन्दछ-परमात्माबाट पहिले आकाशको सृष्टि भयो, आकाशबाट वायु, वायुबाट तेज (अग्नि)को, अग्निबाट पानीको, पानीबाट पृथ्वीको, पृथ्वीबाट वनस्पतिको, वनस्पति र औषधिबाट प्राणीहरूको सृष्टि भयो। वनस्पति भनेकै अन्न हो, जसबाट प्राणीले भोजन र आश्रय प्राप्त गर्दछन्।

वैज्ञानिकले भनेको सूर्य र वैदिक शास्त्रले बताएको अग्नि एउटै तत्व हो। तातो पृथ्वी वाष्पीकरण हुँदै गएर पानी प¥यो भन्ने वैज्ञानिकहरूको वर्णन र तैत्तिरीयोपनिषद्को व्याख्या मिल्छ।

यसलाई अन्तार्राष्ट्रियकरण गर्न सकेको भए हाम्रो भूमिमा अनुसन्धानको फूल फुलाउन, विज्ञानको मूल फुटाउन, ज्ञानको जग बसाउन, प्रविधिको पाउला पलाउन सकिन्थ्यो।

यथोर्णनाभिः सृजते गृह्णते च यथा पृथिव्यामोषधयः सम्भवन्ति।
यथा सतः पुरुषात्केशलोमानि तथाक्षरात्सम्भवतीह विश्वम्।।
-मुण्डकोपनिषद् (१। १।७)

अर्थात्, “जसरी माकुराले जालो बुन्दछ र निल्दछ, त्यस्तै पृथ्वीमा विभिन्न औषधिहरू उत्पन्न हुन्छन्, जसरी जीवित मनुष्यमा कपाल र रौँ उत्पन्न हुन्छन्, त्यसैगरी सृष्टिमा परब्रम्हबाट सबै उत्पन्न हुन्छन्।”

शास्त्रका कूटार्थ, विषय, प्रसंग, प्रतीकात्मक, पारिभाषिक, परिस्थितिजन्य ज्ञान नहुँदा अर्थको अनर्थ, धर्मका नाममा पाप हुन सक्छ, मर्महरू बाङ्गिन्छन्, दर्शनहरू चियागफ हुन सक्छन्।

वैदिक शास्त्रलाई बुझ्न गुरुको सहयोग, विषयगत अध्ययन, साधनाप्रतिको लगाव, संस्कृतभाषाको ज्ञान परमावश्यक पर्दछ। शास्त्रको वास्तविकता बुझ्न अनुवादक, व्याख्याता, भास्यकार आदिको भावमा पूर्णरूपले भर गर्न हुँदैन।

उदाहरणका रूपमा मार्कण्डेयपुराणको दुर्गासप्तशतीमा उल्लेख गरिएको प्रथम अध्यायको कथा प्रसंगलाई लिन सकिन्छ। शेषनागमाथि योगनिन्द्रामा मस्त रहेका नारायणको नाभीमा उम्रिएको कमलमा बसेका ब्रम्हालाई मधु र कैटभ नामका दुई राक्षसहरूले युद्धका लागि चुनौती दिन्छन्।

उनीहरू विष्णुको कानेगुजीबाट जन्मिएका थिए। शेषको अर्थ परमात्मा वा संसार नाशपछि रहने तत्व हुन्छ। परमात्मा चिन्तनमा मग्न विष्णुको नाभीबाट उत्पन्न कमलमाथि ब्रम्हाजी बसेका छन्। शरीरको केन्द्र भाग नाभी (नाइटो) हो।

सत्व, रज, तममध्ये रजो गुण बीचमा पर्दछ। यसकारण ब्रम्हाजीलाई रजो गुणको प्रतीक मानिन्छ। मधु र कैटभले ब्रम्हाजीलाई युद्धमा आउन चुनौती दिएपछि उनले लक्ष्मीको स्तुति गरी विष्णुलाई जगाउन अनुरोध गर्दछन्।

ब्रम्हाको रक्षार्थ देवीले विष्णुलाई जगाउँछिन्। देवीको अर्थ प्रकृति हो विष्णु पुरुष हुन्। पुरुष र प्रकृति नभई सृष्टि सम्भव छैन। प्राणीका पालनकर्ता (विष्णु) र प्रकृतिको संयोजनपछि ब्रम्हाले सृष्टि गर्दछन् भन्ने यसको प्रतीकात्मक अर्थ हो।

भगवान् विष्णुले मधु र कैटभसँग पाँच हजार वर्षसम्म युद्ध गर्दा परिणाम हात नलागेपछि बुद्धिबलद्वारा जित्नुपर्ने निष्कर्ष निकाल्नुभयो र वरदान माग भन्दा राक्षसले “तिमी नै माग हामी दिन्छौँ” भने। यही मौका छोपी विष्णुले “तिमीहरूलाई मार्न पाऊँ” भन्नुभयो।

राक्षसले पानीमा होइन अन्यत्र मार भनी अत्तो थापे। पृथ्वी जलमग्न भएकाले विष्णुले राक्षसहरूलाई काखमा राखी संसारबाट बिदा दिनुभयो। उनीहरूको रगतबाट पानी, मासु र हाडबाट पहाड, माटो, ढंगा आदिको निर्माण भएपछि ब्रम्हाजीले सृष्टिको प्रारम्भ गर्नुभयो।

ढुंगामा हाडको विशेषता देखिनुपर्ने, माटोबाट मासुको गन्ध आउनुपर्ने हो। यसको प्रतीकात्मक अर्थ हो-परमात्मालाई सृष्टि गर्ने इच्छा भएपछि मधु (मोह), कैटभ(माया)ले ब्रम्हा(सृष्टिकर्ता)लाई उठाए।

ब्रम्हाले लक्ष्मी (प्रकृति)को सहयोग लिएर विष्णु(पुरुष)लाई जगाए। विष्णुले पृथ्वी, पानी आदिमा व्यापक भएर सृष्टिलाई निरन्तरता दिनुभयो। उपनिषद्मा अद्भ्यः पृथ्वी अर्थात् पानीबाट पृथ्वी बनेको वर्णन छ। संसारको अस्तित्व एवं प्रकृतिको कार्यक्षमता पानी र जमिनमा छ। यिनीहरूमा क्रियाशक्ति भएको बुझाउन मधु र कैटभबाट बनेको बताइएको हो।

ब्रम्हा, विष्णु र महादेवसहित उहाँका शक्तिबाट संसार चलेको छ। ब्रम्हा नभई प्राणी उत्पन्न हुँदैन, विष्णु नभई पालन हुँदैन, महादेव नभई विनाश हुँदैन। प्राणी उत्पन्न नभई पालनको आवश्यकता हुँदैन।

यसकारण मधु र कैटभले पहिलो आक्रमणको केन्द्रबिन्दु ब्रम्हालाई बनाए। उन्मत्त राक्षसले युद्ध चाहेका भए त विष्णुलाई पो उठाउनुपर्ने हो, लक्ष्मीमाथि हातपात गर्नुपर्ने हो। विष्णुबाट उत्पन्न भएकाले प्रथम आक्रमण उनलाई बनाएनन् ब्रम्हामाथि जाइ लागे।

हरेक प्राणीले उन्माद्वश परमात्मालाई भुल्छ, प्रकृतिलाई चुनौती दिन्छ, अभिभावकलाई दुःख दिन्छ अन्ततः आफैँ विनाशको मुखमा धकेलिन्छ भन्ने यसको सन्देश हो। अर्कोतर्फ यस कथाले संसारका प्रत्येक प्राणीमा मधु र कैटभको आसुरीभाव छ भनेर देखाउन खोजेको छ।

मधुको अर्थ देखावटी राम्रो भित्रभित्र कुटनीति खेल्ने, थाहै नपाईकन तहसनसह बनाउन खोज्ने प्रवृत्तिलाई बुझाउँछ। कैटभचाहिँ कपटपूर्ण आदत वा व्यवहारको प्रतीक हो।

अहिलेका प्रत्येक मानिसहरूमा धेरथोर मधु र कैटभका स्वभाव पाइन्छन्, उनीहरू शान्त बस्दैनन्। ब्रम्हाजीजस्ता ध्यानमग्न वा आफ्ना कार्यमा लागेकालाई समेत अनावश्यक रूपमा दुःख दिन्छन्।

विष्णु र राक्षसहरूबीच पाँच हजार वर्षसम्म युद्ध भयो अर्थात् जीवात्माको उत्पत्ति पाञ्चभौतिकतत्व (जल, तेज, वायु, आकाश, पृथ्वी)बाट भएको विषयलाई यसले पुष्टि गरेको छ।

मुण्डकोपनिषद्मा भनिएको छ- ब्रम्हा देवानां प्रथमः संवभूव विश्वस्य कर्ता अर्थात् सबै देवताहरूमा विश्वकर्ता ब्रम्हा पहिले उत्पन्न हुनुभयो। विष्णु योगनिद्रामा हुँदा नै ब्रम्हाजी जागिसक्नुभएको थियो। यसबाट मुक्ति पाउन ब्रम्हाजीजस्तो कमल (ज्ञान) माथि बस्नुपर्छ वा विष्णुजस्तै योगनिद्रामा मग्न हुनुपर्छ।

दुर्गासप्तशतीका अनुसार देवीले सिंहमाथि बसेर भैंसीमा चढेर आएका निशुम्भ र शुम्भलाई मार्छिन्। सिंहको अर्थ इन्द्रीय विजयी, आत्मरक्षक, संरक्षक हुन्छ। यसकारण राजाका आसनलाई सिंहासन भनिन्छ।

देवीको अर्थ प्रकृति हो जो सिंहमा चढेर सबैलाई आरक्षण र संरक्षण गर्ने तथ्यलाई बताउँछिन्। भैंसीलाई शनि ग्रहको विम्ब मानिन्छ। शनिग्रह ढलाई, पीडा, असन्तोषको सूचक हो जसमाथि बसेका राक्षसलाई मारेर अन्यायकारी जति नै बलियो भए पनि प्रकृतिले त्यसलाई नियन्त्रण गर्छिन् भन्ने जानकारी दिन खोजेको हो।

नेपाल देवभूमि, ऋषिभूमि, आर्यभूमि भएकाले यहाँका शासक जोगी वा जोगी स्वभावको हुनुपर्छ। जोगीले जोगाउँछ, जोगिन्छ र जगाउँछ। केही दशक यता शासकहरु शुम्भ, निशुम्भ बन्दै गएर आफ्नो कर्तव्य भुल्दा हामी सुनको कचौरा लिएर भिक्षाटनमा निस्कनुपर्ने अवस्थामा पुगेका छौं।

चण्डीपुस्तक परिवार, समाज र राष्ट्रलाई नै बाटो देखाउने, लक्ष्यममा पुर्‍याउने ग्रन्थ भएकाले नौ दिनसम्म आफूलाई आवश्यक पर्ने ज्ञान लिन पनि अध्ययन गर्न आवश्यक छ।

मन्दिरमा पशु चढाउने पर्व होइन हरेक कोटका देवीबाट शक्ति लिने पर्व हो दशैं। खानमात्र होइन खोज्ने र बुझ्ने चाड हो दशैं। भाइहरु मिल्ने, समाज जुट्ने, आफन्त भेट्ने पर्व हो दशैं। दशैंलाई पश्चिमाको बखानअनुरुप होइन पुर्खाको दर्शनअनुसार मनाउनुपर्छ।

पुराणभित्रका प्रतीकात्मक कथा र रहस्यलाई त्यही भाव एवं भाषामा बुझ्नुपर्छ। दुर्गासप्तशतीले भनेझैँ मधु र कैटभ, शुम्भ र निशुम्भ, महिषासुर र माटो भुल्नेलाई यो ग्रन्थ आँखा र आधार भएकाले हरेक नेपालीले पुज्न, बुझ्न र पढ्न आवश्यक छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *