इतिहास पठनपाठन : हिजो र आज

प्रा. डा. विष्णु सापकोटा
४ कार्तिक २०८० ७:५१

इतिहास केन्द्रीय विभागको इतिहास त्रिभुवन विश्वविद्यालयको स्थापन सँगै जोडिएको छ। वि.सं. २०१६ सालमा पटना विश्वविद्यालयद्वारा सम्बन्धन लिई स्व. राजा त्रिभुवनको जन्म जयन्तिको अवसर पारेर त्रिभुवन विश्वविद्यालय ऐनद्वारा त्रिपुरेश्वरमा स्थापित यस विश्वविद्यालयले आरम्भका दिनमा नै इतिहास विषयको स्नातकोत्तर तहको अध्ययन शुरु गरिएको थियो।

स्थापनाकालदेखि अहिलेसम्ममा इतिहास विभागले प्राध्यापन, जर्नल प्रकाशन, गोष्ठी, सेमिनार, अध्ययन अनुसन्धान तथा अन्य विभिन्न माध्यमले इतिहास विषयको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको सर्वविदितै छ।

वास्तवमा इतिहास विषय भनेकै विगत र वर्तमानको घटनाको सत्यतथ्य अनुसन्धानका विभिन्न माध्यमहरु प्रयोग गरी गरिने लेखाजोखा समेत हो भन्दा फरक पर्दैन। सत्यतथ्य प्रणामका आधारमा राष्ट्रको जीवन्त इतिहास तयार पार्नमा इतिहास विषयको महत्वपूर्ण स्थान रहेको छ।

प्रारम्भमा दिनमा विश्वविद्यालयका अन्य विषयको दाँजोमा इतिहासको विषयबस्तु समिति थियो। अध्ययन गर्ने विद्यार्थीको संख्या पनि न्यून थियो। खास गरी राज्यमा सबै तहका विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थी नै कम थिए।

तर समयको क्रम संगै इतिहास विषयको अध्ययन अध्यापनमा अनुसन्धान गर्ने र स्थलगत भ्रमण गर्ने कुरालाई समावेश गरेर विद्यार्थीहरुले पढ्ने पाठ्यक्रममा परिमार्जन गर्दै जानु पर्ने आवश्यकता देखिँदै गयो।

विश्वविद्यालयले पनि वि.सं. २०३० सालदेखि सेमेष्टर प्रणाली लागु गरी सो प्रण्णली २०३६ सालसम्म चलायो। सोही अवधिमा यस विषयको पाठ्यक्रमलाई पनि परिमार्जन गर्न थालियो। विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा शुरुका बर्षहरुमा शोधपत्र लेखन कार्य थिएन। शोधपत्रलाई ऐच्छिक विषयमा राखिएको थियो। तर पछि गएर शोधपत्र लेखन कार्य अनिवार्य गरियो।

पठ्यक्रममा पनि नेपाली इतिहास विषयलाई विभिन्न भागमा विभाजन गरी आर्थिक इतिहास, सामािजक एवं प्रशासनिक इतिहास, राजनैनितक इतिहास, धार्मिक र सांस्कृतिक इतिहास, कुटनैतिक इतिहास, हिमाली राज्यको इतिहास, इतिहास लेखन, रिसर्च मेथोलोजी, दक्षिण एशियाई देशको इतिहास, यूरोपको इतिहास, आधुनिक भारतको इतिहास, प्रशासनिक सामाजिक इतिहास लगायतका विषयको अध्ययन आरम्भ गरियो।

प्रारम्भमा इतिहास विभागमा स्नातकोत्तर तहमात्र पूरा गरेकाहरुवाट प्राध्यापन प्रारम्भ भएको हो। पछिाडिको दशकमा गएर इतिहास विभागको प्रयास र स्वयं प्राध्यापकहरुले नै नेपालको इतिहासका विविध विषयमा विद्यावारिधि गर्न थाले। जुनवेला नेपालबाट विद्यावारिधि गर्ने व्यवस्था नभएकोले शुरुको अवस्थामा भारतको विभिन्न विश्वविद्यालयवाट विभिन्न विषयमा प्राध्यापकहरुले विद्यावारिधिको उपाधि हासिल गर्नुभयो।

इतिहास विषयको अध्ययनले मानिसलाई विगतको विश्व जगतको अवस्था बुझि बर्तमानमा जीवन निर्वाहदेखि राज्यसंचालनका प्रक्रियाहरुसम्ममा आफ्नो धारणा बनाउन र बनाएको धारणाका आधारमा चल्न अभिप्ररणा दिन्छ।

त्रि.वि. इतिहास विभागमा आरम्भका दिनमा रामचन्द्रबहादुर सिंह (उपकुलपति), तुलसीराम बैद्य, त्रिरत्न मानन्धर, कृष्णकान्त अधिकारी, कृष्णबहादुर थापा, प्रेमरमण उप्रेती, राजाराम सुवेदी, निरन्जन शर्मा, तीर्थप्रसाद मिश्र, विजय मानन्धर, शंकर थापा, घनश्याम भट्टराई, राजकुमार पोखरेल जस्ता प्राध्यापकहरुले आ-आफ्नो विषयमा दक्षता हाँसिल गरी ती विषयमा थुप्रै अनुसन्धानमुलक पुस्तक प्रकाशन गरिसक्नु भएको छ। उहाँहरुका ती अनुसन्धानमुलक पुस्तक देशको इतिहास लेखनमा महत्वपूर्ण दस्तावेजका रुपमा रहेका छन्।

वि.सं. २०४८ सालबाट इतिहास अध्ययन गर्ने विद्यार्थीहरु र अध्यापन गराउने प्राध्यापकहरुको संख्या पनि बढ्दै गएको थियो। इतिहास विषयको अध्ययनलाई अनुसन्धानमुखी, विश्लेषणयुक्त विषयको रुपमा अध्ययन गर्न थालियो।

इतिहास विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या वि.सं. २०४८ पश्चात वि.सं. २०५२ मा ५७ जना थिए भने वि.सं. २०६७ र वि.सं. २०६८ मा ६० जना पुगेको थियो। हालका बर्ष २०७९÷०८० मा विद्यार्थी संख्या स्नातककोत्तर तह र दर्शनाचार्यमा गरी ५२ जना विद्यार्थी अध्ययनरत छन्।

इतिहास विभागका प्राध्यापकहरुले क्षेत्रीय इतिहास लेखन, जातजाति, चाडपर्व, प्रशासनिक, कुटनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक इतिहास, यूरोप तथा फ्रान्स र दक्षिण एशिया र वैदेशिक सम्बन्ध तथा स्थानीय तहको इतिहास लेख्नु भएको छ।

नेपालको विभिन्न राजनीतिक पार्टीहरु, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत अन्य राजनीतिक पार्टीहरुको इतिहास र राजनीतिक आन्दोलनहरुको इतिहास लेख्नु भएको छ। विभिन्न जातजाति, क्षेत्रीय इतिहास तथा स्थानीय पहिचानसम्बन्धी विषयहरुमा इतिहास विभागका प्राध्यापकहरुले कलम चलाउनु भएको छ।

इतिहास विभागबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धानात्मक लेख लेख्ने तथा अन्र्तराष्ट्रिय क्षेत्रमा इतिहासलाई चिनाउने काम विभागका प्राध्यापकहरुबाट भएको छ।

विभागका प्राध्यापकहरुले हालसम्म पनि कुटनैतिक र ट्रान्सहिमालय, भोट, चीन, तिब्बत, सिक्किम, भारत, भुटान तथा दक्षिण एशियाका राष्ट्रको इतिहास लेखन तथा दक्षिण एशियामा नेपालको इतिहसको पहिचान बढाउने काम भएको छ। इतिहास विभागको आफ्ना पहलले वेलावेलामा राष्ट्रको महत्वपूर्ण समयमा उठने सीमा विवाद, धार्मिक, साँस्कृतिक विवाद एवं अनुसन्धानका विभिन्न फाँटमा निरन्तर काम भइरहेको छ।

अतः बेलाबेलामा इतिहास विषयको र विभागको बारेमा पूर्ण जानकारी नलिई पत्रपत्रिकामा भेटेका खबर र बजारी हल्लाका आधारमा इतिहास पढ्ने विद्यार्थी संख्या कम भएको र नेतृत्वकर्ता योग्य नभएको भन्ने भ्रामक समाचार सम्प्रेशण गर्ने मित्रहरुले एक पटक त्रि.वि. इतिहास विभागमा आएर बुझेरमात्र लेख्ने या बोल्ने गरिदिए राम्रो हुने थियो।

पाठकलाई दिग्भ्रमित गर्ने काम जो मित्रबाट भयो त्यसलाई विभागले गम्भिरतापूर्वक लिएको छ। सत्यतथ्य बुझ्ने निकायहरु हुँदाहुँदै सरोकारवालासँग सम्पर्क नै नगरी लेखेको समाचारले गलत सन्देश दिने भएकोले यसतर्फ पनि मिडियाकर्मीहरुले ध्यानदिन जरुरी भइसकेको छ।

देशको हावापानी सुहाउँदो राष्ट्रले पहिचान बोकेको इतिहासलाई इतिहास विभाग जीवन्त राख्न चाहन्छ। साथै इतिहास विभागले आफ्ना विभागबाट दिक्षीत विद्यार्थीलाई राष्ट्रिय जीवनको महत्वपूर्ण र सफलताका साथ काम गर्न अभिप्रेरित गरिरहेको छ।

इतिहासको मर्यादित खोज गर्न, वैज्ञानिक अध्ययन एवं अनुसन्धानमुखी काम गर्न तथा प्राज्ञिक उन्नयन गर्न समयसापेक्ष तथा २१ औं शताव्दीको इतिहास बनाउन इतिहास विभाग आफैं लागि परेको छ।

हालै आएर विभागमा गठन भएका अनुसनधान समिति, पाठ्यक्रम निर्माण समितिले इतिहासका महत्वपूर्ण दस्तावेजको खोजी गरिरहेको छ। विद्यार्थीहरुमा विभिन्न ऐतिहासिक एवं पर्यटकीय स्थल तथा पर्यटन विषयको जानकारी गराउन पाठ्यक्रममा समेत समावेश गरी समय समयमा गोष्ठी र सेमिनारहरु, केन्द्रीय स्तर, जिल्ला र स्थानीय तहमा गर्दै आएको छ।

हालको परिमार्जित पाठ्यक्रम प्रसिद्ध विश्वविद्यालय र अमेरिका तथा बेलायतका विश्व विद्यालयका पाठ्यक्रमसंग मिल्दोजुल्दो र हालसम्मका सबै क्षेत्रका विषयबस्तु समावेश गरी तयार पारिँदैछ।

सेमेष्टर तहमा दर्शनाचार्य तथा विद्यावारिधि एवं स्नातकोत्तर तहमा अनुसन्धानमुखी पाठ्यक्रम निर्माण भई त्यही आधारमा अनुसन्धानमूलक जर्नल (भ्वाइस अफ हिस्ट्री ) एवं व्यवस्थित पुस्तकालय र हरेक विषयमा अंग्रेजी माध्यमबाट अध्यापन गरी इतिहास विषयको पढाईलाई विश्वसामु परिचित गराउन खोजिएको छ।

इतिहास विषयको अध्ययनले मानिसलाई विगतको विश्व जगतको अवस्था बुझि बर्तमानमा जीवन निर्वाहदेखि राज्यसंचालनका प्रक्रियाहरुसम्ममा आफ्नो धारणा बनाउन र बनाएको धारणाका आधारमा चल्न अभिप्ररणा दिन्छ।

राष्ट्रिय पहिचानका सवालहरु बुझ्न, त्यसलाई सत्यतथ्यको आधारमा प्रचार प्रसार गरेर विश्वमा नेपाली राष्ट्रिय पहिचान बढाउन समेत इतिहासको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारी तथा गैरसरकारी सबै निकायहरुलाई नेपालको राष्ट्रिय इतिहास लेखन र प्रवर्धनका लागि अध्ययन, अनुसन्धान गर्न होस्टेमा हैंसे गरेर इतिहास विभागसँग हातेमालो गरेर अघि बढ्न हार्दिक अनुरोध गर्दछौं।

विभागीय प्रमुख इतिहास केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *