अमेरिकामा दशैंको टिका किन नेपालमा भन्दा पहिले ?

शिव हरि नेपाल / लेखनाथ भण्डारी
४ कार्तिक २०८० ९:५०

नेपाल र नेपाल बाहिर विशेषतः पश्चिमी गोलार्द्धमा नेपाली सनातन पर्वहरु छुट्टा छुट्टै बार र गते पर्न पनि सक्छन्। कुनै तिथि नेपालमा एकदिन पछि पर्न सक्छ भने अमेरिकामा एकदिन दिन पहिले पनि पर्न सक्छ।

यस्तो किन र कसरी हुन्छ? यो लेखमा वि.सं.२०८० (सन् २०२३) सालको बडा दशैंलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाको दशमीको तिथि वा साइतका बारेमा चर्चा गर्न प्रयास गरिएको छ।

हाम्रा सनातन चाड पर्वहरु चन्द्रमास अनुसारको तिथिहरूमा मनाइन्छ। ज्योतिष शास्त्रका आधारमा ज्योतिषहरुले बर्षौंपछि भविष्यमा आउने पृथ्वीका विभिन्न स्थान र ती देशहरूमा लाग्ने चन्द्र ग्रहण र सूर्य ग्रहणलगायत अन्य तिथिहरू पनि पहिले नै यकिन गरेर पात्रो बनाउँछन्।

समयको अन्तर वा देशान्तर फरक पर्ने हुनाले कुनै पनि तिथि पूर्वी र पश्चिमी गोलार्द्धमा फरक पर्न सक्छ। यही सालको विजया दशमी अमेरिकामा २३ अक्टोबर (सन् २०२३) सोमबार पर्छ भने नेपालमा त्यसको भोलिपल्ट अक्टोबर २४ मंगलबार ( ७ कार्तिक वि.सं.२०८०) पर्छ।

यो तिथि अमेरिकामा भन्दा नेपालमा एक दिन ढिलो वा पछिल्लो बार किन पर्‍याे त? यो सजिलोगरी बुझ्न चन्द्रमाको गति र तिथिको तथ्यहरु अध्ययन गर्नुपर्दछ।

दिन र रात वा गते र बार २४ घण्टाका मात्र हुन्छन्। सबै तिथि २४ घण्टाको हुँदैनन्। तिथिहरू साधारणतया २१ देखि २७ घण्टा सम्मका हुन्छन्। तिथिहरू रात वा दिनको कुनैबेला पनि सुरु हुन सक्छन्। गते वा बार शुरू हुने समय सूर्योदय र सूर्यास्तसँग सम्बन्धित छ।

बडा दशैंलगायतका परम्परागत चाडपर्वहरू कुन दिन मनाउने भनेर तिथिका आधारमा साइत हेर्ने चलन छ। ज्योतिष शास्त्रअनुसार तिथि चन्द्रमाको गतिको आधारमा गणना हुन्छ। तर तिथि भित्र पर्ने साइतको निर्धारण भने सूर्योदयसँग सम्बन्धति छ। यो काम सुक्ष्मतितः ज्योतिष विज्ञानले गर्छ।

कुनैपनि तिथिहरूको शुरुवात र अन्त्य पृथ्वीको सबै भागमा चन्द्रमाको कलाअनुसार एकैपटक हुन्छ। तर दिन र रात वा बार र गते भने सूर्यअनुसार फरक हुनेगर्छ। यो दिन र रात एकप्रकारको पृथ्वीको आफ्नै छायाँ मात्र हो।

समयको मानकको गणना गर्न ग्रीनवीच रेखामा आधारित समय मानव जीवनको व्यावहारिक पक्षलाई सहयोग गर्न वा दिन र रातलाई छुट्याउन कल्पना गरिएको रेखा मात्र हो।

विजया दशमीको टीकाको साइत सूर्योदयपछिको उत्तम समयलाई घड़ी पला आदिको गणनाको आधारमा जुराइन्छ। कुनै दिन अपरान्हपछि (दिउँसोको १२ बजेपछि) तिथि शुरू भएको अवस्थामा भने अर्को दिनको सूर्योदय पछिको समय भित्र साइत निकालिन्छ।

सबै तिथिहरूको समयावधिले दुवै गोलार्द्धको सूर्योदयलाई छुने भएकोले पश्चिममा अघिल्लो दिन वा पूर्वमा पछिल्लो दिन पर्नसक्छ। यस्तो सधैं पनि हुन्न तर पनि भइरहने प्रकृया पनि हो।

जुन साल नेपालमा अपरान्हपछि दशमी शुरू हुन्छ त्यो साल अमेरिकामा बिहानको सूर्योदयपछिको साइतमा टिका लगाउनु ज्योतिष शास्त्रसम्मतः हुन्छ। र,त्यो सालको दशैं अमेरिकामा नेपालमाभन्दा अघिल्लो बार पर्छ। यो साल वि.सं.२०८० ( सन् २०२३) मा सालमा भएको ठ्याक्कै यस्तै हो।

नेपालमा अपरान्हमा शुरु भएको तिथिको साइत जुराइएको अर्को दिन अमेरिकामा सूर्योदयको समयसम्म सो तिथि नरहन वा सूर्योदयको समय अगावै सकिन सक्छ।

यो सालको विजया दशमीको सुरुवात नेपालमा काठमाण्डौको समयअनुसार कार्तिक ६ गते सोमवार (अक्टोबर २३) दिउँसो ३.११ बजे शुरु हुन्छ। तर यो अपरान्हको समय भएकोले ज्योतिष शास्त्रअनुसार दशैंको टिका वा अन्य शुभ कार्यको साइत नजुर्ने भएकोले नेपालमा भोलिपल्टको सूर्योदयको समयको साइत निकालिएको हो।

नेपालमा सोमबार बिहान सूर्योदयको समयमा अघिल्लो दिनबाट शुरु भएको नवमी तिथिको अंश बाँकी भएकोले त्यो दिनभर नै नवमी मानिन्छ। तर अमेरिकाको वाशिङ्टन डीसी वा न्यूयोर्क (अमेरिकी पूर्वी समय) मा अक्टोबर २३ तारिख सोमबार बिहान ४.२६ बजे नै दशमी तिथि शुरू हुन्छ।

नेपालमा त्यो समय भनेको बिहान नवमी शुरु भएको बेलुकी वा अपरान्हपछिको दशमी शुरुको समय हो। त्यसैले भोलिपल्ट सूर्योदयपछि बाँकी हुने दशमीको अंशलाई आधार मानेर शुभकार्य गरिने हुँदा मंगलबार बाँकी रहने दशमी भित्र साइत निकालेर नेपालमा दशमीको टिकाको साइत जुरेको नेपाल पचाङ्ग निर्णय समितिले निर्धारण गरेकोछ।

यदि नेपालमा टिकाको साइत भएको १० घण्टापछि वा अर्को दिन टिका लगाउने भनेर अमेरिकामा कुरेर बस्दा नेपालामा मात्र होइन अमेरिकामा पनि दशमी तिथि र साइत दुवै सकिइसकेको हुन्छ।

जुन साल नेपालमा बिहानै दशमी शुरू हुन्छ र रातिसम्म वा भोलिपल्ट बिहानसम्म जान्छ,त्यो सालमा भने अमेरिकामा पनि त्यही बार र त्यही दिन सूर्योदयको समयमा दशमी तिथि पर्नजान्छ। यस्तो अवस्था हुँदा नेपालमा मनाएपछि अमेरिकामा मनाएको जस्तो देखिएको हो।

यो वर्षको दशमी २१ घण्टा ३१ मिनेटको छ। अमेरिकामा सोमवार २३ अक्टुवर सकिएपछि २४ अक्टुवर शुरु हुँदाको मंगलबार रातको २:०४ मिनेटमा र नेपालमा भने मंगलवार दिउँसो १२:४९ मा दुवैतिर दशमी एकै समयमा सकिन्छ।

नेपाल पञ्चाङ्ग निर्णय समितिकाअनुसार यो सालको विजया दशमीको टिकाको साइत अमेरिका ( न्यूयोर्क) मा सोमवार बिहान १०:४७ बजे र नेपालमा भने मङ्गलवार बिहान ११:०२ बजे रहेको छ|

अमेरिकामा यो साल अक्टोबर २३ तारिख सोमबार सूर्योदयभन्दा पहिलेदेखि सूर्यास्त पछिसम्म दशमी तिथि छ। नेपालमा भने यही दशमी तिथि सूर्योदयको समयमा अक्टुवर २४ मंगलबार बिहान ६:०९ देखि अपरान्ह १२:४९ सम्म करिव ६ घण्टा छ।

अमेरकिामा भने अक्टोबर २४ मंगलबार राति २:०४ बजे दशमी सकिन्छ र एकादशी सुरु हुन्छ। अमेरिकामा अक्टोबर २४ मंगलबार दशमी नरहेको नेपाल पञ्चाङ्ग निर्णय समिति र अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले सार्बजनिक गरेका पात्रोहरूमा पनि उल्लेख छ।

अमेरिकाबासी नेपालीहरूले ज्योतिष शास्त्रअनुसारको वा नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनकि गरेको तीथि र साइत यकिन नगरेर सामान्यतः नेपालमा भन्दा अमेरिकाको समय १०-११ घण्टा ढिलो छ भन्ने कुरालाई मात्र ख्याल गरेको देखिन्छ।

पहिले नेपालमा काठमाडाैंमा राजपरिवारका लागि जुराइएको साइतपछि मात्र सर्वसाधारणले टिका जमरा लगाउन शुरु गरिन्थ्यो र अहिले पनि त्यहीअनुसार टिकाको साइत सार्वजनिक गरिन्छ।

तर नेपाल भित्र भएपनि नेपाल पञ्चाङ्ग समितिको पात्रोको आधार मानेर हेर्ने हो भने इलाम र दार्चुलाको टिकाको साइतको समय फरक पर्छ। नेपाल बाहिर अमेरिका, क्यानडा,अष्ट्रेलिया आदि देशमा बस्ने नेपाली समुदायमा विजया दशमी र टिकाको साइत बारे स्पष्ट दृष्टकिोण र एकरुपता छैन।

नेपालमाभन्दा पछि हुन्छ वा सराध्देमा बिरालो बाँध्नै पर्ने भनेजस्तै अन्धविश्वास र विवाद छ। तर नेपाली समुदायका केही परिवार, भारतीय हिन्दू समाज र भुटानी नेपालीहरूले भने ज्योतिष शास्त्रको मान्यता तथा यहाँ उल्लेख गरिएअनुसारकै तिथि र साइतमा पर्वहरू मनाउने गरेका छन्।

हाम्रा सामाजिक पर्वहरूलाई धार्मिक मात्र होइन संसारकै पुरानो सनातन सभ्यता मान्ने हो भने तिनलाई जुन ज्योतिष शास्त्र सम्मत: हुन्छ,त्यो नअपनाउँदा ज्यादै संकुचति र अवैज्ञानकि हुन्छ। विश्वमा हिन्दूहरुले जुन शास्त्रलाई मानक मानेका छन्, हामीले पनि पञ्चाङ्ग निर्णय समतिलाई नै मान्नुपर्छ।

तसर्थ यो दशैं हामीले अमेरिकासम्म ल्याउने र संसारमा पनि विस्तार गर्ने हो भने त्यसको विज्ञान र ज्योतिष शास्त्रको मानक अपनाउनुपर्छ। यसलाई नेपालको कुनै वर्ग,परिवार वा समुदायमा मात्र सीमति गर्दा आउने पुस्ताले यससँग जोडिएको वैज्ञनिक तथ्य फेला पार्न सक्दैनन्।

दशैंको परम्परागत मान्यता नवदुर्गाको आराधना वा देवीको शक्तिको महिमा हो। देवी वा अन्य देवहरूको उत्पत्तिका बारेमा विभिन्न धार्मिक मान्यता, मिथक वा श्रुति परम्पराहरु छन्। दशैं असत्य माथि सत्यको विजयोत्सव हो। सनातन हिन्दू धर्म परम्परामा मात्र होइन अन्य धर्महरूमा पनि पूर्व र पश्चिम गोलार्द्धमा कुन दिन कुन चाडपर्व मनाउने भनेर विवाद छन्।

आगामी बुद्ध पूर्णिमा काठमाण्डौ र न्यूयोर्कमा एउटै गते र बार मे २३ तारिख बिहिबार पर्दैछ। न्यूयोर्कमा मे २२ को बिहान ०५.११ मा हुने सुर्योदय पछि बिहान ०७.३५ मा पुर्णिमा तिथि सुरु भएकोले भोलि पल्टको सूर्योदय लागेपछि नै मान्यता दिनु पर्ने हुँदा न्यूयोर्कमा पूर्णिमा बिहिबार परेको हो। काठमाण्डौमा बुधबार बेलुकी पूर्णिमा लागे पनि भोलिपल्ट बिहिबार सूर्योदय भन्दापछि रहने पूर्णिमालाई मानिन्छ।

यसरी, ज्योतिष शास्त्रको सिद्धान्तले गणना गरेको तथ्यलाई आधार मानेर हेर्दा कुनै तिथिहरु नेपाल र अमेरिकामा एकै बार र एकै गते पर्छन् भने कुनै पर्दैनन्। यदि फरक बार पर्‍याे भने पहिला अमेरिकामा र एउटै बारमा पर्‍याे भने अमेरिकामा १० घण्टा पछि परेजस्तो लाग्छ| त्यसैले संसारभर आफू बसोबास गरेको देशको स्थानीय समय मिलाएर स्थानीय तिथि, लगन र साइत निकालिन्छ।

बुद्ध पुर्णिमा बाहेक कृष्ण अष्टमी,राम नवमी,शिव त्रयोदशी आदि पनि तिथिकै आधारमा मनाइन्छन्। सूर्यमास अनुसार मनाइने पर्वहरु संक्रान्ति र मसान्त मुख्य हुन् भने बाँकि चन्द्रमासको तिथि अनुसार मनाइन्छन्।

नेपाल बाहिर नेपालीहरूको संख्या दिनहुँ बढिरहेको छ। विदेशमा बस्ने नेपालीहरुको पहिचान, मनोरन्जन र सामाजिक एकताको निम्ति नेपाल बाहिरका नेपाली सामुदायिक संघ संस्थाहरुले पारदर्शीरूपमा सम्बन्धित विज्ञहरूसँग छलफल गरेर ज्योतिष शास्त्रअनुसार चाडपर्वहरू मनाउने विषयमा एकरुपता दिन पहल गर्नु आवश्यक छ।

चित्रमा देखाइएको विवरण:

१. सूर्य-जसलाई स्थिर र केन्द्रबिन्दु मानेर खगोल शास्त्र र ज्योतिष शास्त्रआनुसार समय मापन गरिन्छ।

२. चन्द्रमाको कला (दशमी तिथि) जम्मा २१ घण्टा ३८ मिनेट छ।
३. पृथ्वी एकचोटी घुम्दा दिन र रात गरेर २४ घण्टा हुन्छ।

– दशमी न्युयोर्क (अमेरिका) मा सोमबार बिहान दशमी सुरु हुन्छ।

– काठमाडाैंमा सोमबार बेलुकी दशमी सुरु भएपनि भोलिपल्ट मंगलबार सूर्योदय पछिको दशमी मान्य हुने र मंगलबार दशमी मनाइँदैछ।

४. चन्द्रमाको पृथ्वीलाई घुम्ने वृत्त जसले २७-२८ दिन लगाएर २७ नक्षत्र पूरा गर्छ।

५. पृथ्वीले सूर्यलाई १ वर्ष लगाएर घुम्ने वृत्त।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *