व्यंग्य : स्याब्बास! रामकुमारी झाक्रीहरु स्याब्बास!
बिगत केही दिनदेखी आकाशको सामाजिक संजाल बडो चलायमान छ, त्यसमापनि हामी नारानहरुको सामाजिक संजालको संसार झंकारामय भइदिएको छ।
थप्नैपर्दा म जस्ता रेस्टुरेन्टमा काम गर्ने घन्टेहरुको संसार छटपटिएको छ। यसलाई नारी शक्तिको प्रभाव भन्ने कि हामी आफुमा रहेको ढिठपना र सत्यतथ्य स्विकार्न नचाहने हठबादिता ?
भूमिका धेरै नबाँधी उत्पन्न यस परिस्थितिको लागि रामकुमारी झाक्रीज्यूलाई स्याब्बास! राम कुमारी झाक्री स्याब्बास! भन्न चाहन्छु। (ज्ञातव्य रहोस् यहाँ रामकुमारी झाक्री एउटा प्रतिनिधि पात्र मात्र हुन्)
स्याब्बास-१
२०४६ सालमा देशमा प्रजातन्त्र ल्याउने युवामा म पनि थिए। प्रजातन्त्र आइसकेपछि त देशले अब ट्रयाक समात्ला, अब केही राम्रो कुराको थालनी होला भनेर आशावादी भैयो। हो न हो देश राजा महाराजाहरुलेनै बिगारेका रहेछन् भन्ने निष्कर्ष थियो।
देश सुन्दर छ र देश स्वर्ग बनाउने कुरा त नेताहरुले भनेकै छन् अब त कस्सो देश नबन्ला भनेर उत्साहित भएर बसियो। तर मेरो त्यो उत्साह ५ वर्ष पनि टिक्न सकेन र म जस्ता लाखौं युवाको सपना ५ वर्ष पुग्दा नपुग्दै भताभुंग भयो।
बिडम्बना त्यो क्रम त्यही ५ वर्षमै रोकिएन र अनवरत रुपले आजसम्म चलिरहेकोछ। म र म जस्ता लाखौं ती युवाका पूरा हुन नदिइएका सपनाको लागि पनि मैले भन्नैपर्छ, स्याब्बास! रामकुमारी झाक्री स्याबास!
स्याब्बास-२
न जागीर न पढ्ने वातावरण, न सुरक्षा, न भविष्य लाखौं युवा नेपाल छाड्न बाध्य भए र आश्चर्यको कुरा के छ भने आज झन्डै ३५ वर्ष पछिपनि देश छाड्नेको लर्को रोकिएको छैन बरु बढेकै छ।
देश राजा महाराजाले बिगारेका होइनन् रहेछ, देशले एउटा गतिलो नेतृत्व नपाएर बिग्रेको कुरामा आश्वस्त भइयो। यस्तो स्थिति र प्रथा बिगत ३५ वर्षदेखि यथावत राख्न सकेकोमा पनि मैले रामकुमारी ज्युहरुलाई भन्नैपर्छ, स्याब्बास ! राम कुमारी झाक्री स्याब्बास!
स्याब्बास-३
नेपाल छाडेर ६ महिना अरबको तातो हावा र अरबियनहरुको दुर्व्यवहारबाट आजित भइ, भो आफ्नै देश राम्रो, फर्कन्छु भनेर फर्कँदा रामकुमारी झाक्रीहरुजस्ताले बनाएको देशमा बस्न पापै हुने भो जस्तो गर्याे मेरो देश र मेरो समाजले। लगत्तै ६ महिना पनि नबित्दै त्यही तातो हावामा भासीन बाध्य बनायो। स्याब्बास ! रामकुमारी झाक्री स्याब्बास ! देश (यस्तो) बनाएकोमा ।
स्याब्बास-४
तिम्रा ती चक्षुले लाखौंलाख बिदेशीएका नेपालीहरुलाई त्यही रेस्टुरेन्ट कामदारको रुपमा मात्र देख्छ र हेला गर्छ र त ती हज्जारौंको संख्यामा रहेका young ra dynamic personality का डा., नर्स, इन्जिनियर, बैज्ञानिक, प्रशासनिक बिज्ञ, बौद्धिक वर्ग, व्यापारी, स्किल्ड कामदार, उदियमान राजनीतिक युवा, लेखक, कलाकार, रिसर्चरहरुलाई देश फर्कने सोचबाट टाढा राख्छ र भएकाहरुपनी देश कसरी छाड्ने भन्ने बिन्दुमा पुग्न बाध्य हुन्छन्।
(हेक्का रहोस २००१मा टृनिटाडका V. S. Naipaul ले साहित्यको नोबेल पुरस्कार जित्दा उनी ईन्डियन मुलका हुन भन्ने थाहा पाउने बित्तिकै ईन्डियाले रातारात पार्लियामेन्टको बैठक बसाली वहाँलाई मानार्थ ईन्डियन सिटिजनशिप दियो।
यति बुद्धि त के हुन्थ्यो र रामकुमारी झाक्रीहरुको। सुन्नमा त यो पनि आएको छ कि नइपाल भन्ने थर नेपाल भन्नेबाट अपभ्रम्स भै नइपाल भएको अर्थात् उनी नेपाली मुलका हुन्)।
देशका ती उर्वर र उपादेयिता भएको जनशक्तिलाई देशमा भित्र्याउने र देशमै रहने अवस्था श्रीजना गर्नु साटो कसरी हुन्छ तिनकाे मानमर्दन गर्नसक्नु भएकोमा स्याब्बास! रामकुमारी झाक्रीज्यू स्याब्बास!
स्याब्बास-५
ए! अ, म जस्ता लाखौं आम नेपाली जनता जो रेस्टुरेन्टमा घन्टा हानेर, भाँडा माजेर पठाइदिएको रेमिट्यान्सले भाँडो भरीदिएर र तिनै रेमिट्यान्स भित्र तिमीहरुको र्याल चुहेको र मुख मिठ्याउन पाएको र भ्रष्टाचार गरी आफ्ना ७ पुस्तालाई सम्पत्ति जोडन पाएका छौ।
ती कर्मठ हातहरुको खिसिट्युरी गरेर सकेसम्म यिनीहरु देश नफर्कुन भन्ने बाताबरण बनाइदिएकोमा हामीले भन्नैपर्छ, स्याब्बास! रामकुमारी झाक्री स्याब्बास !
स्याब्बास -६
सेना भनेको देशका रक्षक हुन्। आज ती सेना रातमा उठेका छन् र त तिमीहरू जस्ता सुख र शान्तिले निदाउन पाएका छौ। हरेक देशको सेना आफ्नो देशप्रति इमानदार हुन्छ र सदैव आफूमाथिको अधिकारीको आज्ञा पालन गर्न तत्पर रहन्छ।
जसलाई चेन अफ कमाण्ड भनिन्छ र त्यही कारणले सेनामा अनुशासन हुन्छ। यति सामान्य कुरा नबुझी सेनालाई तल्लो स्तरमा खसेर सम्बोधन गरेकोमा मैले स्याब्बास त भन्नै पर्छ, स्याब्बास! रामकुमारी झाक्री स्याब्बास!
स्याब्बास -७
कहिले सोच्या छौ जापान, क्यानडा, फ्रान्स, अस्ट्रेलिया वा विकसित अरबियन देशका जनताहरु किन देश छाडदैनन्? देश त के ती आफू जन्मेको छिमेकसम्म छाड्दैनन्? किन? किनकी तिनीहरुका देशमा रामकुमारी झाक्री जस्ता नेता जन्मदैनन् वा जन्मे पनि आफूले गर्नुपर्ने कर्म र कर्तव्य गर्छन्।
यहाँ एउटा ट्वाइलेट सफा गर्नेहरुले पनि म जस्तो राम्रो ट्वाइलेट सफा कसैले गर्न सक्दैन भन्ने सम्मानले गर्छ र त्यसकाे पुरमपुर जिम्मेवारी लिन्छ, न कि रामकुमारी झाक्री जस्ता जो मन्त्री जस्तो जिम्मेवार पदमा पुगेरपनि देशमा भएको भद्रगोलको जिम्मा लिनु साटो अर्कालाई दोषारोपण गर्दै हिँड्छ।
सबै रामकुमारी झाक्री जस्ता भाग्यमानी हुँदैनन् सत्ताको केन्द्रमा पुग्ने अवसर पाउने र सबै रामकुमारी झाक्री जस्तो हुतिहारा पनि हुँदैनन् जो पुगेर पनि केही गर्न नसक्ने। यस्ता हुतिहारापनलाई स्याबासी नदिएर हुन्छ? स्याब्बास ! रामकुमारी झाक्री स्याब्बास !
स्याबास-८
वर्षौं बिदेशीएका म जस्ता आम मानिस जो अब त देश फर्कौं कि भन्ने भावना राख्छ उनीहरूलाई तिम्रा ती सडेगलेका सोचले फेरि खुट्टा बाँधिदिन्छ। हामी इच्छाले बिदेशीएका होइनौं रामकुमारी झाक्री जस्ता असफलहरुले गर्दा बिदेशिन बाध्य भएका हौं।
तिमीलाई के थाहा बिदेशिनुको पीडा। एकचोटी आफन्त मर्दा भक्कानिएर रोएर हेर, बाबुआमा बित्दा अन्तिम संस्कार त के अनुहारसम्म हेर्न नपाएको पीडा भोगेर हेर।
बाबुआमासित बिछोडिएर हेर, श्रीमान, श्रीमती अलग्गिएर हेर, एकचोटि चाडबाड आउँदा मन खिस्रीक्क पारेर हेर, बिबाह ब्रतबन्ध, नयाँ वर्षमा मन मारेर हेर, हरेक बिहान उठ्नासाथ नेपाल सम्बन्धि समाचार नहेरेर हेर अनि बुझ्छौ तिमीले कहाँ पाप गरेकी रहिछौ। ती सबै आँसु, पीडा र रोदन दिएकोमा के म तिमीलाई स्याबास पनि नभनौं? स्याब्बास ! रामकुमारी झाक्री स्याब्बास !
स्याबास -९
तिमीले भने झैं रवि लामिछाने फर्केका होइनन् र? ( पुनः रवि लामिछानेपनि एक प्रतिनिधि पात्र मात्र भन्न खोजिएको हो) तर रवि लामिछाने फर्किनु तिमी हरेक क्षेत्रका १२ भाइहरुको लागि महाभारतमा दुर्योधनको लागि कृष्ण झैं भएनन्?
ती १२ भाइले के के गरे कुन कुन किसिमले खेदो खने थाहा नै होला कि थाहा भएन? कुनैबेला मुखमा कालो पट्टि बाधेर बसेकीथ्यौ क्यार बोल्न त सकिनौं देख्दा पनि देखिनौ क्या हो? कि बिदेशीएका ती झन्डै ६० लाख नेपालीहरु फर्कन्छन् भनी तिमी र तिम्रा नेताहरुका रातका निन्द्रा हराम भए र यस्ता उद्गारहरु पस्कन बाध्य भयौ?
यसरी हरेक क्षेत्रमा १२ भाइ खडा गर्न सकेकिमा स्याबासी त दिनैपर्ला होइन र ? स्याब्बास ! रामकुमारी झाक्री स्याब्बास!
स्याब्बास-१०
एउटा निश्चित उचाइमा पुगेको मानिसको प्रस्तुतिले बडो महत्व राख्छ। उस्को हरेक कृयाकलाप आममानिसको चासोको विषय हुन्छ र त्यसलाई एक आममानिस उद्धरण गरि आफ्नो दैनिक आचार व्यवहारमा समाहित गर्न लालाहित रहन्छ।
रामकुमारी झाक्रीहरु जस्ताको त्यस किसिमको प्रस्तुति ATTENTION SICKER भन्दा बढी केही थिएन। के तपाईंको प्रस्तुति साच्चिकै प्रसंशायोग्य थियो त? स्याब्बास त भन्नै पर्छ उपरोक्त प्रस्तुति र शाब्दिक अघातहरुप्रति,
स्याब्बास ! रामकुमारी झाक्री स्याब्बास!
अन्त्यमा,
रामकुमारी झाक्रीज्यूलाई धन्यवाद पनि भन्नै पर्छ। उहाँले उठाएका केही जायज कुराको म खुलेरै प्रसंशा गर्छु। शाब्दिक चुनाव असहज भएकाले होला मुल मर्म पछि पर्याे।
माथिका जेसुकै र जस्तो सुकै स्थिति परिस्थिति भएपनि मैले देश छाडेको त हो नि, मैले बिदेशी पासपोर्ट लिएको त हो नि अनि म मेरो पूर्वदेशको राजनीतिमा हस्तक्षेप गर्ने निर्णायक अधिकारको अधिकारी कसरी हुनसक्छु?
जसरी मलाई रामकुमारी झाक्रीहरुले देशको चिन्ता नलिनुस् भन्ने अधिकार छैन भन्छु त्यसैगरी रामकुमारी झाक्रीहरुलाई पनि यो देशमा तिमीहरुले हस्तक्षेप गर्ने अधिकार छैन भन्ने पूर्ण अधिकार छ।
आउनुस् हिम्मत छ भने बिदेशी नागरिकता त्यागौ र सम्पूर्ण नेपाली भएर पूर्ण अधिकार प्रयोग गरौ होइन भने जहिले पनि त्यही सुँगा रटाइ नरटौं। हामीमा भएको नेपालीपन त कसले पो हटाउन सक्ला? कि कसो रामकुमारी झाक्रीज्यू?
इति…
Facebook Comment