पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको शुभकामना
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन्।
विजया दशमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले दिए शुभकामना:
सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्घि गर्न यस्ता पर्वहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको खुसी, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्टाचार अन्त्य गरी जनतालाई जागृत गराएर सुशासन, समृद्धि कायम गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै राजनीतिक उपलब्धिलाई पनि रक्षा गर्नुपर्नेमा जोड दिइएको छ ।
यसैबीच अर्का सम्मानित नेता झलनाथ खनालले पनि विजयादशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै मुलुकको विकासका लागि सबै नेपालीबीच आपसी सहयोग, सद्भाव, सहिष्णुताको खाँचो औँल्याए।
पूर्वप्रधानमन्त्री खनालले असत्यमाथि सत्यको विजय हुने सन्देश दिएको यस पर्वले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य तथा प्रगतिको कामना गरेका हुन्।
समाजवादले नै गरिबी उन्मूलन गर्ने बताउँदै सन्देशमा लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको आवश्यकता पनि उल्लेख गरिएको छ ।
Facebook Comment