कथा : नमिताको स्वतन्त्रता

खेमराज पाेखरेल
११ कार्तिक २०८० १०:०५

‘मसँग विवाह गर्न चाहन्छौ भने मलाई बराबर स्वतन्त्रता चाहिन्छ। बराबर याने बराबर। न उन्नाइस न एक्काइस। परफेक्ट स्वतन्त्रता। किनकि तिमी पुरुष हौ, धोखेबाज हुन सक्छौ’ नमिता याने मेरो अघोषित गर्ल फ्रेन्डले मेरो विवाहको प्रस्तावमा सर्तसहितको स्विकारोक्ति जनाई।
०००००००

मैले श्रीमतीलाई डिभोर्स गरेको दुई वर्ष भइसकेको छ। बरू यसरी बुझौँ उसले मलाई छोडी। छोडपत्र नै गरी। मैले मात्र छोडेर त के हुन्थ्यो र? खासमा भन्दा छोडपत्र उसले गरी। मैले उसलाई एउटै अभियोग लगाएँः ‘चिसी’, हिउँभन्दा चिसी’।

उसले भने धेरै अभियोग लगाई मलाईः ‘अविश्वासी, बदनियत, चरित्रहीन, कामुक, दुष्ट, घमन्डी, दारूवाज, रन्डीवाज, नपुंसक, पापी’। हो मैले उसलाई कहिल्यै विश्वास गरिनँ। बिहे पहिलेको उसको ‘एफेयर’ सोधेँ। बताइन।

मैले उसलाई शंका गरेँ। मेरो डुलि खाने चरित्र उसलाई मन परेन। सायद कुनै महिलालाई पनि मन पर्दैन होला। हो म अलि बढी कामुक छु। उग्र कामुक। एट्याकवाला कामुक। बेला न कुबेला कामुक। हरफनमौला कामुक। म उसका कुरा बुझ्दिनँ। ऊ मलाई दुष्ट भन्छे। घमन्डी भन्छे। दारू खान्छु।

सधैँ खान्छु। ऊ मलाई दारूवाज भन्छे। ऊ चिसी छ। र म तात्तिन डुल्छु। ऊ मलाई ‘रन्डीवाज’ भन्छे। मैले उसलाई शंका मात्र गरेँ र ऊ मलाई पापी भन्छे। सन्तान छैनन्। ऊ मलाई नपुंसक भन्छे। जे होस्। ऊ हिँडी। उसले छोडपत्र गरी। मैले छोडपत्र गरेँ। खलास। खलास। कुरै सिद्धियो। टन्टै खलास।

०००००००
नमिताको सर्त मलाई रौँ बराबर पनि थिएन। उसले सम्पत्ति खोजेकी होली। पैसाकै ओढ्ने ओछयाउने बनाइ दिने हैसियत छ मेरो। यो सहरको बीचमा रहेको हजारौँ हात जग्गा मेरै हो। हातैको लाखहरु मोल पर्छ । त्यस बिचरीलाई के थाहा?।

खासमा भनौँ भने नमिता अघोषित यौनकर्मी हो। मेरो यौनगमन ऊ नजिक पुगेपछि टक्क अडिएको छ। ऊ वास्तवमा सेक्स बम हो। ऊसँग सेक्स सागर छ। ऊ सेक्सकी मुमताज हो। उसको अग्निज्वालामा पुगेपछि मान्छे सन्तुष्टिले स्वात्त हुन्छन्। मन, दिमाग र इच्छा सबै स्वात्त हुन्छन्। अहो ऊ ऐश्वर्यवान् छे।

उसलाई भगवान्ले अद्वितीय सम्पत्ति दिएका छन्। उसको त्यो सम्पत्ति एक्लै भोग्न चाहन्छु। हो, म उसलाई एक्लै फगत एक्लै भोग्न चाहन्छु।
मैले एक दिन उसलाई भनेँः ‘नमिता, म तिमीलाई सम्पूर्णमा एक्लै भोग्न चाहन्छु। भाग लगाउन चाहन्नँ। के यो सम्भव छ?’

‘एकदम सम्भव छ। हाम्रो हिसाब बराबरको हुनुपर्छ। कुनै स्वास्नीमान्छे पनि आफ्नो लोग्ने बाँड्न चाहन्न। यो कुरा बराबरीको एउटा सर्त हो’
‘मलाई तिम्रो यो सर्त मन्जुर छ’ म मनमनै डिभोर्सी श्रीमतीलाई सम्झिरहेको थिएँ।

मैले उसको तत्कालिक लोग्नेलाई आम यौन बजारमा पुर्‍याएर विभाजित गरेको थिएँ। बाँडेको थिएँ। नासेको थिएँ। अलिकति पछुतो त लागेकै थियो।

‘सम्बन्धमा धोखा हुनुहुन्न। तिमीलाई थाहा छ म ‘वेश्या’ हुँ । मलाई थाहा छ तिमी वेश्यागामी हौ। यसरी सोचे पनि हुन्छ। खासमा तिमी वेश्या हौ। पुरूष वेश्या। जिगोलो। र म वेश्यागामी हुँ। वेश्या हुनु र वेश्यागामी हुनु एउटा रिलेसन हो। एउटा हरफनमौला सम्बन्ध। तिमी स्वतन्त्र। म स्वतन्त्र। तर विवाहको कुरा बेग्लै हो। त्यो विश्वासमा हुन्छ। अन्तर विश्वासमा हुन्छ’

‘यो सर्त पनि मन्जुर छ’

‘तिमी जुन अन्दाजमा यो कुरा भनिरहेका छौ, मलाई विश्वास छैन’

‘किन नि?’

‘तिमी लोग्नेमान्छेहरु आपूmलाई सुपर ठान्छौ र भोग गरेँ भनी ठान्छौ भने अब म भोग गर्छु तिमीलाई। मेरो हक हुन्छ। पूर्ण स्वतन्त्रता चाहन्छु। वा बराबर। किनकि हिस्सा बराबर’

‘जति हिस्सा बराबर भने पनि तिमीले गर्भवती हुनुपर्छ। प्रकृतिले गर्दा तिमीले नै गर्भ धारण गर्नु नै पर्छ। मेरा स्तन छैनन्। दूध तिमीले खुवाउनुपर्छ। म गर्भवती हुन्न। म दूध चुसाउन्नँ। म आमा बन्न सक्तिनँ। तिमी बाउ बन्न सक्तिनौ। अनि कसरी बराबर हुन सक्छ’ मैले उसलाई तिमी म बराबर हुन सक्तिनौ भन्ने देखाउन खोजेँ। म पुरूष हुनुको गौरवशाली दम्भलाई पुष्टि गर्दै थिएँ।

‘तिमी धनी मात्र रहेछौ। त्यो पनि के धन भन्नु? तिमीले कमाएको होइन। तिमी धनको पैतृक हकदार मात्र हौ। आपका धन कि बापका धन। आपूm कमाएर हेर अनि धनी हुन्छौ। अहिले त तिमी मर्सिटिजमा चढ्ने एल्सिसियन मात्र हौ। तिम्रो अपनत्व खोइ त्यो धनमा? अपनत्व भएको भए यसरी धन लुटाउने थिएनौ। फेरि अर्को कुरा। बराबर मूल्यमा हुने हो। बस्तुमा होइन। ठिक तिमी केही किन्न जाँदा त्यो बस्तुको मूल्य र तिम्रो पैसाको मूल्य बराबर हुन्छ। र यो बराबरी मैले खोजेको हो। मूल्यमा। मान्यतामा। अस्तित्वमा। पहिचानमा’

‘संविधानमा तेत्तिस प्रतिशतको आरक्षण छ। अब पचास प्रतिशत नै पुग्ला नि। अनि त बराबर भयो त’ मैले हेपाइस पारामा जिस्किँदै भनेँ।
‘वाइह्यात छ तिम्रो संविधान। म चाहन्नँ तिम्रो आरक्षण। म बराबरी दायित्व चाहन्छु। बराबरी चुनौती चाहन्छु। बराबरी रिस्क चाहन्छु। बराबरी अवसर चाहन्छु। बराबरी स्वतन्त्रता चाहन्छु। म तिमी पुरुषको आश्रयमा बस्न चाहन्नँ। तिम्रो निगाहमा गर्वबोध गर्दिनँ। म आफ्नो अभिमानित स्वमा बाँच्न चाहन्छु’।
मलाई लाग्दै थियो उसले खोजेको बराबर हिस्सा कठिन छ। म त उसलाई केवल भोग्न चाहन्थेँ। निर्लिप्त हुन चाहन्थेँ। भोग्न चाहनुको अर्थ भोगको मूल्य नगदमा चुक्ता गर्ने र नगदकै भरमा उसमाथि भोगको अधिनायकत्व जमाउने। यो मेरो दाउ थियो। मेरा प्रयत्नहरु यसै दिसातर्फ उन्मुख थिए।

०००००००

मेरी पूर्वपत्नीलाई सम्झिरहेको छु। ग्वाँज रहिछे। वास्तवमा उसले के खोजी मसँग, मैले थाहै पाइनँ। जीवनयापनमा उसको कुनै सर्त थिएन। कुनै आग्रह वा पूर्वाग्रह थिएन। ऊ मसँग बिनासर्त सुती। मेरो सम्पत्तिमा आँखा लगाइन। उसले कति सजिलै मेरो सम्पत्तिलाई छोडेर गई। बेवकुफ।

मान्छे सम्पत्तिका लागि के गर्दैनन्? धोखा, हत्या, हिंसा, युद्ध, जाल, झेल, लुट, चोरी, डकैती। देश बेच्छन् देश। बेचेकै छन्। र यो मेरी पूर्वपत्नी भने महालट्ठक। मैले बिहे गर्ने बेलामा अलि गरिब परिवारकी भनी छानेको थिएँ। गरिब लालची हुन्छन् र मेरो सम्पत्ति स्याहार्दै बिताउँछन् जिन्दगी भन्ने लागेको थियो।

तर यी हरफनमौला मध्यम वर्ग वा निम्न मध्यम वर्ग त झन् ‘डेन्जर’। न शोक, न सुर्ता, न भोक, न भकारी। न मनमा कुरा छन्, न लाउने लुगानै धेरै छन्। गजब हुन्छन् यी टुटपुँजियाहरु। हो त्यसैले मेरी पूर्वपत्नीलाई मेरो सम्पत्तिले तानेन। तान्दै तानेन। गजब।

बजारमा एक दिन उसलाई देखेको थिएँ। उसले बच्चा पाइछे। उसको हालको लोग्ने पछि पछि हिँडिरहेको थियो। बच्चाको थाङ्नु दिँदै थियो। उसले बच्चाको गालामा चक्क म्वाइँ खाई। उसले मलाई देखी। नदेखे जस्तो गरी। उफ् ! ऊ के विध्न खुसी देखिएकी? किन पो होला?

०००००
मैले नमितालाई प्रस्टै भनिदिएँ कि म उसलाई पैसाले पुरिदिन्छु। थुपारिदिन्छु। र केवल मलाई मेरो मात्र भएर भोग्न देऊ। ऊ त हाँसी। बेपर्वाह हाँसी। र भनीः

‘तिमी जति उफ्र, तिम्रो उफ्राइको केही मूल्य छैन। केही तर्क छैन। तिमीलाई केवल मलाई भोगेँ भन्ने दम्भ छ। मलाई भोगेकोमा तिमी गर्वित हुन्छौ। मिथ्या गर्वित। खासमा म तिमीलाई भोगिरहेकी छु। तिमी मेरो भोग्य वस्तु हौ। खेलौना। भोग्न मन लागुन्जेल भोग्छु, खेल्छु र छोडिदिन्छु। तिमीलाई सबैले भोगेका छन्। नियतिले भोगेको छ। परिवेशले भोगेको छ। कर्मले भोगेको छ। आफन्तले भोगेका छन्। युज गरेका छन्। र फालिदिएका छन्। अन्त्यमा तिमी ब्ल्याक होलमा समाहित हुन्छौ, एउटा ‘क्वान्टम भ्याकम’मा हराउँछौ’ नमिता एकोहोरो सिरियस भई । र फेरि भन्न थालीः

‘तिमीलाई लागिरहेको हुन सक्छ कि तिम्रो वीर्य पौरखी भएर मान्छे निक्लन्छ। होइन। यो पनि तिम्रो भ्रम हो। तिम्रो वीर्य ‘युज’ भएको हो। ठ्याक्कै टेस्ट ट्युब गर्भाधारण जस्तो। योनीको रजलाई चाहिएको बेला ‘युज’ भएको हो तिम्रो वीर्य। के तिम्रा सबै वीर्यहरु मान्छे बन्छन्? योनी द्वार याने ब्ल्याक होलभित्रको नियति हामी मान्छे बाँचिरहेका छौँ र अभिशप्त बाँचिरहेका छौँ। ब्ल्याक होल याने खलास’

उसको यो भनाइले म एक तमास भएको छु। मेरो लोग्नेमान्छे हुनुको दम्भ स्वात्त भएको छ। खोजिरहेको छु म न भोगिने ठाउँ। ‘युज’ नहुने ठाउँ याने मेरो आफ्नै अस्तित्व बाँच्ने ठाउँ।
०००००

म घर आइ पुग्ने सडकको जेब्रा क्रसिङमा उभिएको छु। गाडीहरु आइ रहेछन्, गइ रहेछन्। यहाँबाट चार गौँडा छुट्टिन्छन्। चौबाटो याने चौराह। वा चारओटा गन्तव्य। मान्छे आवश्यकताअनुसार बाटो रोज्छन्। रोजिरहे छन्। खोजिरहे छन् र गइरहे छन्।

एउटा गौँडामा मेरी पूर्वपत्नी आफ्नो बच्चालाई छातीमा टाँसेर उन्मुक्त हाँसिरहेकी छे। उसको पिलन्धरे लोग्ने उसका थाङ्नाको ब्याग याने पोको बोकेर पछिपछि हिँडिरहेको छ। ऊ किन हाँसेकी होली। वाइह्यात। मलाई ऊसँग भित्र भित्र रिस उठेको छ।

अर्को गौँडाबाट नमिता याने मेरो गर्ल फ्रेन्ड अघि बढिरहेकी छे। उसका पछाडि तिन चारजना लोग्ने मान्छेहरु पछि लागेका छन्। ऊ मस्किरहेकी छे। छ्या कस्ती होली यो नमिता?। मैले उसलाई भनेकै थिएँ ‘मेरी मात्र बन नमिता, म धनले पुरिदिन्छु’। उसले मानिन।

उसले पनि मेरो धनलाई लत्याई। बेकार हुन्छन् यी स्वास्नीमान्छेहरु। ऊ पनि किन यसरी हाँसेकी होली? के सुख छ उसलाई?। उसले एक दिन भनेकी थिई कि ऊ अरु कुरालाई तिलाञ्जली दिन सक्छे रे। तर स्वतन्त्रताका विषयमा कुनै हालतमा सम्झ्यौता गर्दिन रे।

उसलाई पूर्ण स्वतन्त्रता चाहिन्छ रे। मैले पूर्वपत्नीको स्वतन्त्रतालाई कदर गरिनँ अरे। अनि ऊ हिँडी अरे। यो नमिता पनि आफ्नै कृत्यमा रमाएकी छे। उसले स्वतन्त्रता ‘फिल’ गरेकी छे अरे। मलाई ऊसँग पनि रिस उठेको छ। तर मलाई के मतलब?

अर्को याने तेस्रो गौँडाबाट निर्भय र स्वच्छन्दपूर्वक आफैँ गरिखान्छु भनी हिँडेका मान्छेहरु हिँडिरहेका छन्। यी पैतृक सम्पत्ति नभएका वा भए पनि ठुकराएका र ठोकर खाएका मान्छेहरु हुन्। यिनलाई ठोकर खानु दालभात जस्तै हो रे। यीसँग बोलिसक्नु छैन।

यी भन्छन् ‘जन्मँदा केही ल्याइएन। मर्दा सँगै केही जान्न। मर्नु र बाँच्नु बिचको यो जीवन रामछायाँ हो। घामछायाँ। कहिले घाम कहिले छायाँ। यी भए मज्जाले खान्छन्। बाउको खानु छैन। नभए हरफनमौला। जे पर्ला त्यही टर्ला। कस्तो ढुक्क। मरेपछि खलास। यिनीहरु हाँसोका फुब्बारा हुन्। बेलुन हुन्। हावा भरिएका। तर उफ कति रमाइला हुन् यिनीहरु। कति हाँस्न सकेका हुन्? । मानौँ यिनीहरु हाँस्न नै जन्मेका हुन्। म त धनी छु। धनी परिवारमा जन्मेको छु। नमिता त भन्छे म धनी होइन रे। धनको पैतृक हकदार मात्र हुँ रे। वाइह्यात।

चौथो बाटोपट्टि हेरिरहेको छु। थाकेर, भागेर वा बेतुक तर्क सुनेर लम्पसार परेका मान्छेहरु बाटो काट्दै छन्। उनीहरु त भन्छन्ः ‘यो विषय भोग मिथ्या हो। भ्रम हो। बेकार हो। वानप्रस्थ हुँदै सन्न्यास नै मुक्ति हो’। उफ्! बेकारीहरु, थाकेका छन् जीवनसँग।

भागेका छन् दायित्वसँग। यी यसरी थाकेका छन् कि सबै जीवनभरिका कुकर्म भोगेका छन्। यी यसरी भागेका छन् कि मान्छे हुनुको दायित्व पूरा गरेका छैनन् र दायित्वलाई चोरेका छन्। डाका हालेका छन्। दायित्व खोज्दै कोही उसको आत्माभित्र आइसकेको छ र आत्मालाई छक्याउँदै भागिरहेका छन्।

यी आडम्बरीहरु हुन्। उफ्! आडम्बरको बाटो। कति घिन लाग्दो बाटो। कम्तिमा मेरी पूर्वपत्नी र नमिताले आपूmलाई त ढाँटेका छैनन्। जे छ हाकाहाकी छ। तर उफ्! यसबाट मलाई के फरक पर्छ र?

म पाँचौँ बाटो याने चोरबाटोबाट आफ्नो गाडी छिराउन खोजिरहेको छु। त्यो बाटो नै रहेनछ। ट्राफिकले हात हल्लाइ सकेको छ। मलाई आदेश दिइसकेको छ। म कुन बाटो जाऊँ?।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *