मुगुमा एकै परिवारका आमासहित तीन छोराछोरीकाे हत्या

मुगु। छायानाथ रारा नगरपालिका-६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार छायानाथ रारा-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको हत्या भएकाे हाे।
उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ। हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ।
श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ। कसले के उद्देश्यले हत्या गर्यो खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन। यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ।
छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए। १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ।
Facebook Comment