गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

डिसी नेपाल
१५ कार्तिक २०८० १०:५८

काठमाडौं । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विष्फोटमा परी धेरै व्यक्तिको मृत्यु भएको र घाइते भएको बताइएको छ ।

हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ ।

इजरायली हवाई हमलाका कारण विस्फोट भएको मन्त्रालयले जनाएको छ । यद्यपि यस कथित विस्फोटमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।

विस्फोटपछि समाचार संस्था एएफपीको टोली जबलिया शरणार्थी शिविर पुगेको छ । घटनास्थलबाट प्राप्त फुटेजमा कम्तीमा ४७ शव भग्नावशेषबाट निकालिएको एजेन्सीले जनाएको छ ।

यहाँ बसोबास गर्ने राघेब अकालले आफूहरूलाई भूकम्प गएको अनुभूति भएको बताए । समाचार एजेन्सी रोयटर्सका एक फोटोग्राफरले जबलिया शरणार्थी शिविरका केही तस्बिर खिचेका छन्।

यी तस्विरहरूमा विष्फोटपछि भग्नावशेषमा आफ्ना प्रियजनलाई खोजिरहेको देख्न सकिन्छ। रोयटर्सका फोटोग्राफरहरूले खिचेका तस्बिरहरूमा यस शरणार्थी शिविरको ठूलो हिस्सा जमिनमा ध्वस्त भएको देखिन्छ।

धेरै तस्बिरहरू यति विचलित पार्ने खालका छन् कि तिनीहरूलाई प्रकाशित गर्नु उचित छैन। धेरै मानिसहरु भग्नावशेषमा बाँचेकाहरुको खोजी गरिरहेका छन् ।

गाजा शहरको उत्तरी क्षेत्रमा अवस्थित जबलिया क्याम्प गाजाका आठ शरणार्थी शिविरमध्ये सबैभन्दा ठूलो हो। संयुक्त राष्ट्रसंघका अनुसार जुलाई २०२३ सम्ममा १ लाख १६ हजार प्यालेस्टिनी शरणार्थीले यहाँ दर्ता गरेका छन् ।

सन् १९४८ को युद्धपछि यहाँ शरणार्थीहरू आएर बस्न थाले । यो सानो तर सघन जनसंख्या भएको क्षेत्र हो।

जबलियामा १६ वटा विद्यालय भवनमा २६ विद्यालय सञ्चालित छन्, खाद्य वितरण केन्द्र र दुई स्वास्थ्य केन्द्र पनि छन् । जनताका लागि पुस्तकालय पनि छ ।

विस्फोट भएको ठाउँको भिडियो पनि सार्वजनिक भएको छ । विष्फोटपछि बनेको ठूलो क्रेटर भिडियोमा देख्न सकिन्छ।

हमासका अधिकारीहरूले विस्फोटको लागि इजरायललाई जिम्मेवार ठहराए पनि इजरायलले यस सम्बन्धमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *