रसियन भाडाका सेनामा नेपाली युवा

‘माओवादीले युद्धकला सिकायो, त्यही युद्धले रसिया पुर्‍यायो’

डिसी नेपाल
१६ कार्तिक २०८० ११:४०

कठमाडौं। विगतको द्वन्द्वकालमा माओवादी प्रभावित क्षेत्र रोल्पा र रुकुमका जनताहरु युद्धबाट आक्रान्त भएका थिए। हालसम्मै पनि उक्त युद्धको उपज अधिकांशको जीवन कष्टप्रद बनेको छ।

कतिपय युवाहरुले आफ्नो व्यक्तिगत जीवन माओवादीको युद्धले तहसनहस बनाएको बताउँछन्। माओवादीका नेताहरु सत्ता राजनीतिको जोडघटाउमा व्यस्त रहँदा तिनै रोल्पा-रुकुमका युवाहरु भने भाडाका सेनाको रुपमा काम गर्न रसियामा पुगेका छन्।

बाल्यकालमा माओवादी युद्धमा सामेल भएर व्यक्तिगत जीवन धराशायी बनाएको भन्दै जीवीकोपार्जनका लागि भाडाका सेनामा भर्ना भएर युद्धग्रस्त रसियामा पुगेका रुकुमका एक युवा विक्रम मल्ल डिसी नेपालको सम्पर्कमा आएका छन्।

जीवनको उर्जाशील समय माओवादी जनयुद्धमा व्यतित गरेको उनी बताउँछन्। रुकुम बाफिकोट गाउँपालिका-४ मा जन्मिएका उनी पारिवारिक समस्याका कारणले रोल्पामा हुर्किएका हुन्।

पारिवारिक समस्याले रोल्पाको सुनिल स्मृति गाउँपालिका-१ मा बाल्यकाल बिताएको मल्ल स्मरण गर्दछन्। सोही क्रममा माओवादीले सुरु गरेको जनयुद्धमा जर्बजस्ती आफूलाई हिँडाइएको उनी बताउँछन्।

अहिले रसियन सेनामा भर्ना भएर युद्धग्रस्त मुलुकमा रहेका उनले जीवन निर्वाहका लागि जोखिमपूर्ण युद्धमा सहभागी हुनु परेको गुनासो गरे।

उनी भन्छन् ,‘सानैमा पढ्ने लेख्ने उमेरमा माओवादीले युद्धमा हिँडाएपछि अध्ययन अवरुद्ध भयो। अब जीवन निर्वाहका लागि भाडाका सेनामा काम गर्न रसियाामा आइपुगेको छु।’

उनले अहिलेको आफ्नो समस्या र रसियन सेनामो बाध्यात्मक स्थितिको उपज माओवादीद्वारा सञ्चालित जनयुद्ध भएको भन्दै आक्रोश व्यक्त गर्दछन्।

उनले सानैमा माओवादीले बलजफ्ती हिँडाएपछि अध्ययनबाट बञ्चित भएको उनको गुनासो छ। हाल रसियन सेनामा भर्ना भएर तालिम लिइरहेको उनी बताउँछन्।

उनका अनुसार सुरुमा १५ दिन र त्यसपछि तीन महिनाको तालिम पछि युक्रेनसँगको युद्धमा पठाउने गरिँदै आएको छ। अहिले नेपालीहरु भिजिट भिषामार्फत रसिया पुगेर ठूलो संख्यामा नेपालीहरु भर्ना भएका छन्। उनीहरुले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गरिसकेका छन्।

प्राथमिक तहको अध्ययनको क्रममा माओवादीले युद्धमा लगेपछि बाध्य भएर पढाइ छाड्नु परेको उनले पीडा व्यक्त गरे। त्यसपछि रोजगारीको सिलसिलामा राजधानी छिरेको उनी बताउँछन्। माओवादीले पढाइ छाड्न बाध्य पारेपछि नेपालमा रोजगारीको अवसरबाट बञ्चित भएकाले बाध्य भएर रसिया पुगेको जानकारी दिए।

माओवादी युद्धमा सहभागी भएपनि आफ्नो रेकर्ड नहुँदा आफूले कुनै पनि आर्थिक सहायता नपाएको उनले सुनाए। तत्कालीन अवस्थामा उनलाई कसैले पनि माओवादी युद्धमा सहभागी भएको प्रमाण पेश गर्न नसुझाएकाले राज्यबाट आफूले कुनै पनि आर्थिक सहयोग नपाएको उनको दुखेसो छ।

उनले भने, ‘माओवादीमा लागेका अन्यले सरकारबाट आर्थिक सहायता पाए तर आफ्नो मान्छे कोही पनि नहुँदा मैले कतैबाट कुनै सहयोग पनि पाउन सकिनँ।’

उनले आफ्नो पीडा व्यक्त गर्न माओेवादकिा अधिकांश नेताहरुलाई भेट गर्दा आश्वासन बाहेक केही पाउन नसकेको गुनासो गरे। प्रधानमन्त्रीको कार्यालय देखि रोल्पा माओवादी नेताहरुलाई समस्या दर्शाउँदा कुनै सुनुवाइ नभएपछि बाध्य भएर रसिया पुगेको उनले दुखेसो पोखे।

घरमा श्रीमती र दुई सन्तानका बुबा भएका मल्ल परिवारको लालनपालका लागि जोखिमपूर्ण युद्धमा सहभागी हुन रसियामा पुगेको उनले जनाए।

अहिले रुस युक्रेन जारी युद्धमा रसियन सेनामा सहभागी कतिपय नेपालीहरु हाताहाती भएको समाचार समेत सार्वजनिक भइरहेको छ। केही दिन अघि रसियन सेनामा सहभागी एक नेपाली युवालाई युक्रेनी सेनाले कब्जामा लिएको भिडियोसमेत सामाजिक सञ्जालमा सर्वत्र छाइरहेको छ।

मल्लका अनुसार अहिले नेपाली युवाहरुले तालिम लिइरहेका छन्। तालिम सकिएपछि युद्धग्रस्त क्षेत्रमा पठाइने गरिन्छ। रसियाले उपलब्ध गराएको आकर्षक सेवा सुविधाका कारणले नेपालीहरु जोखिमपूर्ण भएपनि आर्थिक आयआर्जनका उपाय केही नभएपछि बाध्यतावश भाडाका सेनामा भर्ना भएको उनी बताउँछन्।

जनयुद्ध गरेका नेताहरु सरकारको नेतृत्व लिइरहँदा त्यही युद्धमा सहभागी भएकाहरुको जीवन कष्टकर बन्दै गएकोमा उनी दुखी छन्। रोल्पा रुकुमबाट सुरु गरेको जनयुद्धले केही नेताहरुलाई सत्तामा पुर्याएपनि अधिकांशको जीवन पीडादायक रहेको उनी दुख व्यक्त गर्दछन्।

उनी भन्छन्, ‘हिजो अनेकौं आश्वासन दिएर युद्धमा हिँडाए आज सीमित नेताहरु अनेकौं काण्डमा मुछिएर जीवन उज्जवल बनाएका छन् भने अधिकांश युवाहरु रोजगारीका लागि जोसिखमपूर्ण यात्रा गर्न विवश छन्।’

दशैंको मुखमा रसियन सेनामा भर्ना हुन बाध्य नेपाली युवा

केही समयअघि रुसी दूतावासमा लामो समयसम्म पालो कुर्दा पनि भिजिट भिषाका लागि पालो नआएको गुनासो गर्दै आएका युवाहरु अन्ततःरसिया पुग्न सफल भएका छन्।

उनीहरु रोजगारीका लागि युद्धरत रसियन सेनामा भर्ना भइ हाल सैन्य तालिम गरिरहेको जनाएका छन्। आफ्नो सैन्य सेवामा प्रवेश गरेको सामाजिक सञ्जालमार्फत समेत तस्बिर शेयर गरी सार्वजनिक गरेका छन्।

नेपालबाट रसिया पुगेर त्यहाँको सैन्य सेवामा प्रवेश गरि युक्रेनसँगको लडाइँमा सहभागिता जनाउन उनीहरु सैन्य सेवामा प्रवेश गरेको बताएका छन्।

नेपालीहरुको महान चाठ दशैंको सम्मुखमा अधिकांश युवाहरु रसियामा पुगेको उनीहरु बताउँछन्। रोल्पा रुकुमदेखि जाजरकोटसम्मका युवाहरु दशैं नमानेर रसियामा पुगेका हुन्।

उनीहरुले सामाजिक सञ्जालमा भिडियो समेत सार्वजनिक गरेका छन्। देशमा रोजगारीको अवसर नभएपछि बाध्य भएर जोखिमपूर्ण युद्धमा सहभागी हुनु परेको उनीहरुले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै आएका छन्।

याे पनि पढ्नुस्

नेपालबाट युद्धमा सहभागी हुन रसियन सेनामा जानेको लर्को, सरकार बेखबर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *