‘कल गर्ल’उपलब्ध गराउने भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपलब्ध गराउने भनी विभिन्न व्यक्तिबाट ठगी गरेको पाइएपछि कार्यालयको टोलीले उनीहरुलाई विराटनगरबाट पक्राउ गरी आज काठमाडौं ल्याएको हो ।
यसरी पक्राउ पर्नेमा मोरङका गौरव जैन र भोजपुरका शैलेन्द्र श्रेष्ठ रहेका कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । सम्पर्क नम्बरसमेत सार्वजनिक गरी ठगी गर्ने समूहले महिलाहरूको फोटो उपलब्ध गराइदिने र छनोट भएकाको हकमा तोकिएको मूल्य दिएपछि महिला उपलब्ध हुने भनी समाजिक सञ्जालका समूहहरुमा पोष्ट गरी रकम ठगी गरेको पाइएको उनले बताए ।
अनुसन्धानका क्रममा सामाजिक सञ्जालबाट सार्वजनिक भएको मोबाइल नम्बर चलाउने दुई व्यक्ति उनीहरु भएको पत्तालागेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
उनीहरूलाई कानुनी कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको कार्यालयले जनाएको छ ।
Facebook Comment